
८ मंसिर, काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमीले पुस ६ देखि ९ गतेसम्म काठमाडौं टिम च्याम्पियनसिप २०२१ आयोजना गर्दैछ ।
कुमारी बैंकको प्रायोजन रहेको च्यामिपयनसिपका लागि ८ कर्पोरेट हाउसले शीर्ष वरियतामा रहेका एक पुरुष र एक महिला खेलाडीलाई आफूसंग आवद्ध गर्ने छन् । खेलाडीहरुलाई चिट्ठाको आधारमा कर्पोरेट हाउसमा आवद्ध गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुलाई दर्ता हुनेवित्तिकै २० हजार प्रदान गरिनेछ । प्रत्येक खेलबापत थप २५ सय प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरिए पनि ३५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव, नेपाल ब्याडमिन्टन संघका सदस्य एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए ।
विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार, उपविजेता टिमका खेलाडीले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पुरुष एकल (वरियता प्राप्त शीर्ष ८ खेलाडीहरुबीच), महिला एकल (वरियता प्राप्त शीर्ष ८ खेलाडीहरुवीच), कर्पोरेट युगल (कर्पोरेट हाउसमा कम्तीमा २ बर्ष कार्यरत ब्यक्ति अथवा खेलाडीहरु), पुरुष युगल (शीर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी), महिला युगल (शीर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी) पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । जसमा पाँचमध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्ने छ ।
प्रतिक्रिया 4