+

अप्रेसन थिएटरभित्र डा.अरुण केसी

२०७८ माघ  १ गते १८:२१ २०७८ माघ १ गते १८:२१
अप्रेसन थिएटरभित्र डा.अरुण केसी

१ माघ, काठमाडौं । अप्रेसन थिएटरभित्र अविराम घण्टौंसम्म उभिएर कुनै रोगीको शल्यक्रिया गरिरहँदा एउटा डाक्टरको मनोदशा कस्तो हुन्छ ?

अत्यास लाग्छ ? करुणा जाग्छ ? पीडाबोध हुन्छ ? दिक्दारीले सताउँछ ? डर लाग्छ ?

एउटा मान्छेको सग्लो शरीरमा कैंची र छुरा चलाइरहँदा उनीहरुको मनमा के कस्ता भाव आउँछ ? त्यस क्षणमा आफ्नो खातिर उनीहरुले केही सोच्न भ्याउँछन् ? घर-परिवार अनि बालबच्चाको याद आउँछ ?

आम मनमा जाग्ने यो उत्सुकता लिएर हामी डा. अरुण केसीकहाँ पुग्यौं । वीर अस्पतालको नाक कान घाँटी (ईएनटी) विभागमा उनी पूर्ववत् काममा तल्लीन थिए । बिरामी जाँच्ने, परामर्श दिने, औषधि उपचार सिफारिस गर्ने । बितेको पाँच वर्षदेखिको उनको यो नियमित दैनिकी हो ।

‘जब हामी कुनै बिरामीको अप्रेसन गरिरहेका हुन्छौं, त्यसबेला अप्रेसनमा यसरी फोकस्ड भएका हुन्छौं कि आफूलाई समेत बिर्सिरहेका हुन्छौं,’ उनले सुनाए ।

अप्रेसन थिएटरभित्र उनले यति समय गुजारिसकेका छन्, जति उनले आफ्नी छोरीसँग पनि बिताएका छैनन् । पाँच वर्षकी छोरीसँग धित मर्नेगरी खेलेका छैनन् । के अप्रेसन थिएटरभित्र कुनै शल्यक्रिया गरिरहँदा यदाकदा उनलाई छोरीको यादले सताउँछ ?

‘अँह, त्यस्तो हुँदैन,’ डा. केसी भन्छन्, ‘अप्रेसन गरिरहँदा हाम्रो पाँचै इन्दि्रय मात्र होइन मन र मस्तिष्क पनि त्यसै काममा केन्दि्रत हुन्छ । त्यसैले त पाँच-छ घण्टाको अप्रेसन गरिरहँदा पनि हामीलाई समय बितेको पत्तै हुँदैन ।’

भनिन्छ नि, सन्तोष भन्दा ठूलो सुख केही छैन । एउटा शल्य-चिकित्सकले त्यसबेला अपार सुखबोध गर्छन्, जब कुनै शल्यक्रिया सफल हुन्छ । र, यो सुखद् सन्देश बोकेर उनीहरु अप्रेसन थिएटरबाट बाहिर निस्कन्छन्

डा. केसीले अहिलेसम्म कति जनाको शल्यक्रिया गरेका छन् ? ठ्याक्कै उनीसँग यसको हिसाब-किताब छैन । हिसाब राखेर साध्य पनि छैन । किनभने हप्तामा औसत तीन जनासम्मको त जटिल शल्यक्रिया गर्नुपर्छ । यो क्रम विगत १० वर्षदेखि जारी छ ।

यसो भनौं, आजका मितिसम्म उनका यी हातले हजारौं शल्यक्रिया गरिसकेका छन् । जटिल प्रकृतिका शल्यक्रिया गर्न घण्टौं लाग्छ । भर्खरै मात्र घाँटीमा समस्या देखिएका एक जना विदेशमा बस्ने नेपालीको शल्यक्रिया गर्नुपर्ने भयो उनले । घाँटीमै प्वाल पारेर शल्यक्रिया गर्नुपर्ने, जुन निकै जोखिमपूर्ण थियो । सो शल्यक्रिया गर्न डा. केसीको नेतृत्वमा खटिएको चिकित्सक टिमलाई लगभग ९ घण्टा लाग्यो ।

‘तपाईंको बिरामीको अप्रेसन सक्सेस भो’

अधिकांश शल्यक्रिया औसत तीन-चार घण्टाको हुन्छ । कुनै शल्यक्रिया गरिरहँदा त्यसको जटिलता बढ्न सक्छ । कुनै सोचेभन्दा सहज पनि हुनसक्छ । आखिर जे भएपनि शल्यक्रियाका क्रममा एउटा चिकित्सक यतिविध्न केन्दि्रत हुँदा रहेछन्, जहाँ आफ्नै जीवनको पनि ख्याल हुँदैन ।

जब बिरामीलाई अप्रेसन थिएटरभित्र प्रवेश गराइन्छ, बाहिर उनका आफन्त (कुरुवा)को हरेक पल छटपटीमा बित्छ । घडीका काँटाहरु अति सुस्त लाग्छ । समय नै चल्न बिर्सिएझैं भान हुन्छ । आफ्नो बिरामीको अवस्था के होला ? यो प्रश्नले उनीहरुलाई हरदम बेचैन बनाइरहन्छ ।

त्यस क्षण अप्रेसन थिएटरबाट निस्किएर एउटा डाक्टरलाई यसो भन्नु बडो आनन्द आउँछ, ‘तपाईंको बिरामीको अप्रेसन सक्सेस भयो । अब तपाईंले बिरामीलाई भेट्न सक्नुहुन्छ ।’

भनिन्छ नि, सन्तोष भन्दा ठूलो सुख केही छैन । एउटा शल्य-चिकित्सकले त्यसबेला अपार सुखबोध गर्छन्, जब कुनै शल्यक्रिया सफल हुन्छ । र, यो सुखद् सन्देश बोकेर उनीहरु अप्रेसन थिएटरबाट बाहिर निस्कन्छन् ।

‘भर्खरै मात्र ८-९ घण्टा लगाएर जुन व्यक्तिको अप्रेसन गरियो, त्यो सफल भएपछिको क्षण हामी यति खुशी भएका थियौं कि त्यस्तो खुशी अरुबेला शायदै मिल्छ,’ यसो भनिरहँदा डा. अरुणको अनुहारमा बेग्लै आभा पोतिन्छ ।

बिरामी फगत रोगी शरीर मात्र होइन

‘बिरामीप्रतिको लगाव, सहानुभूति र प्रेम डाक्टरको कमजोरी हो । किनभने डाक्टरको लागि बिरामी भनेको फगत रोगी शरीर हो,’ राजकुमार हिरानी निर्देशित हिन्दी चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’मा चिकित्साशास्त्रका एक प्राध्यापक भन्छन् । के चिकित्सकका लागि बिरामी भनेको रोगी शरीर मात्र हो ? बिरामीप्रति चिकित्सकको कुनै भावनात्मक लगाव हुँदैन ?

डा. केसीले जतिपनि बिरामीलाई उपचार गरे, ती सबैसँग एक किसिमको भावनात्मक सद्भाव जोडियो । ‘एउटा बिरामीको उपचार गरिरहँदा हाम्रो मनले स्वतःस्फूर्त उनको स्वास्थ्यलाभको कामना पनि गरिहेको हुन्छ,’ डा. केसी सुनाउँछन्, ‘किनभने कुनै बिरामी निको भएर खुशी हुँदै घर फर्केको देख्दा हामी बढी आनन्दित हुन्छौं ।’

उनले बोध गरेका छन्, चिकित्सकको हृदय कहिल्यै स्थिर र शान्त हुन पाउँदैन । बिरामीको पीडा र चित्कारले घेरिएको उनीहरुको दैनिकी सधैं धपेडी अनि तनावमा हुन्छ । ‘त्यसैले त चिकित्सकहरुको आयु औसतभन्दा कम हुनेगर्छ,’ डा. केसीले यो प्रसंग सुनाइरहँदा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा तोडफोड भएको खबर फैलिएको थियो । ‘डाक्टरहरु भागाभाग भएछन्,’ उनले सुनाए, ‘यो वास्तवमै अपजसे पेशा हो ।’

कोही खुट्टा ढोग्छन्, कोही कोसेली ल्याउँछन्

अस्पतालको चौघेराभित्र उनले आफ्नो भविष्य बिछ्याएका छन् । यो नै उनको आफ्नो संसार हो । रोग पहिल्याउनु, उपचार गर्नु उनको कर्म हो, धर्म पनि । आज उनका यी हातहरुले हजारौंलाई रोगमुक्त बनाएको छ । यो भन्दा परम् आनन्द अरु कहाँ छ र ?

मधेशी मूलकी एक महिलाको स्वरयन्त्रमा गम्भीर समस्या थियो । श्रीमानले उनलाई उपचारका लागि वीर अस्पताल ल्याए । उनको उपचारमा डा. केसीको टोली खटियो । एक चरणको शल्यक्रिया भयो । उनीहरु घर फर्किए ।

समस्या पूर्णतया टरेको थिएन । उनको थप शल्यक्रिया र उपचार बाँकी नै थियो । यी दम्पती आफैंमा विपन्न थिए । भरपेट खान पनि नपुग्ने । तर, दोस्रो पटक उपचारका लागि आउँदा उनले डा. केसीका लागि गाउँबाट कोसेली पनि बोकेका रहेछन् ।

‘कुनै पनि बिरामीले दिएको कोसेली थाप्नु चिकित्सकको इथिक्सले दिँदैन,’ डा. केसी सुनाउँछन्, ‘तर, त्यतिका टाढाबाट सम्झेर ल्याएका हुन्छन् कसरी नथाप्ने ?’

जब-जब डा. केसी इएनटी वार्डमा पुग्थे, ती पुरुष खुट्टा समाउन आइपुग्थे । उपचारपछि कति बिरामी र उनका आफन्तले उनीलाई यसरी नै श्रद्धापूर्वक स्पर्श गरेका छन् ।

केही समयअघि सुदूरपश्चिमका एक बिरामीको शल्यक्रिया गरेर घर पठाइदिए । निको भएपछि उनीहरु काठमाडौं आए, डाक्टर केसीलाई भेट्न । यतिबेला उनीहरुको हातमा एक बोतल मह पनि थियो । यसरी ल्याइदिएको कोसेली थाप्ने कि नथाप्ने ? डा. केसी अप्ठ्यारोमा पर्छन् । कोसेली थापौं, आफ्नो इमानले दिँदैन । नथापौं अरुको स्नेह र हार्दिकतालाई अस्वीकार गरेजस्तै हुने ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट एमबीबीएस सकाएपछि पहिलो पटक उनी चिकित्सक बोर पाल्पा पुगे । त्यहाँ उनले आफूलाई थप परिपक्क बनाउने मौका मात्र पाएनन्, स्थानीयवासीको न्यानो स्नेह र सद्भाव पनि पाए । ‘त्यसबेला म एकदमै उत्साहित थिएँ,’ डा. केसी नोस्टाल्जिक बन्छन्, ‘मेरो त्यो ऊर्जा, उनीहरुको त्यो प्रेम वास्तवमै म बयान गर्न सक्दिनँ ।’

आमाको मनोकांक्षा, छोरा डाक्टर बनोस्

खासमा उनी के बन्न चाहन्थे ?

सानो छँदा फुटबलमा औधी रुचि थियो । त्यसो त अहिले पनि उनको फुटबल मोह भंग भइसकेको छैन । उनी नियमितजसो फुटसल खेल्न जाने गर्छन् । डाक्टर नबनेको भए के उनी फुटबलर बन्थे ?

उनीसँग यसको ठोस जवाफ छैन । किनभने आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दा उनमा कुनै गुनासो रहेन । श्रीमद्भागवत गीतामा भनिएझैं ‘जे भयो ठीकै भयो’ ।

अस्पतालको चौघेराभित्र उनले आफ्नो भविष्य बिछ्याएका छन् । यो नै उनको आफ्नो संसार हो । रोग पहिल्याउनु, उपचार गर्नु उनको कर्म हो, धर्म पनि । आज उनका यी हातहरुले हजारौंलाई रोगमुक्त बनाएको छ । यो भन्दा परम् आनन्द अरु कहाँ छ ?

जब-जब कुनै बिरामी रोगमुक्त भएर उमंगित हुँदै अस्पतालबाट बिदा हुन्छन्, त्यसक्षण उनलाई आफ्नी आमाको आशीर्वाद प्राप्त भएको अनुभूति हुन्छ । आमा चाहन्थिन्, ‘आफ्नो कोखबाट जन्मिएका दुई छोरामध्ये एक डाक्टर होस् ।’

छोराछोरीलाई डाक्टर बनाउने इच्छा उनमा त्यसै पलाएको थिएन । लामो समय रोगसँग जुधिरहँदा शायद उनमा यस्तो भावना जागेको हुनुपर्छ । ‘आमा धेरै समय रोगसँग जुध्नुभयो, पछि उहाँको उपचार सुन्दरमणि दीक्षितले गरिदिए,’ डा. केसी सुनाउँछन्, ‘आफूलाई रोगबाट छुटकारा दिलाइदिएपछि उहाँलाई डाक्टरप्रति बढी नै भरोसा र प्रेम भयो ।’

आमाकै मनोकांक्षालाई पहिल्याउँदै उनले चिकित्सा विज्ञानको अध्ययन गरे । ‘मलाई चिकित्सक बनाउनमा मेरो परिवारको ठूलो साथ र सहयोग छ,’ डा. केसी भन्छन्, ‘त्यसमा पनि आमाको सद्भाव बढी छ ।’

आज उनी एक सफल चिकित्सक बनेका छन् । देशकै ठूलो वीर अस्पताललाई कर्मथलो बनाएका छन् । आर्थिक अवस्था कमजोर भएका, निमुखा, विपन्न बिरामीहरु उपचारका लागि यहीं आइपुग्छन् । यसरी आउने सयौं बिरामीको उपचारमा उनी अविछिन्न खटिन्छन् ।

एउटी आमाको लागि यो भन्दा ठूलो सन्तोषको कुरा के नै हुन्छ र ।

तस्वीर र  भिडियो : आर्यन धिमाल

अप्रेसन थिएटर डा.अरुण केसी
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय