+
+
कभर स्टोरी :

वैदेशिक रोजगारीमा देश अनुसार व्यवहार : भारतमा बेपत्ता नेपालीको खोजीसम्म पनि हुन्न

वैदेशिक रोजगारीमा खाडी वा मलेशिया पठाउन हरप्रयास गर्ने सरकार आफैंले खोजेर भारतमा काम गर्न गएका नेपाली बेपत्ता हुँदा वा उनीहरूले मृत्युवरण गर्दा थाहासम्म पनि पाउँदैन । रोजगारीका लागि भारत गएर हराउनेहरूको परिवारले भोगेको भुक्तमान ।   

जनक विष्ट जनक विष्ट
२०७८ पुष ३० गते २०:३०
भारतमा बेपत्ता मुकेश सुनारका बुवा-आमा लालबहादुर र मनकला ।

३० पुस, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गाउँ डोटीको केआईसिंह गाउँपालिका–६ की पद्मा बेलाल अहिले ३९ वर्षकी भइन् । १७ वर्षकी छँदा उनलाई आमाबुवाले गाउँकै गोपाल बेलालसँग विवाह गरिदिएका थिए । उनी भन्छिन्, ‘हाम्रो समाजमा छोरी मान्छेले आमाबुवाले विवाह गरेर पठाएको घरमा जस्तोसुकै भए पनि सुख–दुःख गरेर खानुपर्छ भन्ने चलन छ । मैले पनि आमाबुवाकै राजीखुशीमा बेलालसँग सुख, दुःख गर्दै जीवन कटाउँदै आएकी थिएँ ।’

श्रीमान् गोपाल भारतमा मजदूरी गर्न आउने–जाने गर्दथे । पद्मा घरमा मेलापात गर्दै वृद्धवृद्धा सासू–ससुरालाई सघाउने गर्थिन् । घरकी एक्लो बुहारी भएका कारण पनि प्रायः सबै कामकाज उनकै काँधमा थियो । विवाह गरेको केही वर्षपछि उनले पहिलो सन्तान छोरी जन्माइन् । ती छोरी अहिले २१ वर्षकी भइन् । त्यसपछि पनि तीन छोरी (हाल १७, १८ र १४ वर्ष) हरू जन्माइन् । गोपाल बेलालसँग विवाह भएको करीब ६ वर्षको अन्तरमा उनले चार छोरीलाई जन्म दिइसकेकी थिइन् ।

यो बेलासम्म श्रीमान् गोपाल भारतमा मजदूरी गर्न जाने–आउने गर्थे । अन्तिम पटक सबभन्दा कान्छी छोरी (हाल १४ वर्षकी) पाँच महीनाकी छँदा भारत पसेका गोपाल एकाएक सम्पर्कविहीन भए । पहिले पहिले गाउँकै पीसीओ फोनमा कहिलेकाहीं सम्पर्क गर्ने गोपालको अहिलेसम्म अत्तोपत्तो छैन । उनी भारतको पन्जाबबाट हराएको २०७८ मंसीरमा १४ वर्ष पुग्यो । श्रीमान् बेपत्ता भएको चौथो वर्षमै ससुरा पनि बिते । पद्माको परिवारमा एकपछि अर्को विपत्ति थपियो ।

वैदेशिक रोजगारीमा विदेशमा मृत्यु हुनेहरूलाई नेपाल ल्याउन सक्रिय हुने नेपाल सरकार भारतमा बेपत्ता हुने, मृत्यु हुनेहरूको हकमा थाहा नपाए झैं गरेर बस्छ

गोपाल घर फर्किने बाटो कुर्दै बसेकी पद्मा ससुराको सहयोगमा दुःखसुख चार छोरीहरूको पालनपोषण गरिरहेकी थिइन् । तर, मान्छेले सोचेका सबै कुरा कहाँ पूरा हुन्छन् र ? श्रीमान् बेपत्ता र ससुराको निधनपछि चार जना छोरी र वृद्धा सासूको स्याहारसुसार गर्ने जिम्मेवारी पद्माकै काँधमा आइपर्‍यो ।

‘श्रीमान्को बाटो हेर्दै मेलापात गर्दै छोरीहरूको पेट पाल्न ज्यालामजदूरी गर्न थालेको १४ वर्ष बितिसक्यो तर खै श्रीमान् फर्किन्छन् कि फर्किंदैनन् थाहा छैन । तैपनि आशाको त्यान्द्रो अझै जीवितै छ’ १२ पुस दिउँसो आफ्नै घर आँगनमा अनलाइनखबरसँग कुरा गर्दै पद्माले भनिन्, ‘जिउँदो/मरेको केही खबर आएको छैन । सिउँदोमा सिन्दुर र रातो लुगा लगाएकै छु ।’

भर्खरै पद्माले जेठी छोरीको विवाह गरिदिइन् । अरू तीन छोरीहरू कक्षा १०, ९ र ६ मा पढ्दैछन् । अब त दुःख अलिक कम होला कि जस्तो लागेको छ उनलाई । तर छोरीहरू आफ्नो खुट्टामा नउभिंदासम्म दु:खै छ । आज आउलान्, भोलि आउलान् भनेर बसेकी पद्मालाई श्रीमान्को खोजीका लागि प्रहरी प्रशासन लगायत निकायसम्म जानुपर्छ भन्ने पनि चेतना छैन ।

केही वर्ष अगाडि स्थानीय केशव नाथले खोजीका लागि भन्दै श्रीमान्को फोटो लगायत कागजपत्र घरबाट लिएर गएका थिए । पद्मा भन्छिन्, ‘खै उनले ती कागजपत्र कहाँ बुझाएका छन् थाहा छैन ।’  ‘श्रीमान्को बाटो हेर्दाहेर्दै आधा जिन्दगी बितिसक्यो’ पद्माले भनिन्, ‘अब खोजीका लागि कसलाई भन्नु, हामी जस्ता पैसा नहुने मान्छेलाई कसले हेर्छ र ?’

उनीसँग श्रीमान्को नागरिकता बाहेक फोटोसम्म छैन । भारतमै रोजगारी गरेको पृष्ठभूमि भएका गाउँकै मान्छे प्रदेश सरकारको मुख्यमन्त्री भएको उनलाई थाहा छ तर कुनै सहयोग पाएकी छैनन् । ‘मुख्यमन्त्री हाम्रै गाउँपालिकाको हुनुहुन्छ भन्ने सुनेकी छु तर उहाँलाई देखेको छैन । श्रीमान्को खोजीका लागि पहल गरिदिनुभए हुन्थ्यो’, उनी भन्छिन् ।

स्थानीय गैरसरकारी संस्था निड्स नेपालका भनाइमा पद्माका श्रीमान् मात्रै होइन यसरी भारतमा बेपत्ता हुनेहरू धेरै छन् । निड्स नेपालका भनाइमा मुख्यमन्त्रीको घर रहेको केआईसिंह गाउँपालिकाबाट मात्रै रोजगारीका लागि भारत गएका १८ जना नेपाली वर्षौंदेखि भारतमा बेपत्ता छन् ।

****

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँकी प्रियंका काफ्लेलाई बुवा शिवराज कामका लागि भारत आउने–जाने गरेको अझै सम्झना छ । उनी ८ वर्षकी हुँदा २०६५ सालमा बुवा कामका लागि भारतको दिल्ली गएको उनलाई थाहा छ । प्रियंका अहिले २१ वर्षकी भइन्, बुबा फर्किएका छैनन् ।

प्रियंकाले अनलाइनखबरसँग भनिन्, ‘बुवालाई नदेखेको पनि १३ वर्ष पुग्यो । भारत गएको केही समय परिवारसँग सम्पर्कमै हुनुहुन्थ्यो रे त्यसपछि एकाएक सम्पर्कविहीन हुनुभएछ । एक वर्षसम्म भारत जाने/आउनेहरूले देखेको कुरा बताउने गरे पनि १३ वर्षदेखि भने कसैले पनि भेटेका छैनन् ।’

शिवराज भारतमा बेपत्ता भएपछि प्रियंका सहितका तीन जना छोरीको पालनपोषणको जिम्मेवारी आमा अमृताको काँधमा आयो । उनले सुख, दु:ख गरेर हुर्काएका तीन छोरीहरू अहिले २१, १८ र १२ वर्षका भए ।

‘हामी सानै भएकाले आमाले हाम्रो हेरचाह र पालनपोषणमा सबै समय बिताउनुभयो । उहाँले दुःख गरेर हुर्काउनुभयो’ प्रियंकाले भनिन्, ‘उहाँलाई बुवाको खोजीमा कतै धाउने फुर्सद नै भएन । फेरि फर्किहाल्नुहुन्छ भन्ने आशमै यत्रो वर्ष बित्यो ।’

प्रियंका र उनका बहिनीहरू कुरा बुझ्ने भएपछि बुवाको अभाव महसूस गर्न थाले । केही वर्ष अगाडि प्रियंकालाई बुवाको खोजी गर्नुपर्छ भन्ने लाग्यो । उनी विवरण लिएर स्थानीय प्रहरी कार्यालय पुगिन् । प्रहरीले भारतमा बेपत्ता भएका व्यक्तिको हकमा वडा कार्यालयको सिफारिश र पत्रिकामा सम्बन्धित व्यक्तिको फोटो सहितको सूचना लिएर निवेदन दिन आग्रह गर्‍यो । तर पत्रिकामा बुवाको फोटो सहितको सूचना छाप्न पैसा चाहिन्थ्यो । त्यो नभएर थुप्रै महीना त्यत्तिकै भयो ।

केही समयअघि उनले पत्रिकामा सूचना छापिन् । अहिले वडा कार्यालयबाट सिफारिश समेत लिइसकेकी छन् । तर प्रहरीमा भने निवेदन दिएकी छैनन् । एकल रूपमा दिइने निवेदनका भरमा बुवा भेटिएलान् भन्ने विश्वास नभएर पनि उनलाई प्रहरी प्रशासनमा धाउन मन लागेको छैन ।

‘कामको सिलसिलामा भारतमा गएर मेरो बुवा जस्ता हजारौं नेपाली बेपत्ता भएका छन्’ प्रियंका भन्छिन्, ‘अरू देशमा गएर हराउनेहरूलाई सरकारले खोज्छ भने भारतमा हराउनेको बारेमा किन खोज्दैन ? अरूको खोजी गरे जस्तै मेरा बुबाको पनि खोजी–नीति गरोस् यो सरकारले ।’

भारतमा हराउनेहरूका सम्बन्धमा सरकारले चासो दिनुपर्ने उनीहरूको माग छ । अब सरकारले सशस्त्र द्वन्द्वकालदेखि हालसम्म भारतमा बेपत्ता भएका नेपालीको तथ्यांक संकलन गरेर परराष्ट्र मन्त्रालयबाट भारतीय दूतावाससँग खोजीका लागि पहल थाल्न ढिलो गर्नुहुँदैन । भारतमा बेपत्ता भएका र मृत्यु हुने परिवारका लागि सरकारले नीतिगत रूपमै उचित सेवा–सुविधाको व्यवस्था गर्नुपर्ने प्रियंकाको माग छ ।

****

१२ वर्षअघि कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० का सुनिल सुनार छिमेकी समेत रहेका भिनाजु पर्नेको उक्साहटमा लागेर १४ वर्षको उमेरमा पढाइ छाडेर भारत पसे । भिनाजुले नेपालमा पढाइ–लेखाइ गरेर केही नहुने बरु भारतमा काम गरे राम्रो कमाइ हुने भनेर लोभ्याएपछि उनी घरपरिवारसँग सरसल्लाह समेत नगरिकन भारत गए । त्यसबेला उनी ६ कक्षामा पढ्दै थिए ।

भक्तबहादुर सुनार

बुवा भक्तबहादुर कुखुरा व्यवसायी थिए । छोरा सीमावर्ती बजार गएका होलान् र केही दिनमै फर्किहाल्छन् भन्ने विश्वासले उनले तत्काल खोजी गरेनन् । तर जब एक जना छिमेकीले सुनिल टनकपुरबाट बस चढेर जाँदै गरेको खबर सुनाए त्यसपछि उनी छोराको खोजीमा लागे ।

प्रहरीमा अनुसन्धानका लागि भन्दै छोरालाई ललाईफकाई भारत पठाउने ज्वाइँ नाता पर्ने व्यक्ति विरुद्ध भक्तबहादुरले निवेदन दिए । उनलाई तत्कालीन समयमा स्थानीय प्रहरीले नियन्त्रणमा समेत लियो । ती व्यक्तिले आफूले नै सुनिललाई भारत पठाएको स्वीकार गरे । दुई–तीन दिनमा आफूले सुनिललाई जसरी पनि घर ल्याउने प्रतिबद्धता जनाएपछि प्रहरीले छोडिदियो । त्यसपछि पनि पटक–पटक भक्तबहादुर ज्वाइँले आफूसँग गरेको प्रतिबद्धता अनुसार छोरा नल्याइदिएको भन्दै प्रहरीकहाँ पुगे तर प्रहरीले वास्ता गरेन ।

स्थानीयस्तरका नागरिक अगुवाहरूले समेत ती व्यक्तिमाथि अनावश्यक दबाव नदिन आग्रह गरेपछि सुनार पछि हटेका थिए । त्यसपछि सुनार आफैं छोराको खोजीका लागि भन्दै घरबाट हिंडे । दोधारा–चाँदनी नगरपालिकासँग सीमा जोडिएको सीमावर्ती बजार मेलाघाटदेखि दिल्लीसम्म खोजी गर्दा समेत उनले छोरो भेट्टाउन सकेनन् ।

‘छोराको १४० वटा फोटो प्रिन्ट गरेर नेपाल र भारतीय प्रहरी मार्फत ठाउँ–ठाउँमा हुलिया कटाउन लगाएको थिएँ’ सुनारले अनलाइनखबरसँग भने, ‘म आफैं खोजीका लागि रुद्रपुर, गिछा, सितारगन्ज, गुडगाउँ, टनकपुर, दिल्ली लगायत बजार पुगेर प्रत्येक ठाउँमा खोजी गरें तर फेला परेन ।’

त्यसबेला उनले भारतीय पत्रपत्रिकामा समेत छोराको फोटो छापेर खोजीका लागि आह्वान गरेको तर कुनै उपाय नलागेको बताए । ‘खटिमा बजारमा त्यहाँका मानिससँग मेरो राम्रो चिनजान भएकाले उनीहरूको सहयोगमा हरेक होटल र घरहरूमा खोजी गर्दा पनि फेला पार्न सकिएन’, उनले भने ।

सुनिल सुनार

१२ वर्षदेखि छोराको खोजीमा उनले करीब तीन लाख रुपैयाँ सिध्याए । जति प्रयास गर्दा पनि छोरो भेट्टाउन नसकेपछि निराश भएको सुनार परिवार धामी–झाँक्री कहाँ धाउन थालेको पनि वर्षौं भयो ।  ‘देवी–देवतालाई सोध्दा छोरो जीवितै छ; चाँडै घर फर्किन्छ भन्छन्’ सुनारले भने, ‘तर १२ वर्ष भइसक्यो अब कहिले फर्किएला र खै ?’ उनले छोराकै लागि भनेर कैयौं मन्दिरमा भाकल गरेको र ऊ घर फर्किएको दिन एक सय वटा बोका नै काट्ने पनि बताए ।

घरको जेठो छोरा भारतमा बेपत्ता भएको अवस्थामा कान्छो छोराले पनि केही महीना अगाडि भारतमै आत्महत्या गरेपछि सुनार झन् विक्षिप्त भएका छन् । आफ्नै पौरखमा बाँचिरहेको यो सुनार परिवारलाई बुढेसकाल कसरी धान्ने भन्ने चिन्ता छ ।

****

दोधारा–चाँदनी नगरपालिका–९ कै बडुवाल टोलका मुकेश सुनार पनि रोजगारीको खोजीमा करीब १२ वर्ष अगाडि भारत गएका थिए । गएयता उनी घर फर्किएका छैनन् । आमा मनकला र बुवा लालबहादुर सुनारले छोराको बाटो हेर्न थालेको १२ वर्ष भयो । घरको एक्लो छोरो बेपत्ता भएपछि बुहारी केही वर्ष सानो नाति लिएर माइतीमा बसिन् ।

मनकला सुनार

मुकेश नफर्किएपछि छोरालाई माइतीकै जिम्मा लगाएर उनले अर्को विवाह गरिन् । यसपछि सुनार दम्पतीले नातिलाई आफूहरूसँगै ल्याएर राखे । फेरि छोराको मावली पक्षले आफैं हुर्काउने भनेर लगे । सुनारका नाति अहिले १४ वर्षका भए । सानैदेखि मामाघर बसेकाले उनी आफ्नो घर आउन मान्दैनन् । उतै स्कूल पढ्दै छन् ।

‘छोरो बेपत्ता भएका बेला शरीरमा बल थियो । अब उमेर ढल्किंदै गयो’ लालबहादुरले अनलाइनखबरसँग भने, ‘बुढेसकालमा बूढाबूढीको सहारा थियो, कता हरायो । १२ वर्षदेखि पत्तो छैन । अब हामी कहाँ खोज्न जानु ?’

नाति हेरेर छोराको माया मार्ने इच्छा पनि नभएको होइन तर नाति घर आउन नमान्दा लालबहादुर दम्पती झनै दुःखित छन् । ‘छोरो अहिले कहाँ होला ? के गर्दै होला ? बिरामी हुँदा पीडा हुँदो हो’ आमा मनकलाले भक्कानिंदै भनिन्, ‘हामी मर्दा काजकिरिया पनि कसले गर्ने हो ? एउटा नाति थियो ऊ पनि हाम्रा लागि बिरानो भइसक्यो ।’

अलि सुस्तमनस्थितिका थिए मुकेश । तर लालबहादुर दम्पतीले छोरो घर फर्किने आशा भने अझै मारिसकेका छैनन् । ‘बेपत्ता भएको यतिका वर्ष भइसक्यो । अब हामीले त उसलाई कहाँ गएर खोज्नु’ लालबहादुर भन्छन्, ‘तर हाम्रो सत्य धर्मले एकदिन अवश्य फर्केर आउनेछ भन्ने आशा लिएका छौं ।’

****

यी केही उदाहरण मात्रै हुन् । सुदूरपश्चिमका ९ सहित नेपालका अन्य प्रदेशका विभिन्न जिल्लाका थुप्रै मानिस रोजगारीको खोजीमा भारत गएर उतै बेपत्ता भएका छन् । आश्चर्यको कुरा के भने वैदेशिक रोजगारीमा विदेशमा मृत्यु हुनेहरूलाई नेपाल ल्याउन सक्रिय हुने नेपाल सरकार भारतमा बेपत्ता हुने, मृत्यु हुनेहरूको हकमा थाहा नपाए झैं गरेर बस्छ । उसको नजरमा कामको खोजीमा भारत गएर मृत्यु हुने वा बेपत्ता हुनेहरू दोस्रो दर्जाका नागरिक हुन् । उनीहरूमाथि तीनै तहका कुनै पनि सरकारले खोजीनिती गर्दैनन् ।

सशस्त्र द्वन्द्वकाल यता मुलुक शान्ति प्रक्रियामा गइसकेपछि समेत गरेर ठूलो संख्यामा भारतमा नेपाली बेपत्ता भएका छन् । तर हालसम्म के–कति मानिस बेपत्ता भए ? उनीहरूको अवस्था के छ भन्ने सम्बन्धमा सरकारसँग कुनै जानकारी समेत छैन ।

घरको सहारा बनेर उभिएका मानिस नै वर्षौंदेखि बेपत्ता भइदिंदा सम्बन्धित परिवारले अनेकन् अभाव र वेदनासँग बाँच्नुपर्ने बाध्यता छ । अभिभावकविहीनताको अवस्थामा भोग्नुपर्ने अनेकन् पीडाको तुलना अरू कुनै कुरासँग गर्न सकिंदैन । तर यति संवेदनशील विषयमा संघ, प्रदेश र स्थानीय कुनै सरकार पनि गम्भीर छैनन् ।

रोजगारीका लागि भारत जान लागेकाहरु कैलालीको गौरीफन्टा नाकामा । फाइल तस्वीर

सुदूरपश्चिममा आप्रवासनको क्षेत्रमा काम गर्दै आएको ‘निड्स नेपाल कञ्चनपुर’ ले २०७४ सालमा सुदूरपश्चिमका तीन स्थानीय तहमा र एउटा स्थानीय तहको दुई वटा वडामा मात्रै भारतमा रोजगारी गर्न गएका बखत बेपत्ता भएकाहरूको अवस्थाका बारेमा अध्ययन गरेको थियो ।

उक्त संस्थाका अनुसार, कञ्चनपुरको दोधारा–चाँदनी र पुनर्वास नगरपालिका, डोटीको शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाका दुई वटा वडाका गरेर २१८ जना भारतमा बेपत्ता भएको भेटिएका थिए । जस अनुसार सबैभन्दा धेरै शिखर नगरपालिकामा १०८ जना, दोधारा–चाँदनी नगरपालिकामा ५४ जना, पुनर्वास नगरपालिकामा ३७ जना र केआईसिंह गाउँपालिकाको दुई वडामा १८ जना बेपत्ता छन् ।

बेपत्तामध्ये थोरैमा ३ र धेरैमा २५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका व्यक्तिहरू पाइएको निड्स नेपालले जनाएको छ । यो संख्यालाई आधार मान्ने हो भने सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट रोजगारीका लागि भारत गएर हराउनेहरूको संख्या ठूलो हुनसक्ने अनुमान गर्न सकिन्छ । तर व्यवस्थित अध्ययनको अभावमा अहिले नै भारतमा बेपत्ता हुनेहरूको यकिन तथ्याङ्क कसैसँग पनि छैन ।

सेवक नेपाल नामक गैरसरकारी संस्थाको रोजगारी परियोजनामा प्रतिनिधिका रूपमा चार वर्षअघि काम गरेको अनुभव भएका देव तालीम केन्द्र धनगढीका सञ्चालक रविनकान्त पन्त भारतमा रोजगारी गर्न जानेहरूको तथ्यांक कुनै पनि निकायसँग नहुनु र कसैले पनि नराख्नु नै सबैभन्दा प्रमुख समस्या भएको बताउँछन् ।

‘दूतावासदेखि प्रवासी संघहरूसँग नेपालबाट भारतमा काम गर्न जाने मानिसको आधिकारिक तथ्यांक छैन, त्यो कारणले यहाँबाट के–कति मानिस भारत गए भन्ने कुरा देखिंदैन’ पन्तले अनलाइनखबरसँग भने, ‘त्यसैले त्यहाँ कसैको मृत्यु भयो । कोही आपराधिक गतिविधिमा परे, कसैलाई बन्धक बनाएर राखियो भने पनि उनीहरूका बारेमा थाहा हुँदैन ।’

अब सुदूरपश्चिमका प्रत्येक वडा तथा गाउँहरूमा भारतमा रोजगारी गर्न गएकाहरूको विवरण संकलन गर्नुपर्ने खाँचो रहेको र यसमा ढिलाइ गर्नु नहुने पन्तको भनाइ छ । ‘भारत गएर ठूूलो संख्यामा हाम्रा दाजुभाइ दिदीबहिनी बेपत्ता भएको कुरा साँचो हो’ पन्त भन्छन्, ‘यिनै मानिस तेस्रो मुलुक गएमा व्यवस्थित तथ्यांक र उनीहरूको खोजी हुने तर भारत जानेहरूको तथ्यांक समेत नहुने यो मिल्दो कुरा भएन ।’ सरकारले देशभन्दा बाहिर जाने सबै नागरिकको विवरण अनिवार्य राख्नुपर्ने उनको सुझाव छ ।

मानवअधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशी संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको हरेक नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारको जिम्मेवारी राज्यले लिनुपर्ने बताउँछन् । आफ्ना नागरिक जुनसुकै देशमा भए पनि अभिभावकको हिसाबले उनीहरूको संरक्षण र मानव अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुने उनको भनाइ छ ।

‘शक्ति, सत्ता र वैधता भएपछि बल्ल त्यो सरकार हुुन्छ । यी कुराहरू भएमा राज्यसँग कानूनी वैधता, अन्तर्राष्ट्रिय सम्बन्ध पनि हुने भएकाले आफ्ना नागरिकको संरक्षण गर्नू उसको जिम्मेवारी हो’, जोशीले अनलाइनखबरसँग भने ।

नेपालसँगको खुला सिमाना र सन् १९५० को शान्ति तथा मैत्री सन्धिका हिसाबले थुप्रै नेपाली भारत र भारतका मानिस नेपालमा रोजगारी गर्दै आएका छन् । केही संघ–संस्थाले सानो मात्रामा गरेको अध्ययन अनुसार भारतमा काम गर्न गएका धेरै मानिस त्यहाँ बेपत्ता भएको पाइएकाले उनीहरूको स्थिति अज्ञात रहन नदिनु सरकारको जिम्मेवारी हो ।

‘भारतमा हराइरहेका मानिसको सन्दर्भमा राज्य बेखबर छ । उनीहरूको अवस्था अज्ञात हुँदा घरपरिवार पनि बिचल्लीमा परेको दयनीय स्थिति छ’ जोशीले भने, ‘मानवअधिकारको दृष्टिकोणले उनीहरूको खोजी गर्ने तथा अवस्था सार्वजनिक गर्ने र परिवारको कल्याणका लागि काम गर्ने जिम्मेवारी राज्यको हो ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?