
२ पुस, काठमाडौं। सरकारले शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोगको उक्त नियमावली संशोधन गरेको हो ।
आयोगले नियमावलीको १०औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको भन्दै उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।
आयोगका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णाङ्कको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णाङ्कको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।
नियमावली संशोधनसँगै आयोगलाई शिक्षक छनोटका लागि अब सबै खाले बाटो खुलेको हो। आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले आन्तरिक बढुवाको विज्ञापन पनि पाइपलाइनमा बसेको जानकारी दिए ।
उनले भने ‘अब बढुवाको विज्ञापन पनि पाइपलाइनमा बस्यो । बढुवाको परीक्षाको लागि पुरानै पाठ्यक्रम भएकोले पाठ्यक्रम परिमार्जन गरी नयाँ पाठ्यक्रम वेबसाइटमा राखेपछि त्यसपछि विज्ञापनको प्रक्रियामा जान्छौं ।’
पाठ्यक्रम तयार गरेको तीन महिनाभित्र परीक्षा लिन नपाउने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया 4