
१० मंसिर, काठमाडौं । फ्रान्सले आप्रवासी संकटसम्बन्धी एक बैठकमा सहभागी हुन भन्दै बेलायती गृहमन्त्री प्रीति पटेललाई गरिएको निम्तो फिर्ता लिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँलाई एक पत्र लेखेपछि पटेललाई गरिएको निमन्त्रणा फिर्ता गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन्। जोनसनले माक्रोँलाई लेखेको पत्रमा आप्रवासी संकटमा फ्रान्सको रबैयालाई आलोचना गरेका थिए ।
फ्रान्सका गृहमन्त्री जेराल्ड दारमानिनले जोनसनको पत्रलाई ‘अस्वीकार्य र साझेदारबीच जारी छलफलको भावना विपरीत’ भनेका थिए ।
‘दारमानिनले स्वागत गर्न नसकिने भनेर पटेललाई बताएका छन्’, फ्रान्स सरकारका प्रवक्ता गेब्रियल अत्तलले भने । तर बेलायत सरकारले निमन्त्रणा फिर्ता गर्ने निर्णयलाई फ्रान्सले पुनर्विचार गर्ने आशा राखेको छ ।
‘यो संकटसँग कुनै पनि मुलुक एक्लै जुध्न सक्दैन’, बेलायतका यातायातमन्त्री ग्रान्ट शप्पसले बीबीसीसँग कुरा गर्दै भने, ‘यही भएर फ्रान्सले यसमा पुनर्विचार गर्ने आशा राखेको छु ।’
बुधबार इङ्लिश च्यानलमा बेलायत जान हिडेका आप्रवासी बोकेको डुङ्गा डुब्दा २७ जना आप्रवासी एवं शरणार्थीको ज्यान गएको थियो । उक्त दुर्घटनामा १७ पुरुष, ७ महिना र ३ किशोरीले ज्यान गुमाएका थिए ।
बेलायत र फ्रान्सको बीचमा अवस्थित महत्वपूर्ण जलमार्गमा घटेको हालसम्मकै ठूलो उक्त घटनापछि दुवै मुलुकले एकअर्कामाथि आरोप लगाएका थिए ।
जोनसनले फ्रान्सको गल्तिका कारण दुर्घटना भएको बताएका थिए भने फ्रान्सका गृहमन्त्री दारमानिनले बेलायतको खराब आप्रवासी नीतिका कारण दुर्घटना भएको अभिव्यक्ति दिएका थिए ।
यसअघिदेखि नै ब्रेक्जिटपछि लागू भएका व्यापारसम्बन्धी नियम र माछा मार्ने अधिकारलाई लिएर दुवै मुलुकबीच तनाव जारी छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4