+
+

मोदीलाई उच्च अदालतको अपील- उत्तर प्रदेशको विधानसभा चुनाव रोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते ११:३७

९ पुस, काठमाडौं । भारतको अल्लाहवादस्थित उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको विधानसभा चुनाव रोक्न अपिल गरेको  छ ।

अल्लाहबाद उच्च अदालतले ओमिक्रोनको बढ्दो संक्रमण र संभावित तेस्रो लहरलाई मध्यनजर गर्दै उत्तर प्रदेशको आसन्न विधानसभा चुनाव, चुनावी सभा एवं जुलुस रोक्न अपिल गरेको हो । न्यायाधीश शेखर कुमार यादवले उच्च अदालतका रजिष्टार जनरललाई  पछिल्लो अवस्थासँग जुध्ने गरी नियम बनाउन भन्दै मोदीसमक्ष उक्त अपील गरेका हुन् ।

‘यतिबेला फेरि उत्तर प्रदेशको विधानसभा चुनाव नजिक आइरहेको र दलहरूले उक्त चुनावका लागि लाखौंको भीडसहित जुलुस, बैठक एवं सभा गरिरहेका छन्’, न्यायाधीश यादवले जारी गरेको अपीलमा भनिएको छ, ‘यस्ता कार्यक्रममा कोभिडसम्बन्धी प्रोटोकल (नियम) पालना गर्न संभव हुँदैन । यदि समयमै यसलाई रोकिएन भने दोस्रो लहरभन्दा पनि डरलाग्दो परिणाम देखिने छ ।’

‘संभव भएको खण्डमा फेब्रुअरीमा हुन गइरहेको चुनाव १ वा २ महिना स्थगित गर्दा राम्रो हुन्छ किनभने जीवन रहे मात्रै चुनावी जुलुस गर्न सकिन्छ’, अपिलमा उल्लेख छ ।

त्यस्तै, यादवले निकै ठूलो जनसंख्या भएको भारतमा कोभिडविरुद्ध खोप अभियान सुरु गरेको भन्दै मोदीको प्रशंसा समेत गरेका छन् । ‘हाम्रा सम्माननीय प्रधानमन्त्रीले यति ठूलो जनसंख्या भएको मुलुकलाई कोभिडमुक्त बनाउन खोप अभियान सुरु गर्नु भएको छ । यो कार्य सह्रानीय छ र अदालतले यसको प्रशंसा गर्छ’, यादवले भनेका छन्, ‘हामी डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै जुलुस एवं चुनाव रोक्ने र स्थगित गर्ने गरी कदम चाल्न सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छौं ।’

भारतका उत्तर प्रदेश र पञ्जाबसहित ५ राज्यमा फेब्रुअरी-मार्च महिनामा विधानसभा सभा चुनाव हुँदै छ । तर पछिल्लो समय कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि कैयौं राज्यमा सतर्कता अपनाउन थालिएको छ । केन्द्र सरकारले समेत राज्य सरकारलाई ठूला कार्यक्रममाथि रोक लगाउन र राति कर्फ्यू लगाउन सल्लाह दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?