+
+

संकटमा बेलायती प्रधानमन्त्री जोनसन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १५:१३

५ माघ, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । बेलायतमा लगाइएको पहिलो लकडाउनका बेला कार्यालयभित्रै विभिन्न समयमा मदिरासहित भोज आयोजना गरेको तथ्य बाहिरिएपछि पार्टीभित्र र बाहिर जोनसनको चर्को आलोचना हुन थालेको हो ।

जोनसनले समेत पहिलो लकडाउनका बेला प्रधानमन्त्री कार्यालयभित्र मदिरासहित भोज (पार्टी) आयोजना गरेको स्वीकारिसकेका छन् । उनले २०२० को मे महिनामा डाउनिङ स्ट्रिटस्थित कार्यालयमा भएको भोजका लागि माफी समेत मागेका छन् ।

जनतालाई लकडाउन गरेर घरभित्रै थुनेको, तर आफू भने मोजमस्ती गरेको तथ्य बाहिरिएपछि सत्तारुढ दल कन्जर्भेटिभ पार्टीका वरिष्ठ नेताहरूले जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन भनिरहेका छन् । केही दिन अघि स्कटल्याण्डका कन्जर्भेटिभ नेता डगलस रोससहित सत्तारुढ सांसद विलियम र्‍याग, क्यारोलिन नोक्स र रोजर गेललगायत नेताहरूले जोनसनको राजीनामा मागेका थिए । ‘उहाँ प्रधानमन्त्री हो र उहाँको सरकारले यी नियम लागू गरेको हो’, सांसद समेत रहेका नेता रोसले बीबीसीसँग कुरा गर्दै भनेका थिए, ‘उहाँ आफ्नो कार्यप्रति जवाफदेही बन्नुपर्छ ।’

सार्वजनिक तथा संवैधानिक मामिलाका अध्यक्षसमेत रहेका र्‍यागले लकडाउनमा भोज गरेका कारण जोनसन रक्षात्मक अवस्थामा पुगेको भन्दै राजीनामा दिन भनेका थिए ।

पार्टी काण्ड बाहिरिएपछि संकटमा परेका जोनसनविरुद्ध सत्तारुढ दलका सांसदले थप मोर्चाबन्दी कस्न थालेको बेलायती समाचार माध्यमले जनाएका छन् ।

सत्तारुढ कन्जर्भेटिभ दलका असन्तुष्ट सांसदले प्रधानमन्त्रीलाई दलको नेताबाट हटाउन चाहिने आवश्यक हस्ताक्षर संकलन गर्ने प्रयास गरिरहेको समाचारमा उल्लेख छ । मंगलबार मात्रै सत्त सत्तारुढ दलका झण्डै १५ प्रतिशत सांसदले जोनसनलाई पदबाट राजीनामा दिन भनेका छन् । बुधबार नै झण्डै २० जना सांसदले सामूहिक रुपमा जोनसनविरुद्ध अविश्वासको पत्र बुझाउने गोप्य तयारी गरेका छन् ।

प्रधानमन्त्रीलाई हटाउने गोप्य योजनामा लागेका २० सांसदमध्ये अधिकांश २०१९ मा निर्वाचित भएका हुन् । उनीहरूले गरेको भनिएको गोप्य लन्चमा सत्तारुढ दलभित्र नयाँ नेतृत्व चयनका लागि चाहिने आवश्यक संख्या पेश गर्नेबारे छलफल भएको बताइन्छ ।

जोनसनलाई दलको नेताबाट हटाउन भएको गोप्य योजनाको अगुवाई सांसद एलिसिया किअर्न्स र डेहेन्ना डेभिसनले गरेको बताइन्छ । एलिसियाको संलग्नताका कारण जोनसनविरुद्ध भएको कू प्रयासलाई ‘पोर्क पाइ प्लट’ समेत भनिएको छ ।  ‘उनको समय सकिएको छ’, एक जना सांसदले जोनसनलाई हटाउनु पर्ने दिन आएको भन्दै द टेलिग्राफलाई भने ।

कम्तिमा ५४ जना सांसदले हस्ताक्षरसहित अविश्वासको पत्र पेश गरेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने व्यवस्था छ । आइतबारसम्म ३५ जना जोनसनलाई दलको नेताबाट हटाउन सहमत भएका छन् । यदि आज थप २० जनाले हस्ताक्षरसहित पत्र पेश गरेमा कन्जर्भेटिभ पार्टीको नयाँ नेताका लागि चुनाव हुनेछ ।

प्रधानमन्त्रीलाई दलको नेताबाट हटाउने गोप्य योजना बाहिरिएपछि जोनसनका सहयोगीले उक्त योजनालाई ‘कू प्रयास’ भनेका छन् । ‘यो निकै घृणित कुरा हो । उनीहरू जोनसनकै कारण निर्वाचित भएका हुन्’, एक मन्त्रीलाई उदृत गर्दै द टाइम्सले लेखेको छ, ‘उनीहरू कोही होइनन् र केही गर्न सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?