+

नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

२०७८ मंसिर  १६ गते १६:३९ २०७८ मंसिर १६ गते १६:३९
नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

१५ मंसिर, काठमाडौं । नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण हुने गरेको छ ।

देशभरका विभिन्न सरकारी अस्पताल तथा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७७/७८ मा २० हजार ८ सय ८३, आव २०७६/७७ मा १९ हजार २ सय ११, आव २०७५/७६ मा १७ हजार ९ सय ८७ र आव २०७४/७५ मा १६ हजार ४ सय २८ जनाले उपचार सेवा लिएका छन् ।

यो चार वर्षमा ७४ हजार ५०९ जना एचआईभी संक्रमितले उपचार सेवा लिएका छन् । सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको जनाएको छ । सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटेपनि उपचार सेवा लिनेको संख्यामा भने कमी आएको देखिँदैन ।

सरकारले आगामी पाँच वर्षमा आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको अन्त्य गर्ने लक्ष्य राखेको छ । सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।

देशभर आमाको पेटमै संक्रमित भएको संख्या करिब १ हजार ३ सय रहेको छ । यसमा भर्खरै जन्मिएका शिशुदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् । कुल संख्याको ४ दशमलव २ प्रतिशत रहेको छ ।

एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय १६ छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजार ३ सय रहेको उल्लेख गरेको छ । महिला संक्रमित १३ हजार ९ सय ८६ र पुरुष १६ हजार ३१४ जना छन् ।

केन्द्रले वार्षिक ७ सय ५४ संक्रमित थपिने जनाएको छ । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्र १५ देखि २४ वर्षका संक्रमित युवाहरूको प्रतिशत शून्य दशमलव २० प्रतिशत रहेको छ । हजार जनसंख्यामा एचआईभीको संक्रमणदर शून्य दशमलव ३ प्रतिशत छ ।

गत आव २०७७/७८ मा मात्र २ लाख ४२ हजार ६ सय ८९ जनाले एचआईभी परीक्षण गराएका थिए । सोही वर्ष २ हजार ५ सय ७९ जनामा एचआईभी संक्रमण देखिएको थियो । आव २०७६/७७ मा १ लाख ४७ हजार ९६८ जनाको परीक्षण गरिएको मध्येमा २ हजार ४ सय १६ जनामा एचआईभी पुष्टि भएको थियो ।

सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन ८ वटा छ । सात प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र रहेका छन् ।

नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरूसमेत एचआईभीको उच्च जोखिममा छन् ।

एचआईभी संक्रमितहरूलाई ८३ वटा एआरटी केन्द्र स्थापना गरी ४५ वटा एआरभी केन्द्रबाट निःशुल्क औषधि वितरण भइरहेको छ । हाल ४४ वटा जिल्लामा सञ्चालित छन् ।

एचआईभी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय