+
+

ओलीलाई घनश्याम भुसालको आग्रह : हामीलाई पराजित हुन दिनुस् !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १९:४८

१२ मंसिर, चितवन । पार्टीको नयाँ नेतृत्व छनोट गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार विहानैदेखि छलफलमा व्यस्त छन् ।

विहान १० बजेका लागि बोलाइएको बन्दसत्र रोकेर उनी आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन् । पदाधिकारी तथा केन्द्रीय कमिटीमा पुग्न चाहनेहरु पनि उनलाई भेटिरहेका छन् । तर ओलीलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका भीम रावल र घनश्याम भुसालसँग कुनै सम्वाद भएको छैन ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावल र उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भुसालको माग छ, महाधिवेशन प्रतिनिधिहरुमाझ गएर पराजित हुन दिइयोस् ।

प्रस्तुत छ, भुसालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीसइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशन भनेको तपाईंहरुले भन्दै आएको जनवादको प्रयोग गर्ने स्थल हो, उनीहरुले चयन गरेको नेतृत्वले संगठन चलाउँछ । तपाईहरुको महाधिवेशनमा त अर्कैै भइरहेको छ त ?

जनताको बहुदलीय जनवाद (जबज)लाई हामी फरक रुपले बुझ्छौं । जबजलाई सत्तामा जाने सजिलो भर्‍याङको रुपमा बुझ्दा त्यसले पार्टीभित्रका सबै प्रक्रियाहरुलाई यसैगरी असफल पार्दै जान्छ । पार्टीभित्र पनि सत्ता कब्जाकै बाटोमा जान्छ ।

सजिलो गरी सत्ता प्राप्त गर्ने, जनवाद भन्ने, लोकतन्त्रको कुरा गर्ने, तर जे गर्दा भोट जितिन्छ, त्यही हो जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्तका रुपमा ब्याख्या गरिएको, अभ्यास बढ्दै गएको हुनाले पार्टीभित्र पनि यो हालत हुँदैछ ।

आज जे भयो, यो त्यसकै परिणाम हो । जबकी मैले बुझ्दा जबज भनेको श्रमजिवी वर्गको पक्षमा समाजको रुपान्तरण गर्ने सिद्धान्त हो । यसरी बुझिएको भए यहाँ आइदै आइँदैनथ्यो ।

दोस्रो, आज जे हुँदैछ, त्यो सामान्य व्यवस्थापनको पनि अभाव हो । हाम्रो लिडरसिपमा यत्तिका धेरै प्रतिनिधिहरु बोलाएर, लाखौं जनतालाई नारायण नदी किनारमा बोलाएर हामीले जे कबुल गर्‍यौं, बाचा गर्‍यौं, ती सबैप्रति हामी बेखबर छौं । ती सबैप्रति हामी जवाफदेही छैनौं जसरी व्यवहार गर्दैछौं । खासगरी गुटका, गुटका पनि उपगुटका स्वार्थहरुको रडाकोले यो सबै हुँदैछ भनेर मानिसहरुले भन्न थालेका छन् । मैले त्यसको उत्तर दिन सकेको छैन ।

यो भनेको एमालेमा एकमाना एकता छ भन्ने अध्यक्ष ओलीको दाबी सही होइन ?

एकमना एकता भन्ने नै असैद्धान्तिक, अवैज्ञानिक, गलत कुरा हो । एकमना एकता हिजो खासगरी कम्युनिस्ट आन्दोलनमा निरंकुशता र लोकतन्त्र नहुँदा बढ्ता प्रयोग गरिएको छ । निरंकुशतालाई बैधता दिन एकमना एकताको कुरा गरिएको छ । जनवादी केन्द्रीयताको अर्थ त विविधतामै एकता हो, यो वैज्ञानिक पनि छ ।

त यत्तिका मान्छेहरुका बीच एकमना एकता भन्नु नै गलत हो । अर्को, जो मान्छेले एकमना एकता भन्छ, उसको दिउँसो मन हेर्नुभयो, साँझको मन हेर्नुभयो, त्यो सत्तामा हुँदाको मन हेर्नुभयो, सत्ताबाट बाहिर निस्किएपछिको मन हेर्नुभयो, आफ्नो गुटमा बस्दाको मन हेर्नुभयो, अरु गुटहरुसँग बस्दाको मन हेर्नुभयो भने एउटै मान्छेको पनि मन एकैखालको छैन भने दुनियाँको मन कसरी एउटै हुनसक्छ ? त्यसैले एकमना एकता सामान्य साहित्यिक अर्थमा भनिएको हो भने ठीकै हो, राजनीतिक, वैज्ञानिक र व्यवहारिक अर्थमा यो गलत हुन्छ ।

अध्यक्षले त यस्तो भन्नेलाई पार्टीप्रति जनताको आस्था, विश्वास घटाउने काम भन्नुभएको छ नि

अध्यक्षले हिजो त्यसरी नभन्नुपथ्र्यो किनभने मैले स्थायी कमिटीमा धेरै पटक उठाएको छु । र, धेरै पटक मैले उठाएको प्रश्नको उत्तर उहाँले दिनुभएको छैन । त्यो जवाफ त स्थायी कमिटीमै दिएको भए हुन्थ्यो नि ! यत्रो मान्छेहरु बोलाएर उहाँले मात्र दिनै पर्दैनथ्यो । कि त यो विषयमा विवाद छ, घनश्यामजीले उठाउनु भएको छ ।

मलाई यस्तो लाग्छ, के हो घनश्यामजी भनेर मलाई बोल्न दिनुभएको भए दुनियाँले थाहा पाउँथे नि ! उहाँ एक्लै भनिदिनुभयो, विवाद नै छैन भनेर । पछिल्लो बैठकमा पनि मैले भनेको छु, धेरै अपूर्णता छ, सीमाहरु छन् । त्यस्ता अपूर्णता र सीमाहरुले धेरै ठूला गल्ती कमजोरीहरु गराउँछ कमरेड । त्यसैले उहाँले जे भन्नुभयो, नभन्नुपथ्र्यो ।

यसको मतलब, पार्टीको कार्यदिशा प्रष्ट छ भनेर …..

कार्यदिशा प्रष्ट भयो, प्रष्ट द्धछ । कार्यदिशा भनेको रेखांकन हो । जस्तै, एउटा बाटो बनाउँदा बेसीबेसी भएर जान्छ, त्यहाँ पुगेपछि उकालो चढ्छ, त्यसपछि ओरालो लाग्छ भने जस्तै हो । यो कुरा हामीले करिव १० वर्ष लगाएर ठिक ठाउँमा ल्यायौं । अस्तिको विधान महाधिवेशनले अझ स्पष्ट पारेको छ, त्यसका लागि विधान अधिवेशन धन्यवादको पात्र छ । तर यसले मात्र पुग्दैन । रेखांकन गरेपछि लक्ष्यमा पुग्न बाटो चाहिन्छ, त्यो भनेको कार्यक्रम हो ।

कार्यक्रम नहुँदा के हुन्छ भने यदि मैले भेला गरेँ, गुटको बैठक गरेँ, मेरा मान्छेहरुलाई लगाएर मेरो पक्षमा आमसभा अनेक गरेँ । म नेकपा एमालेको कार्यकर्ता भएकाले गुटको भेला गएपनि पार्टीकै कुरा गर्छु । त्यो सबैलाई मैले पार्टीमा गरेको काम भन्ने भएँ । किनभने कार्यक्रम छैन । कार्यदिशा अनुसार काम भयो कि भएन भनेर कसैले सोध्ने भए पो तपाईँ वा मैले सही उत्तर दिनुहुन्छ । कार्यक्रम नै नभएपछि जे गर्नुहुन्छ, त्यसैलाई उपलब्धी भन्नुहुन्छ ।

कार्यदिशाअनुसार कार्यक्रम नहुँदा पार्टी, व्यक्ति र कार्यकर्ताको मुल्यांकन गर्ने ठाउँ रहँदैन । को राम्रो कार्यकर्ता हो, को नराम्रो कार्यकर्ता हो भन्ने हराउँछ । चाकडी गर्ने, वरिपरि बस्ने महान र सफल कार्यकर्ता हुन्छन्, आलोचना गर्ने सबैलाई शत्रु देख्न थालिन्छ । त्यसैले आज पार्टीको समस्या भनेको समाजवादको ठोस कार्यक्रम, त्यसअनुसार ठोस संगठनात्मक सिद्धान्त र त्यसअनुसार विधान नहुनु हो । यो आज उत्तिकै चर्को छ, अझै धेरै जरुरी छ ।

यही चर्को विावाद हुँदाहुँदै नवौंबाट दशौं महाधिवेशनको बन्दसत्रमा आइसक्यौं । तपाईँहरु एउटा किनारामा हुनुहुन्छ, के भइरहेको छ भन्ने पनि थाहा छैन, यो के हो ?

मैले पहिलेदेखि पनि भन्दै आएको छु, हामीले पार्टी जसरी चलाउनुपर्ने हो, त्यसरी चलाएनौं । साच्चीकै राजनीतिक पार्टी चलाउन त राजनीतिक एजेण्डा, हामीले पास गरेको सामूहिक विधि विधानमा लैजानुपर्ने हो । यो त कुनै हिसाबले भन्दा एउटा ठूलो मठ, अरु सम्प्रदाय वा ठूलो क्लब जसरी पार्टी चलाउनु हुँदैन ।

दुर्भाग्यले हाम्रो पार्टी सञ्चालन क्लब सञ्चालनको तरिका, प्राइभेट कम्पनी सञ्चालनको तरिका, मठ मन्दिर सञ्चालनको तरिकामा प्रवेश गर्दैछ । यसले पार्टीको राजनीतिक चरित्रलाई कमजोर बनाउँछ । आज त्यसको परिणाम नेकपा एमाले दुई हजार प्रतिनिधिको राम्रो म्यानेज गर्न नसक्ने अवस्थामा पुग्यौं । त्यसको एउटा कार्यक्रम महाधिवेशन राम्ररी चलाउन सक्ने अवस्थामा पुग्यौं । म पार्टीको उपमहासचिव हुँ, हिजो सुरु हुनुपर्ने प्रक्रिया दुई दिन पछाडिसम्म किन सुरु हुन सकेन भन्ने मलाई नै थाहा छैन । हामीले राम्रो गर्न सकेका छैनौं, हामीले राम्रो गर्नुपर्छ यही दुईवटा कुरा मात्र थाहा छ ।

पुरानो इतिहास हेर्दा पाँचौं महाधिवेशनमा पराजित मतलाई जोगाएर ल्याइएको थियो । अहिले त तपाईंहरुको कार्यक्रम पारित भएको छ, तपाईंहरु किनारामा बसेर रमिता हेर्नुपर्ने, किन यस्तो अवस्था आयो ?

खासगरी नीति र नेतृत्वको समस्यामा जहिले पनि यस्तो परिरहन्छ । मेरो दावी छ, आज पार्टीको कार्यदिशा र यो निर्माणको अगुवा म हुँ । यसमा अरु पनि धेरै छौं, तर म अगुवा हुँ । र यो नीति हाम्रो मात्र होइन, मुलुकको सबभन्दा ठूला तीनवटै पार्टीको कार्यदिशा भयो । यसर्थ तीन–तीनवटा पार्टीको आजको कार्यदिशा हामीले बनाइदिएका छौं । तर त्यो कार्यदिशाअनुसार कार्यक्रम बनाउन नसक्दा आज हामी यो जञ्जालमा फसेका छौं ।

दोस्रो, यदि पार्टीमा साँच्चै राजनीतिक, सैद्धान्तिक, वैचारिक एकता हुन्छ भने जोसुकै नेता हुँदा हुन्छ । विचार कसैले ल्याउँछ, तर त्यसलाई आत्मसात गर्ने एउटा प्रक्रिया हुन्छ, त्यसबाट गुज्रिएको जोसुकै नेता हुँदा हुन्छ । मैले विचार ल्याएँ, म नै पहिले नेता हुनुपर्छ भन्ने मलाइ लाग्दैन । पार्टीमा हरेक मान्छे, कसैले विचार बनाउँछ, कसैले बडी (संगठन) बनाउँछ, कसैले विकास निर्माण, कसैले प्रकाशन, कसैले प्रचारको काम हेर्ला । किनभने विचार बनाउने क्रममा ती सबै संलग्न हुन्छन् ।

तर हाम्रोमा त्यस्तो रहे, हामी विचारहीन हुँदैहुँदै गएका छौं । गएको १० वर्षदेखि हाम्रोमा एउटा राम्रो प्रशिक्षण भएको छैन । समाजवाद र समृद्धि कसरी आउँछ भन्ने थाहा छैन, समृद्ध नेपाल सुखी नेपाली भन्दैछौं, त्यो भनेको के हो कसैलाई थाहा छैन । ओलीजी बोलिरहनुभएको छ, उहाँ कहिले के भन्नुहुन्छ कहिले के भन्नुहुन्छ । यो विषयमा उहाँले गरेका भाषणबाहेक पार्टीले आधिकारिक रुपमा समृद्ध नेपाल सुखी नेपालीलाई परिभाषित गरेको छैन, जुन गर्नुपर्छ भनेर मैले भन्दै आएको छु । यो अहिले आएको कुरा होइन, नवौं महाधिवेशनबाटै सुरु गरेको हो । त्यसैले नीति र नेतृत्वको प्रश्न पनि हामीले अझैसम्म समाधान गरेका रहेनछौं भन्नु पर्दा मलाई दुःख लागेको छ ।

अर्का उपमहासचिवले सहमतिको प्रस्ताव ल्याइराख्दा यहाँलाई थाहा थिएन होला । बन्दसत्रमा यहाँले हात उठाउँदा बोल्न पनि दिइएन । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

संस्थागत जीवनमा नेकपा एमाले विधि, पद्धति भन्दा कहिले नगएको संकटको अवस्थामा गएको छ । नेकपा एमालेभित्र विधि, पद्धति र प्रणालीको यो भन्दा ठूलो मानमर्दन कहिले पनि भएको थिएन । त्यो पनि फेरि एक हिसाबले हेर्दा योजनावद्ध देखिन्छ, यो अर्को डरलाग्दो कुरा हो । कहिलेकाहीँ हामीले म्यानेज नगर्दा त्यस्तो देखिनसक्छ । कुनै खास व्यक्तिमा समस्या देखिनसक्छ । तर एउटा सिंगो टिम नै, आफूलाई विचार समूहका सदस्य भन्नेहरु सबै मिलेर यदि यस्तो काम गर्छन् भने त्यो डरलाग्दो कुरा हो । हाम्रो पार्टीकै भविश्यका लागि धेरै ठूलो खतरा हो ।

अहिले सर्वसम्मतिको धेरै कुरा भएको छ, अब कसरी अगाडि बढ्नुहुन्छ ?

लोकतन्त्रमा सहमति भनेको विधिमा सहमति हो । यस्तो विधि जसले एजेण्डामा सहमति ल्याउँछ वा एजेण्डामा सहमति भएन भने पनि त्यसमा समाधान गर्ने विधि बनाइन्छ । तर अहिले त म कफी खान चाहन्छु, तिमीले पनि कफी नै खान मन पराउनुपर्छ भन्नेजस्तो भयो, जुन जुन गलत हो ।

विधिमा एकता नगर्ने अनि मान्छेहरुलाई जिम्मेवारी वा पदको प्रस्ताव गर्ने र त्यसलाई सहमति भन्ने यो धर्तीमा कहीँ नभएको कुरा हो । खेलवाड गरेर यो तरिका अपनाइयो भने हेर्नुहोला, हामीले चाँडै अरु धेरै दुर्घटना व्यहोर्नुपर्छ । यो बाटो हिँड्नु हुँदैन । म मेरो अध्यक्षलाई पनि अनुरोध गर्छु, अरु सबैलाई अनुरोध गर्छु । यसले हामीलाई बचाउँदैन, हाम्रो शक्ति बचाउँदैन, हाम्रो पार्टी बचाउँदैन, यत्रो जनमत बचाउँदैन, हाम्रो जिम्मेवारी बचाउँदैन, हामीलाई ध्वस्त पारिदिन्छ ।

फेरि यो सहमति स्वीकार्नुभएन भने तपाईंहरु सबैजना बाहिरिने सम्भावना हुन्छ नि ?

ठीक छ, हामीलाई यही कुरा प्रतिनिधिले भनिदिउन् । प्रतिनिधिले भनिदिउन् कि तिमीहरुको कुरा ठीक छैन । मैले सधैं भन्ने गरेको छु, हामीलाई पराजित हुने मौका त देऊ । यो भन्दा डेमोक्रेटिक (लोकतन्त्रिक) के होला ? हामी भनिरहेका छौं, ए हजुर हामीलाई पराजित हुन देऊ । डेमोक्रेसीप्रति यो भन्दा ठूलो प्रतिवद्धता हामीसँग के खोज्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment