+
+

मन्नुका कथा समयभन्दा एक कदम अगाडि

पुनम सक्सेना पुनम सक्सेना
२०७८ मंसिर १ गते १२:२९

मन्नु भण्डारी (१९३१) भारतीय स्वतन्त्रतापछि उदाएका लेखकहरूको पुस्तामा अग्रणी र असाधारण थिइन् ।

एक उत्कृष्ट लघुकथा लेखक र उपन्यासकारका रुपमा मन्नुले आफ्नो समयको पुरुषप्रधान संसारलाई चुनौती दिइन् । राजस्थानको अजमेरमा हुर्कंदादेखि नै उनी सामाजिक जीवनमा सक्रिय महिला थिइन् । त्यो सक्रियता लेखन, प्राध्यापन, नाटक र आन्दोलनमार्फत् उनले जीवनभरि प्रस्तुत गरिन् ।

सन् १९४७ भन्दा अघिको राजनीतिक उथलपुथलको समयमा पूरै भारत हड्ताल, आन्दोलन र जुलुसको रापमा थियो । राष्ट्रवादको रापतापमा भारतीय समाज एकरेखामा बढिरहेको थियो । मन्नु पनि त्यस्ता स्वतन्त्रतागामी कार्यक्रममा सक्रिय सहभागी हुन्थिन् । तर पिता सुखसम्पत राय भण्डारीले आफ्नी छोरीले केटाहरूसँग सडकमा जुलुस–नारा लगाउँदै उत्तेजित भाषण दिएर हिँडेको सहन सकेनन् ।

यद्यपि मन्नुको विद्रोही विचार र बाटोलाई परिवारले रोक्न सकेन  । पछि बुबाको विरोधकै बाबजुद अघि बढेर मन्नुले चर्चित हिन्दी लेखक राजेन्द्र यादवसँग विवाह गरेर अर्को साहस देखाइन् ।

उनले यादवलाई कोलकातामा भेटेकी थिइन्, जहाँ उनी उच्च शिक्षा पढ्न गएकी थिइन् । यादवसँगको मित्रता उनीहरुको साझा साहित्यिक पृष्ठभूमिको कारण थियो । एमए उत्तीर्ण गरेपछि मन्नुले बल्लीगञ्जको शिक्षासदन स्कुलमा हिन्दी भाषा पढाउने अवसर पाइन् । पछि मन्नुले दिल्ली विश्वविद्यालयको मिरान्डा हाउसमा प्राध्यापकको (लेक्चरर) काम पाइन् । सँगै सन् १९७० पछिका वर्षहरूमा एक सफल लेखकको रूपमा लोकप्रियता र सफलताको उचाइमा पुग्न सफल भइन् ।

सन् १९५७ मा ‘कहानी’ पत्रिकाको प्रकाशनबाट उत्साहित भएर मन्नुले आफ्नो लेखनमा ब्रह्मपुरी, अजमेर मोहल्लाजस्ता आफू हुर्केको स्थानको पात्रहरूमाथि केन्द्रित कथा लेखिन् ।

उनले जीवनभर छोटो कथाहरू लेख्न जारी राखिन् साथै उपन्यास र पटकथा लेखनमा पनि उत्तिकै सक्रिय भइन् । मन्नुका छोटा कथाहरू पाँच–छ दर्जनभन्दा बढी छैनन् । यद्यपि ती कथाको दायरा विस्तृत छ । उनका कथाले शहरका मध्यम र निम्नमध्यम वर्गको जीवनको विषमतालाई कैद गर्छन् ।

भण्डारी ५० को दशकको मध्यतिर राजेन्द्र यादव, मोहन राकेश र कमलेश्वरले शुरु गरेको ‘नयाँ कहानी’ (नई कहानी) आन्दोलनको प्रमुख हिस्सा थिइन् । यो आन्दोलनका लेखकले भारतीय स्वतन्त्रतापछिको पुस्ताको जीवनका अनुभव र चिन्ताहरूलाई सम्बोधन गर्न लघुकथाको ढाँचा प्रयोग गरेर साहित्य लेख्थे ।

सबै तीन जना पुरुष लेखक प्रतिभाशाली थिए र उनीहरूमा समान सृजनात्मक अहंकार थियो । तर भण्डारी पुरुष लेखकको वर्चश्वबाट विचलित भएनन् । मोहन राकेशसँग उनको राम्रो मित्रता थियो  । पति राजेन्द्र यादवसँग मनमुटाव हुँदा पनि उनले अरु पुरुषसँगको मित्रतालाई निरन्तरता दिइन् ।  त्यतिबेला उनले राकेशलाई सोधेकी थिइन्, ‘के मेरो आफ्नै स्वतन्त्र पहिचान छैन ?’

राजेन्द्र यादवसँग भण्डारीको वैवाहिक सम्बन्ध ३० वर्षभन्दा बढीपछि टुङ्गियो तर उनले यादवको क्षमताको कदर गरिरहिन् । रोचक त के भने, यो जोडीले सँगै उपन्यास पनि लेखेका थिए, ‘एक इञ्च मुस्कान’ । हिन्दी साहित्यमा यस्तो प्रयोगात्मक पति–पत्नीको सहकार्य यही एक मात्र हो भन्दा फरक पर्दैन ।

सन् १९७० सम्ममा भण्डारीका चारवटा लघुकथा संग्रह प्रकाशित भइसकेका थिए र उनी उपन्यास लेख्ने चाहनामा थिइन् । लगत्तै उनले उपन्यास ‘बन्टी’ प्रकाशन गरिन् ।

सन् १९७९ मा भण्डारीले एक स्पष्ट राजनीतिक उपन्यास ‘महाभोज’ प्रकाशित गरिन् । जहाँ उनले बिहारमा १९७७ मा घटेको डरलाग्दो दलित विरोधी बेल्ची नरसंहारको बारेमा लेखेकी थिइन् ।

यस उपन्यासलाई निर्देशक (थिएटर) अमल अल्लानाले नेशनल स्कुल अफ ड्रामाको लागि पठाए । अन्ततः महाभोज मञ्चन गरियो र बिस्तारै यो बहुचर्चित नाटक बन्न पुग्यो । मनोहर सिंह, सुरेखा सिकरी, उत्तरा बाओकर र रघुवीर यादवजस्ता कलाकारहरू यो नाटकको रोलमा थिए, जो सबै आ–आफ्ना विधाका हस्ती बने ।

यो नाटक १९८२ मा मञ्चन गरिएको थियो । सारा भारतभरि यो नाटकको चर्चा बढ्दै गयो । भण्डारीले नाटकको ‘स्टेज एडप्टेसन’को काम पनि आफैं गरेकी थिइन् ।

पछिल्ला दिनमा मन्नु लामो समय बिरामी परिन् । उपचारकै क्रममा उनको निधन भयो । मन्नुको निधन भएपनि उनले एक दिगो साहित्यिक विरासत छाडेकी छिन् । एक विशाल प्रतिभाशाली लेखक, जसले इमान्दारी र सुन्दरताका साथ बिताएका समयहरूलाई वर्णन गरेकी छन् । समयलाई प्रश्न गरेकी छन् ।

एक वाक्यमा भन्दा, एक साँच्चै असाधारण महिलाका रुपमा मन्नुको जीवन प्रेरणादायी छ ।

(सोमबार निधन भएकी विख्यात भारतीय लेखिका मन्नु भण्डारीको यो अब्युचरी लेख ‘दी वायर’बाट अनुवाद गरिएको हो । भण्डारीको नाटक महाभोज २०७६ मा मण्डला थिएटरमा नेपालीमा मञ्चन गरिएको थियो । अनुवाद : निर्भीकजंग रायमाझी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?