
भविष्यको पुस्ताले जब अन्तरिक्ष पर्यटनको इतिहासका बारेमा लेख्नेछ, सन् २०२१ ले एउटा छुट्टै खण्ड ओगटेको हुनेछ । यस वर्षलाई सायद अर्बपतिहरूको वर्ष भनिनेछ ।
सन् २०२१ मा अर्बपतिहरू जेफ बेजोस र रिचार्ड ब्रान्सन अन्तरिक्षको किनारासम्म पुगेर फर्किए । आफ्नै कम्पनीको निजी अन्तरिक्षयानबाट अन्तरिक्षमा पुग्ने झण्डै २ दशकदेखिको बाचा मात्र उनीहरूले पूरा गरेनन् अन्तरिक्ष पर्यटनमा निजी क्षेत्रका अन्तरिक्षयानको सुरुआत पनि गरे ।
सन् २०२१ मा अभिनेता ९० वर्षीय विलियम श्याटनरदेखि गुड मर्निङ अमेरिका नामक कार्यक्रम सञ्चालक माइकल स्ट्राहानलगायतका सेलिब्रेटी पनि अन्तरिक्षमा पुगेर इतिहास रचे ।
तीनजना अन्तरिक्ष अर्बपतिहरू-जेफ बेजोस, एलन मस्क र रिचार्ड ब्रान्सनले भविष्यतर्फ नजर लगाइरहेका छन् । अघिल्लो वर्षभरि नै उनीहरुको दृष्टिकोण एक अर्काविरुद्ध खनिएको देखियो र एकलकाटे प्रवृत्तिका धेरै विवादास्पद अभिव्यक्ति तथा गतिविधिहरू पनि सुनिए ।
ब्रान्सन भर्सेस बेजोस
रिचार्ड ब्रान्सन र जेफ बेजोसले स्थापना गरेका अन्तरिक्ष कम्पनीहरूले वर्षौंदेखि व्यवसायिक रुपमा मानिसहरुलाई अन्तरिक्षको यात्रामा लैजानका लागि अन्तरिक्षयानको विकास गर्ने प्रतिज्ञा गर्दै आएका थिए । अन्तरिक्षमा पुगेर पृथ्वीको दृश्यावलोकन गर्ने काम आन्ध्र महासागरमाथिको आकाशमा जेट विमानमा चढेर यात्रा गरेजत्तिकै सरल बनाउने युगको सुरुवात गराउने उनीहरूको दाबी थियो ।
आफ्नो सबअर्बिटल अन्तरिक्ष पर्यटन व्यवसायको सुरुआत उनीहरु आफैं अन्तरिक्ष यात्रामा गएर गरे । ब्लु ओरिजिन कम्पनीका संस्थापक बेजोस आफ्नो कम्पनीको यानमा चढेर अन्तरिक्षमा पुग्ने विश्वको पहिलो व्यक्ति बन्ने योजनामा थिए र जुलाई २० का लागि उडानको मिति तय गरेका थिए । आफूसँगै अन्तरिक्षमा जान चाहने व्यक्तिका लागि उक्त यानको एउटा टिकट २ करोड ८० लाखमा लिलामीसमेत गरिएकेा थियो । तर बेजोसको इतिहास रच्ने योजनामा रिचार्ड ब्रान्सन बाधक बने ।
उनले आफ्नो भर्जिन ग्यालाक्टिक कम्पनीको रकेटयुक्त अन्तरिक्ष जहाजमा चढेर जुलाई ११ मै अन्तरिक्ष यात्रामा निस्कने घोषणा गरिदिए । यसअघि अन्तरवार्ताका क्रममा ब्रान्सनले बेजोससँग प्रतिस्पर्धा कुनै दौड नभएको बताएका भएपनि बेजोसभन्दा अगाडि अन्तरिक्षमा पुग्ने उनको हतारोले यी दुईबीच पर्दा पछाडि ठूलै तिक्ततापूर्ण प्रतिस्पर्धा रहेको प्रष्ट भयो। यी दुवैको पहिलो अन्तरिक्ष उडान सफल भए । दुवै उडानमा उनीहरु बाहेक अन्य केही चर्चित यात्रु तथा अर्बपतिहरु पनि समावेश थिए ।
बेजोससँगको उडानमा नासाको सन् १९६१ को बुधग्रह परियोजनामा तालीम प्राप्त पहिलो ब्याचका महिला मध्येकी एक ८२ वर्षीया वाली फंक थिइन् । त्यस्तै अर्बपति धनाढ्यका छोरा १८ वर्षीय ओलिभर डेमेन पनि बेजोससँगको उडानमा थिए । फंक अन्तरिक्षमा पुग्ने सबैभन्दा पाको उमेरकी महिला हुन् भने ओलिभर सबैभन्दा कम उमेरका व्यक्ति । त्यस्तै ब्रान्सनको उडानमा भर्जिन ग्यालाक्टिक कम्पनीकी कार्यकारी सिरिशा बन्दला थिइन् । उनी अन्तरिक्षमा पुगेर फर्किने दोश्रो भारतीय मूलकी महिला हुन् ।
सबअर्बिटल अन्तरिक्षको मानक
जुलाई महीनामा आफ्नो कम्पनीको यानबाट अन्तरिक्ष यात्रा सुरुआत गरेका बेजोसले आफूसँग सम्मानार्थ पाहुनाको रुपमा हाइ प्रोफाइल व्यक्तिलाई नि:शुल्क रुपमा अन्तरिक्षको यात्रामा लगिसकेका छन् । अक्टोबरमा उनले स्टार ट्रेक अभिनेता ९० वर्षीय विलियम श्याटनरलाई सबअर्बिटल स्पेसको यात्रा गराए । त्यसपछि अमेजनको भिडियो खिच्ने विशेष टिमपनि अन्तरिक्ष यात्रामा गयो । डिसेम्बरमा माइकल स्ट्राहन तथा अन्तरिक्षमा पुग्ने दोश्रो व्यक्ति अलान शेर्फडकी छोरी लाउरा शेर्फड चर्चले पनि अन्तरिक्ष यात्रामा गएर फर्किए ।
ब्लु ओरिजिनले सेलिब्रेटीहरूलाई अन्तरिक्षमा उडाइरहँदा भर्जिन ग्यालेक्टिक भने उल्लेखनीय ढिलाइमा फसेका छ । समाचार अनुसार जुलाई ११ मा भएको ब्रान्सनको पहिलो उडानकै क्रममा ककपिटमा चेतावनी सूचक बत्ती निभेको थियो र ४१ सेकेण्ड सम्म जहाज पूर्वनिर्धारित क्षेत्रभन्दा बाहिर उडेको थियो । अमेरिकाको संघीय उड्ययन प्रशासनले त्यसपछि भर्जिन ग्यालेक्टिकको उडानका विषयमा अनुसन्धानका लागि सबै उडानलाई ग्राउण्डेड गरिदियो । यद्यपि सेप्टेम्बरमा भर्जिन ग्यालेक्टिकले संघीय उड्ययन निकायबाट क्लिनचिट पाएको छ । तथापि प्राविधिक स्तरोन्नतीका लागि भन्दै उसले अझैसम्म व्यवसायिक उडान सुरु गरेको छैन ।
हुनत ब्लु ओरिजिन पनि आफ्नै आन्तरिक विवादमा फसेको छ तर उडानको सुरक्षा तथा रकेट वा यानको खराबीका विषयमा अहिलेसम्म कुनै समस्या देखिएको छैन ।
मस्कको अझै उच्च उडान
यद्यपि एलन मस्कले हालसम्म आफ्नो कम्पनी स्पेस एक्सको कुनै मिसनमा आफू पनि अन्तरिक्षमा पुग्ने योजना सार्वजनिक गरेका छैनन् तर उनको कम्पनी अन्तरिक्ष प्रविधिको क्षेत्रमा अब्बल सावित हुँदै आएको छ । स्पेस एक्सले अन्तरिक्षमा आधारित इन्टरनेट सेवा स्टार लिंकलाई नाटकीय रुपमा विस्तार गरेको छ र स्याटेलाइटको संख्या २ हजार पुगेको छ । स्पेस एक्सको ड्रागन यानले अन्तरिक्षयात्रीलाई अन्तराष्ट्रिय स्पेस स्टेसनसम्म पुर्याएर फर्किएको छ ।
स्पेस एक्सको Inspiration4 नामक मिसन मार्फत् अर्बपति जारेड आइज्याकम्यान र अन्य ३ जना व्यक्तिहरु पृथ्वीको अक्षमा तीन दिनसम्म भ्रमण गरेर फर्किए । त्यो क्षेत्र अन्तर्राष्ट्रिय स्पेस स्टेसनभन्दा पनि माथिको क्षेत्र हो । स्पेस एक्सको सो मिसनमार्फत् एलन मस्कले ४ जना व्यक्तिलाई अन्तरिक्षमा त्यति माथि पठाए कि जहाँ यो शताब्दीमा कुनै पनि मानिस पुगेको छैन बेजोस र ब्रान्सन पुगेको सबअर्बिटल क्षेत्रभन्दा त त्यो निकै नै माथि हो ।
स्पेस एक्सको उक्त यात्रामा गएका यात्रुहरू कक्षमा पुगेर क्याप्सुलको वरिपरि तैरिए, गित गाए, कलाकारिता देखाए र १७५०० माइल प्रतिघण्टामा पृथ्वीको फन्को मारिरहेको यानमा रहेर पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क पनि गरिरहे । उक्त अन्तरिक्षयात्रा कार्यक्रमको उद्देश्य एक अस्पतालको लागि रकम जुटाउनु थियो । पेमेन्ट प्लाटर्फमका सिइओ समेत रहेका अर्बपति यात्रु आइज्याकमेनले उक्त अस्पतालका लागि साढे १२ करोड दान गरेका थिए । अन्तरिक्ष उडानमार्फत् उनले सार्वजनिक रुपमा आह्नवा गरेर ११ करोड ८० लाख डलर जुटाएका छन् भने ५ करोड डलर एलन मस्कले प्रदान गर्ने भएका छन् ।
अर्बपतिहरू भटाभट अन्तरिक्षयात्रामा गइरहेको समाचार विवादरहित भने बनेको छैन । राष्ट्रसंघ महासचिवदेखि बेलायती राजकुमार विलियमसम्मले त्यसको आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत सेप्टेम्बरमा भनेका थिए – अहिले हाम्रो विश्वमा अविश्वासको एउटा रोग फैलिरहेको छ । अर्बपतिहरू अन्तरिक्षको यात्रा गरेर मस्ती गरिरहेका छन् भने पृथ्वीमा दशौँ लाख मानिसहरु भोकै परिरहेका छन् ।
बेजोस भर्सेस मस्क
अन्तरिक्ष पर्यटनको क्षेत्रमा भइरहेका सबै गतिविधिको पृष्ठभूमिमा विश्वका सबैभन्दा धनी दुई व्यक्तिहरूबीचको तनावपूर्ण प्रतिस्पर्धा सबैभन्दा उल्लेख्य छ ।
यो दशकमा अमेरिकी अन्तरिक्ष संस्था नासाले पुनः चन्द्रमामा मानिस पठाउने योजना बनाएको छ । नासाको उक्त योजनाको केन्द्रमा आफ्नै कम्पनीलाई राख्न चाहन्छन् जेफ बेजोस र एलन मस्क । सुरुमा नासाले चन्द्रमामा पठाउने यान निर्माणका लागि एकभन्दा बढी ठेकेदारलाई काम दिने बताएको भएपनि पछि उसले केवल एउटा मात्र कम्पनीलाई दिनसक्ने रकम आफूसँग रहेको भन्दै त्यसको जिम्मा एलन मस्कको कम्पनी स्पेस एक्सलाई दियो । जस अनुसार स्पेस एक्सले नासाबाट २ अर्ब ९० करोड डलर प्राप्त गर्यो । नासाको उक्त निर्णय निष्पक्ष नभएको र स्पेस एक्सलाई काखी च्याँपेको भन्दै ब्लु ओरिजिन वर्षैभरी नै त्यसको विरुद्धमा बोलिरह्यो ।
तथापि अमेरिकाको संघीय अदालतले स्पेस एक्स र नासाकै पक्षमा फैसला गरेपछि बेजोसको कम्पनी ब्लु ओरिजिनलाई धक्का लाग्यो । यो घटनाले पनि व्यवसायिक अन्तरिक्ष उद्योगका लागि सरकारी ठेक्काहरू कति महत्वपूर्ण छन् भन्ने देखाएको छ । यद्यपि यी कम्पनीहरू प्राइभेट कम्पनी हुन् तर तिनको आयको ठूलो हिस्सा करदाताको पैसाबाटै जुटेको हुन्छ ।
नासाको चन्द्रयानको ठेक्काको विवाद हाललाई हल भएको भए पनि व्यावसायिक अन्तरिक्ष उद्योगमा हाइप्रोफाइल बीचको लडाइ आगामी वर्षहरूमा पनि निरन्तर चलिरहने पक्का छ ।
सिएनएनको सहयोगमा
प्रतिक्रिया 4