+
+

‘बच्चालाई व्यावहारिक ज्ञान दिने कुरा जापानबाट सिक्नुपर्छ’

कुमुद भट्ट कुमुद भट्ट
२०७८ मंसिर ९ गते ११:४४

९ मंसिर, काठमाडौं । जापान विश्वको उदाहरणीय शिक्षा प्रणाली भएको मुलुकमध्ये एक हो । जापानको शिक्षा प्रणाली व्यावहारिक मानिन्छ । सानै उमेरदेखि घरमै व्यावहारिक शिक्षा सिकाउने र विद्यालयमा पनि सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षामा जोड दिने जापानी शिक्षा मोडलबाट हामीले के सिक्न सक्छौं त ? लामो समयसम्म जापानमा त्यहाँको शिक्षा मोडलबारे अध्ययन गरेकी कुमुद भट्टसँग अनलाइनखबरले गरेको कुराकानी :

जापानमा बालबच्चा कसरी हुर्काइन्छ ? उनीहरुलाई घरमा कस्तो व्यवहार गरिन्छ ?

जापानमा बच्चा हुर्काउने छुट्टै कला छ । सानै उमेरदेखि बच्चालाई व्यावहारिक ज्ञान सिकाउन थालिन्छ । जब बच्चा एक वर्षको हुन्छ, त्यतिबेलादेखि नै बच्चाले के गर्नसक्छ भन्ने आधारमा काम सिकाउँदै लगिन्छ । जस्तो, खाना खाने बच्चालाई आफैं खाना खान दिने, आफ्नो सानातिना काम आफैं गर्न सिकाउने गरिन्छ । यी कामका लागि विद्यालयमा पठाइरहनु पनि पर्दैन, घरमा नै सबै काम सिकाइन्छ । अर्काे भनेको बच्चासँग एकदमै नम्र तरिकाले व्यवहार गर्नु हो । उनीहरुसँग बच्चाकै शैलीमा कुरा गरिन्छ । यो दुईवटा कुरा जापानमा सिक्न पाइने फरक कुरा हो ।

कुमुद भट्ट

जापानीहरुले बच्चालाई घरायसी वा व्यावहारिक कुराहरु कसरी सिकाउँछन् ?

व्यावहारिक कुरा भनेको घरमा नियमित हुने कुराहरु जस्तो लुगा पट्याउन सिकाउने, बच्चाले प्रयोग गरेको सामान सही ठाउँमा राख्न सिकाउने, नजिकै पसल छ भने उनीहरुलाई सामान किन्न पठाउने गरिन्छ । कपडा लगाउने बेलामा सही कपडा छनोट गर्न सिकाउने, आफ्नो स्थानीय संस्कृति अनुसारको चालचलन गर्न र लत्ताकपडा लगाउन सिकाउने गरिन्छ । किताब मिलाउने, राम्रोसँग हात धुन सिकाउने गरिन्छ । आफूले प्रयोग गर्ने सामानहरु कसरी जतनसँग राख्न सकिन्छ भन्ने विषय पनि घरमै सिकाउने गरिन्छ ।

जापानीहरुले बालबच्चालाई के–कस्ता कुरा सिकाउँछन्, जुन हामीले पनि अनुकरण गर्न जरुरी हुन्छ ?

सामान्यतया हामीले अनुकरण गर्न सकिने कुरा भनेको नै उनीहरुको व्यावहारिक ज्ञान सिकाउने शैली हो । उनीहरु सैद्धान्तिक ज्ञानभन्दा पनि धेरै व्यावहारिक कुरामा विश्वास गर्छन् । उनीहरुको पाठ्यक्रम नै त्यही अनुसार तयार पारिएको हुन्छ । यही कुरा हामीले पनि अनुकरण गर्नुपर्छ जस्तो लाग्छ ।

जापानमा बालबच्चालाई कुन उमेरदेखि विद्यालय पठाउँछन् ?

जापानमा तह अनुसार छुट्टाछुट्टै विद्यालयको व्यवस्था हुन्छ ।  साना बालबालिकालाई हेरचाह गर्ने ‘डे केयर’लाई समेत विद्यालय मान्ने हो भने त बच्चाहरु १८ महिनाको उमेरदेखि नै विद्यालय जाने गर्छन् । डे केयरमा पूरा व्यावहारिक शिक्षा दिइन्छ, यसको लागि पाठ्यक्रम तयार पारिएको हुँदैन । विज्ञान, गणित जस्ता पाठ्यक्रम तयार पारेर पढ्नुपर्ने विषयहरु प्राथमिक तहमा पुगेपछि मात्रै पढाइन्छ । पाँच वर्षको उमेरसम्म बच्चालाई व्यावहारिक ज्ञान मात्रै दिइन्छ । जसमा पियानो सिकाउने कक्षा, सिर्जनशीलता बढाउने काम आदिमा बढी ध्यान दिइन्छ । त्यसपछिको माथिल्लो तहमा मात्रै सैद्धान्तिक ज्ञानतिर ध्यान दिइन्छ ।

पूर्वप्राथमिक वा प्राथमिक तहको पाठ्यक्रम कस्तो हुन्छ ? मुख्यगरी के के सिकाइन्छ ?

पाठ्यक्रमको कुरा गर्दा लेख्ने कामको शुरुवात प्राथमिक तहबाट मात्रै हुन्छ भने विशेषगरी सिकाउने काम पूर्वप्राथमिक तहमा राखिएको हुन्छ । पाठ्यक्रमको मोडल नै त्यसरी तयार पारिएको हुन्छ । अर्थात््, आफ्नो सिर्जना देखाउने र कुनै पनि कुरा नलेखी सिक्ने सिकाइ पूर्वप्राथमिक तहमा राखिएको हुन्छ । प्राथमिक तहमा पुगेपछि भने सैद्धान्तिक विषयमा बढी ध्यान दिइन्छ ।

त्यहाँको शिक्षण विधि कति जीवनोपयोगी र व्यावहारिक हुन्छ ?

त्यहाँको शिक्षा प्रणालीमा गणित र विज्ञानलाई बढी फोकस गरिन्छ । अंग्रेजीलाई धेरै फोकस गरिँदैन । उनीहरुको अंग्रेजी व्याकरण राम्रो हुन्छ । तर बोल्ने बानीको विकास खासै भएको हुँदैन । त्यहाँको सिकाइ ‘लर्निङ बाई डुईङ’ अर्थात् काम गर्दै सिक्ने खालको छ । त्यसैले त्यो जीवनोपयोगी छ भन्न सकिन्छ ।

त्यहाँ विद्यालय नजाने बच्चा पनि हुन्छन् ?

त्यस्तो हुँदैन । किनभने त्यहाँ सरकारले टोलटोलमा ‘डे केयर’देखि किण्डर गार्डेनसम्म खोलेको हुन्छ । त्यसैले सबै विद्यालय गएका हुन्छन् । त्यहाँ निजी विद्यालयमा पढाउन धेरै महँगो हुन्छ । त्यसैले हरेक टोलटोलमा पब्लिक किण्डरगार्डेनहरु खुलेका हुन्छन् । त्यसैले पनि त्यहाँ सानैदेखि विद्यालय पठाइन्छ ।

बालबच्चाको मनोविज्ञान अनुसार हामीकहाँ चाहिं पढाउने तौरतरिका कति उचित छ ?

नेपालमा पनि धेरै निजी तथा सरकारी विद्यालय र किण्डरगार्डेनहरु खुलेका छन् । पहिलेको तुलनामा अहिले पठनपाठन शैलीमा धेरै सुधार पनि भएको छ । तर अझै पनि धेरै कमजोरी देखिन्छन् । सबैभन्दा पहिले त शिक्षकहरुले आफ्नो पेशाको कदर गर्नुपर्छ । आफ्नो हातमा धेरै बालबालिकाको भविष्य छ भनेर यसबारे सचेत नभएसम्म सुधार हुन कठिन छ ।

दोस्रो कुरा शिक्षकहरुमा क्षमता विकासको पाटो पनि महत्वपूर्ण छ । त्यो भयो भने मात्रै शिक्षकहरुले बच्चाको मनोविज्ञान राम्रोसँग बुझेर सोही अनुसारको व्यवहार गर्न सक्छन् । शिक्षकहरुमा सकारात्मक इच्छाशक्तिको आवश्यकता एवं अझै खारिन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?