+
+
टिप्पणी :

सिनेमाको ‘पब्लिसिटी’ : नाच्न नजान्ने, आँगन टेडो

खेम रिसाल खेम रिसाल
२०७८ मंसिर २५ गते १८:०८

‘बोल्नेको पीठो बिक्छ !’ बजार-रणनीतिको यो उखान सिनेमाको हकमा भने लागू हुँदैन । सिनेमा जस्तो शक्तिशाली रचनात्मक विधामा ‘पीठो बेच्ने’ काइते दाउपेचले खास काम गर्दैन । यसैले सिनेमाको मार्केटिङ/पब्लिसिटीमा ‘कुकुरको टाउको देखाएर खसीको व्यापार गर्ने’ मनसाय आफैंमा निर्धो हुनपुग्छ ।

यद्यपि पब्लिसिटी एवं मार्केटिङ सिनेमाको एक अहं पाटो हो । सिनेमा निर्माण पछि र प्रदर्शन अघिको एउटा यस्तो प्रसव अवधि हुन्छ, जुन बखत झ्याली पिटेर सिनेमाको पब्लिसिटी गरिन्छ । ६० वर्षे इतिहास बोकेको नेपाली सिनेमा मात्र होइन, विश्व सिनेमाले गर्दै आएको अभ्यास हो यो ।

भनिन्छ, हलिउड बिग बजेट सिनेमाले कुल निर्माणको आधा हिस्सा त ‘पब्लिसिटी’मा खर्च गर्छ । विश्वभरका स्क्रिनमा सार्वजनिक हुनुअघि उनीहरूले ठूलै हल्लीखल्ली मच्चाइसक्छन् । पोस्टर, टिजर-ट्रेलरको कुरा छाडौं, मोबाइल गेमसम्म यसको गतिलो औजार बन्न थालेको छ । बलिउड पनि प्रचारको मामलामा कम तगडा छैन ।

‘फिल्म एकदमै राम्रो बनेको छ । यसपालि हामीले फरक कथा भनेका छौं । धेरै खर्च र मिहिनेत गरेका छौं ।’ नेपाली फिल्मकर्मी यसरी नै अनुनय गर्छन्, जब उनको फिल्म प्रदर्शनको मुखमा हुन्छ । यससँगै फिल्म प्रचारका अनेक फन्डा गर्छन् । कहिले फाटेको जुत्तासँग नयाँ जुत्ता साट्छन्, कहिले आँशु पुछ्नका लागि भन्दै रुमाल बाँड्छन् ।

कुनै चुपचाप चल्छ, कुनैले हल्ला मच्चाउँछ

कतिपय सिनेमा चूपचाप हलमा चढ्छ । एकाध दर्शकको हृदय स्पर्श गर्छ । ती अल्पसंख्यक दर्शकले आफन्त, साथीभाइ, सहकर्मीमाझ सिनेमाको चर्चा, तारिफ गर्छन् । यसरी एक कान दुई कान मैदान हुन्छ । तब जति-जति प्रदर्शन अवधि लम्बिंदै जान्छ, दर्शकको चाप बढ्दै जान्छ । यस्तो सौभाग्य, शानदार सिनेमालाई मात्र मिल्छ । शानदारको अर्थ- कथा, प्रस्तुति, वाचन शैली, पार्श्व ध्वनि, रंग, अभिनय, फ्रेमिङ सबैको परिपक्व, सुहाउँदो र सुन्दर समायोजन ।

यो हो माउथ पब्लिसिटी अर्थात् वर्ड अफ माउथ पब्लिसिटी ।

कति सिनेमाको हल्लीखल्ली भने बर्खे भेल झैं हुन्छ । आज व्यापक गडगडाहट हुन्छ, भोलि सुक्खा बगर । सन्नाटा ।

बलिउडकै दृष्टान्त लिऔं । आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ प्रदर्शनमा आउनुअघि झ्याली पिटिएन । थाहै नपाई प्रदर्शनमा आयो । थाहा त त्यसबेला मात्र भयो, जब फिल्म हेरेका दर्शकले चर्चा गर्न थाले ।

यसैगरी आमिर खानले नै अभिनय गरेको अर्को बिग बजेट सिनेमा भयांकर तामझामका साथ प्रदर्शनमा ल्याइयो । यशराज ब्यानरमा बनेको उक्त फिल्म थियो, ठग्स अफ हिन्दुस्तान ।

यो फिल्म छायांकन भएदेखि नै चर्चामा थियो । यसमा जोडिएका कलाकार, लागत, तयारीले ठूलै आँधी ल्याउने अनुमान गरिएको थियो । प्रदर्शन अघि यो ‘बहुप्रतीक्षित’ फिल्मको कोटिमा थियो । जसै फिल्म हलको पर्दामा चढ्यो, दर्शक खचाखच भए । शुरुआती शो भव्य रह्यो । तर, फिल्म हेर्न तँछाड-मछाड गर्दै हलमा पसेका दर्शक फिल्म हेरेर निस्कँदै गर्दा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मुद्रामा खिन्न देखिए । त्यसपछि ‘ठग्स अफ हिन्दुस्तान’का दर्शक पातलिंदै गए ।

यसको स्पष्ट सन्देश के भने, सिनेमाको हकमा पब्लिसिटी जरूरी छ अनिवार्य भने होइन । पब्लिसिटीकै बलमा सिनेमा चल्छ भन्नु जस्तो महा-भ्रम अर्को छैन । कुनै फिल्म तब चल्छ, जब त्यो खँदिलो कथा, स्वादिलो प्रस्तुति र गतिलो संरचना बोकेर आउँछ । यस्तो सिनेमाको हकमा यसो भन्न सकिन्छ, ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।’

भ्रमको खेती होइन पब्लिसिटी

सबैभन्दा ठूलो चुनौती के हुन्छ भने, दुई-तीन दिनभित्रै दर्शकलाई हलसम्म तान्नुपर्ने । सामान्यतया के हुन्छ भने शुक्रबार फिल्म सार्वजनिक भएकाले यसै पनि दर्शक हलसम्म आउन सक्छन् । सप्ताहान्त रमाइलो गर्ने मूड बनाएका दर्शक टिकटको लाममा उभिन सक्छन् ।

शनिबार विदा । पट्यारलाग्दो विदा कटाउन कतिपय सिनेमा हलसम्म आउँछन् । दुई दिन जसोतसो चल्यो । तेस्रो दिन, अर्थात् आइतबार फिल्मको अग्निपरीक्षा हो । यसदिन कार्यालय, विद्यालय शुरू हुन्छ । बेफुर्सदिलो मान्छेलाई फुर्सद निकालेर हलसम्म ल्याउने कसरी ?

यसका लागि प्रचार-प्रसारले मात्र काम गर्दैन । प्रचार-प्रसार त फिल्म सार्वजनिक भएको दिन, अझ पहिलो शोका लागि बढी प्रभावकारी हुन्छ । फिल्म राम्रो होस् वा झुर, गज्जबको प्रचार शैली अपनाइएको छ भने दर्शक हलसम्म आउँछन् । पहिलो शो भरिभराउ हुन्छ ।

त्यसपछिका दिनमा दर्शक आउने वा नआउने कुरा भने फिल्म कस्तो बनेको छ भन्ने कुराले नै निर्धारण गर्छ । फिल्म गतिलो बनेको छ भने निर्माता-निर्देशक हात बाँधेर बसे पुग्छ । दर्शकले नै फिल्मको गुणगान गाइदिन्छन् । एक कान दुई कान मैदान बनाइदिन्छन् ।

यसले स्पष्ट रूपमै के देखाउँछ भने, प्रचार अर्थात् पब्लिसिटीले त्यति मात्र काम गर्छ जति यसको सीमा छ । यसको सीमा भनेको फिल्म प्रदर्शनको पहिलो दिन हो । त्यसपछि प्रचारको काम छैन ।

तर, हामीकहाँ हुँदै आएको अभ्यास हेर्दा टिठ पनि लाग्छ हाँसो पनि उठ्छ ।

हामीकहाँ फिल्म बनाउन त्यति मिहिनेत गरिंदैन, जति त्यसको प्रचारमा जोडबल गरिन्छ । न्वारानदेखिको बल लगाएर फिल्मको प्रचार गर्नेहरू फिल्मको पि्र-प्रोडक्सनमा भने खास मिहिनेत गर्दैनन् । स्क्रिप्ट बोकेर छायांकनमा निस्कनुअघि गरिने काम सबैभन्दा महत्वपूर्ण हुन्छ । कुनै पनि सिनेमा मोटामोटी कथा तयार भइसकेपछि त्यसको तर्कसंगत जाँच जरूरी हुन्छ । त्यसपछि कथालाई बलियो बनाउन आवश्यक अध्ययन-अनुसन्धन गर्नुपर्छ । कथा परिपक्व, छरितो भइसकेपछि पात्र छनोट, कस्ट्युम डिजाइन, लोकेसन हन्टिङ लगायत यावत् काम-कुराहरू गरिन्छ, जसले फिल्मको अवयवमा प्राण भर्न आधार तय गर्छ ।

तर, हाम्रा फिल्मकर्मीहरू हतारमा छन् । उनीहरूलाई कथा फुर्नासाथ फिल्म बनाउन हतार हुन्छ । अधकल्चो स्क्रिप्ट च्यापेर छायांकनमा निस्कन्छन् र फूर्तिसाथ छायांकन सिध्याउँछन् । यहाँसम्म आइपुग्दा उनीहरू स्वयम्ले भेउ पाएका हुँदैनन्, फिल्म कस्तो बन्यो ?

आफ्नो कामप्रति आफैंलाई विश्वास हुँदैन । त्यसैले उनीहरू प्रदर्शनको मुखमा आएर कहिले ‘आफ्नो फिल्म हेरिदिनू’ भन्दै साष्टाङ्ग दण्डवत् टक्र्याउँछन्, कहिले घुर्की लगाउँछन्, कहिले धम्की दिन्छन् । आफूले बनाएको फिल्म दर्शकले रुचाउँछन्/रुचाउँदैनन् ? उनीहरू ढुक्क हुन सक्दैनन् । त्यसैले त दर्शकलाई लोभ्याएर हुन्छ कि, झुक्याएर हुन्छ हलसम्म तान्ने चेष्टा गर्छन् । यसैलाई उनीहरू ‘फिल्मको पब्लिसिटी’ ठान्छन् ।

वास्तवमा दर्शकलाई मुर्गा बनाएर हलसम्म ल्याउन जे-जति तौरतरिका अपनाइन्छ, त्यो भ्रमको खेती हो ।

फिल्मको पब्लिसिटी भनेको दर्शकमा फिल्मप्रति जागरुक बनाउनु र कौतूहल जगाउनु हो । यसका लागि रचनात्मक विधि अपनाउन सकिन्छ । दर्शकलाई आफ्नो फिल्मबारे कसरी थाहा दिने, आफ्नो फिल्मप्रति उनीहरूमा कसरी उत्सुकता जगाउने ? पब्लिसिटीको खाका यसै अनुरुप बनाउँदा बढी प्रभावकारी हुनसक्छ ।

खामबन्दी द्रव्यदान

‘फिल्म एकदमै राम्रो बनेको छ । यसपालि हामीले फरक कथा भनेका छौं । धेरै खर्च र मिहिनेत गरेका छौं ।’ नेपाली फिल्मकर्मी यसरी नै अनुनय गर्छन्, जब उनको फिल्म प्रदर्शनको मुखमा हुन्छ । यससँगै फिल्म प्रचारका अनेक फन्डा गर्छन् । कहिले फाटेको जुत्तासँग नयाँ जुत्ता साट्छन्, कहिले आँशु पुछ्नका लागि भन्दै रुमाल बाँड्छन् ।

देश-दौडाहमा निस्कन्छन् । ठाउँ-ठाउँ मान्छेको भीड जम्मा गरेर नाचगान गर्छन् । सामाजिक सञ्जालदेखि शहरका भित्तासम्ममा फिल्मको पोस्टर छ्यापछ्याप्ती बनाउँछन् ।
आफ्नो बुद्धि र ढंगले भ्याएसम्म हल्लीखल्ली मच्चाउँछन्, ताकि दर्शक हलसम्म आइदेओस् ।

यहाँसम्म त ठीकै छ । बेठीक चाहिं के भने, कथित पत्रकार र युट्युबरलाई निम्तो गरेर जनही द्रव्यदान गर्ने परिपाटी । हामीकहाँ मौलाएको यो परिपाटी नेपाली सिनेमाका लागि वास्तवमै प्रत्युत्पादक छ ।

फिल्म प्रदर्शनअघि कसैलाई प्रचारको ठेक्का दिइन्छ । ठेकेदारले ‘कलाकारसँग भलाकुसारी’को नाममा मदिरा-भोज खुवाउँछन् । यस्तो तामसिक मौकामा कथित पत्रकार र युट्युबरको ताँती नलाग्ने कुरै भएन । त्यसपछि जनही खामबन्दी द्रव्य टक्र्याइन्छ । पाँच हजारदेखि दश हजारसम्म लिने दुई अलग श्रेणीका ‘पत्रकार’ र युट्युबरसँग एउटा बनिबनाऊ शीर्षक हुन्छ, ‘फलानो फिल्मको बम्पर ओपनिङ : पहिलो शोमै हाउसफुल ।’

यसरी फिल्म पब्लिसिटी (प्रचार)को नाममा दर्शकलाई झुक्याउने खेल हुन्छ । जुन खेलले अन्ततः उनै फिल्मकर्मीलाई नाकको डाँडी भाँचिने गरी लोप्पा ख्वाउँछ ।

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?