+
+

सुदूरपश्चिमका अस्पतालमा कोरोनासँगै मौसमी फ्लूका बिरामीको चाप बढ्यो

जनक विष्ट जनक विष्ट
२०७८ माघ ६ गते १७:१७

६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणसँगै मौसमी फ्लूका बिरामीको चाप समेत बढ्न थालेको छ । विगत ४-५ दिनदेखि कैलाली र कञ्चनपुरमा बाक्लो हुस्सु र शितलहरका कारण बढेको अत्यधिक चिसोले अस्पतालहरुमा मौसमी फ्लूका बिरामीको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको हो ।

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक बढिमा साढे चार सय बिरामी उपचारका लागि पुग्न थालेका छन् । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पतालबाट तीन सय ५० जनाले ओपीडी र ५२ जनाले इमरजेन्सी सेवा लिएका छन्। जुन संख्या नियमित चेकजाँच गराउने आउनेहरुको तुलनामा धेरै हो ।

‘जाडोको समयमा पनि हामीकहाँ दैनिक दुई सयदेखि दुई सय ७५ जनासम्ममा उपचारका लागि आउने गरेका थिए,’ सूचना अधिकारी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर केही दिनदेखि साढे तीन सयदेखि चार सय जनाको हाराहारीमा बिरामी आइरहेका छन् । कोरोना भाइरस र चिसो मौसमको प्रभावको कारण हुनसक्छ ।’

उनका अनुसार मौसमी रुघाखोकी, बालबालिकामा निमोनियाको समस्या, वृद्ध वृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सेती प्रादेशिक अस्पताल मात्र नभएर कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा समेत मौसमी फ्लुका बिरामीको संख्यामा वृद्धि हुन थालेको छ ।

अस्पतालमा मौसमी रुघाखोकी, ज्वरो लगायतका समस्या लिएर भर्ना हुने बिरामीको चाप बढेपछि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

महाकाली प्रादेशिक अस्पतालकी सूचना अधिकारी उसा भट्टले अहिले दैनिक दुई सयदेखि दुई सय ५० जना विरामी उपचारका लागि आउने गरेको सुनाइन् ।

‘हामी कहाँ उपचारका लागि दैनिक दुई सयदेखि अढाई सय जना जति बिरामी भर्ना भइरहेका छन्,’ भट्टले भनिन्, ‘समान्य स्वास्थ्य समस्या भएका बिरामी पनि आउने गरेकाले कोरोना संक्रमणको जोखिम बढेकाले सूचना जारी गरेर अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छौँ ।’

उनकाअनुसार अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिएका कारण तत्काल अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । अहिले खासगरी मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापाखला, दम लगायतका समस्या भएका बिरामीको संख्यामा वृद्धि भएको छ ।

चिकित्सकहरुका भनाइमा कोरोना भाइरस र मौसमी फ्लुका बिरामीहरुमा मिल्दोजुुल्दा लक्षण देखिन थालेका कारण पनि मानिसहरु आत्तिएर उपचारका लागि अस्पताल पुुग्न थालेका छन् । तर चिकित्सकहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै सर्तकता अपनाउन आग्रह गरेका छन् ।

सेती प्रादेशिक अस्पतालका इमरजेन्सी वार्ड प्रमुख डाक्टर जगदिशप्रसाद जोशीले कोरोना संक्रमणसँगै मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीको संख्या बढेको बताउँदै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन् ।

‘कोरोना संक्रमणबाट बच्न मास्क, सेनीटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्नुुपर्ने कुरा सबैलाई थाहै छ,’ जोशीले भने, ‘मौसमी फ्लूबाट बच्ने साँझ बिहान अनावश्यक रुपमा बाहिर हिडडुल नगर्ने, चिसोबाट बच्ने, बालबालिका र बृद्धबृद्धाको ख्यालन गर्ने, तातोपानी पिउने गर्नुपर्दछ ।’

लक्षणका आधारमा मौसमी फ्लू र कोरोना भाइरसको संक्रमण छुट्याउन नसकिने भएपनि आत्तिन नपर्ने उनको भनाई छ । तर रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन र आर्युवेदिक औषधिको प्रयोग गर्न सकिने जोशी बताउँछन् ।

कोरोना भाइरसको शंका लागेमा तत्काल परीक्षण गराएर सुरक्षित बस्न समेत आग्रह गरिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?