+
+
फोटोकथा :

सिम्बु झरनाका मह सिकारी

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ मंसिर ४ गते १८:४५

कात्तिक अन्तिम साता । जाडो निकै बढिसकेको छ । यस्तै चिसो मौसममा न्यानो आतिथ्य मिल्यो, गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ को सौरपानी सिम्बु गाउँमा । यसपालिको यात्रा रोमाञ्चक त थियो नै, उत्तिकै उत्सुकताले भरिएको पनि । किनभने त्यहाँ भीरमौरीको मह काड्ने तयारी थियो । हामी त्यसैको निम्ति सिम्बु गाउँतर्फ लम्किएका थियौं ।

काठमाडौंबाट हिँडेको हाम्रो टोली त्यहाँ पुग्दा गाउँमा मेला लागिसकेको थियो । मेला नै भनौं, गाउँघरका मान्छेहरु भेला भएका थिए । बडो उत्साहका साथ उनीहरु एउटा काममा जुटेका थिए । कोही चोया काड्दै थिए, कोही डोरी बाट्दै थिए । कोही भने कुखुराको भाले जोहो गर्नमा लागेका थिए भने कोही पूजापाठको तयारीमा ।

यसरी एकआपसमा मिलेर उनीहरुले लामा-लामा डोरी तयार गरे । लामा दुई डोरीको ठाउँ-ठाउँमा अर्को डोरी बाँधियो । र, भर्‍याङ जस्तै बनाइयो ।

गाउँका बुढापाका, युवा र बालबच्चा समेत बडो उत्साहसाथ मह काड्ने तयारीमा लागे । नजिकै पूजाथान बनाइए । भाले काटेर भाकल चढाइएपछि विधिवत् रुपमा मह काड्ने तयारी भयो । अनि २०-२५ जनाको यो समूह सिम्बु झरनातर्फ अगाडि बढ्यो ।

भीरमौरीको मह शिकार आफैंमा रोमाञ्चक र जोखिमपूर्ण पनि । हेर्दै कहालीलाग्दा पखेराबाट मह शिकार गर्न सानो मुटुले काम नगर्ने रहेछ । कुनै तेलको विज्ञापनमा भनिए झैं, यसका लागि मुटु चाहिने रहेछ ।

कहालीलाग्दो भीर । अनि त्यसको माझतिर मौरीका रहरलाग्दा चाका ।

भीरको टुप्पोमा डोरी लिएर गएका युवाहरुले त्यसको एक छेउ तलतिर हुत्याए । तल बसेकाले ती डोरीलाई एक छेउमा बाँधे । अब भीरसम्म पुग्नका लागि डोरी तयार भयो । यी सबै काम गरिसक्दा साँझ छिप्पिसकेको थियो । त्यसैले मह काड्ने काम थाँती रह्यो ।

भोलिपल्ट सबेरै मह शिकारका लागि सबै तयार भएर निस्किए । भीरको तल आगो बालियो । यसरी आगो बालेर धुँवा लगाइएपछि मौरी भाग्ने वा गुम्सिएर मर्ने रहेछ । त्यसपछि मह काड्नलाई अलि सहज हुने रहेछ ।

स्थानीय सन्तबहादुर गुरुङ यसका नाइके । उनकै अगुवाइमा अनुप गुरुङ लगायत केही युवा डोरीको भर्‍याङ उक्लिएर भीरतर्फ लागे । बाँकी तल बसे । मह काड्न थालियो । महका चाका झार्ने र बटुल्ने काम यन्त्रवत् रुपमा चलिरह्यो । चाका बटुल्न बसेकाहरु महको रसले निथ्रुक्क भिजे । भनाइ नै छ नि, मह काड्नेले हात चाट्छ । तर, त्यहाँ मह काड्नेले मात्र होइन, हामी रमितेले पनि महको स्वाद लिन पायौं ।

यस ठाउँमा यसरी वर्षमा दुई पटक भीरमौरीको मह शिकार गरिने रहेछ । एक पटक चैतमा र अर्को पटक कात्तिक-मंसिरमा । सबै मिलेर संकलन गरेको मह गाउँलेहरुले आपसी छलफल गरेर उचित ठाउँमा खर्च गर्ने रहेछन् ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?