
११ माघ, काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा नै बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । ३० पुससम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थियो । माघ ७ गते निक्षेप घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । यस अवधिमा भने वाणिज्य बैंकहरुले एक अर्ब रुपैयाँले ऋण बढाएका छन् ।
दशैंपछि लगानीयोग्य रकमको अभाव झेलेका बैंकहरुले स्थानीय तहको मौज्दातलाई निक्षेपमा गणना गर्न पाएपछि केही राहत महसुस गरेका थिए ।
२६ पुसको तथ्यांकमा एक सातामा नै सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । त्यसअघि ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए ।
त्यसबेला सातामा ५८ अर्ब रुपैयाँ निक्षेप थपिँदा ९ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको थियो । तर यो अवस्था एक सातासम्म पनि टिक्न सकेन । २६ पुसपछि लगातार निक्षेप घट्ने क्रममा रहेको पाइएको छ । निक्षेप घट्दै जाने र कर्जा विस्तार नरोकिने हो भने पुनः लगानी योग्य रकमको अभाव बैंकहरुले झेल्नु पर्नेछ ।
बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले दोस्रो त्रैमासको क्लोजिङको समय भएकाले निक्षेप घटेको बताए । पुस मसान्तमा दोस्रो त्रैमाससम्मको कर तिरिन्छ । कर तिर्न पनि धेरै पैसा गएकाले निक्षेप घटेको हुनसक्ने उनले बताए । तर यो विस्तारै सहज हुने उनको अनुमान छ ।
प्रतिक्रिया 4