+
+

कर्णालीमा घरघरमै बिरामी, परीक्षण गराउने न्यून

यज्ञ खत्री यज्ञ खत्री
२०७८ माघ ११ गते १९:५४

११ माघ, सुर्खेत । पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत २३ पुसमा परीक्षण गरिएको नमूनामध्ये २ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ११ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ६० प्रतिशत पुगेको छ ।

जनस्वास्थ्य विज्ञका अनुसार अबको दुई हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ तेस्रो साता उच्च विन्दुमा पुग्नेछ । त्यसपछि विस्तारै घट्दै जाने आकलन गरिएको प्रदेश अस्पतालका डा. केएन पौडेल बताउँछन् । ‘पछिल्लो समय घर घरमा संक्रमित छन्, ओमिक्रोन एकदमै छिटो सर्ने भाइरस हो । अबको दुई हप्ता संक्रमण दर ह्वात्तै बढ्छ’ उनने भने ।

डा. पौडेलका अनुसार रुघाखोकी, ज्वरो, घाँटी दुख्नेजस्ता कोरोना भाइरस संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामी अहिले सुर्खेतका घरघरमै देखिन थालेका छन् । उनीहरु मौसमी रुघाखोकी भन्दै घरेलु उपचार गरेर बसेका छन् ।

घरमा एक जनालाई देखा परेपछि परिवारमै संक्रमण हुनेको संख्या जिल्लाभर बढ्दो छ । अहिले जिल्लामा ९५३ जना संक्रमित होम आइसोलेसनमा छन् । रुघाखोकीका बिरामीमा एन्टिजेन परीक्षण गर्दा धेरैको पोजिटिभ रिपोर्ट आउने गरेको छ । ‘सामान्य रुघाखोकीका बिरामीको परीक्षण गर्दा पनि कोभिड पोजेटिभ देखिने गरेको’ डा. पौडेल बताउँछन् ।

रुघाखोकी लागेर अस्पताल आएकामध्ये धेरैले कोरोना परीक्षण गर्न नै मान्दैनन् । परीक्षण गराएका अधिकांशमा संक्रमण पुष्टि भएको पाइएको छ । ‘संक्रमण समुदायस्तरमा फैलिसकेको छ । बिरामीहरु प्रत्येक घरमा छन् । तर परीक्षण गर्न मान्दैनन्’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का भन्छन्, ‘ थाहा नपाएकाहरुले त थाहा पाएनन, तर जाने बुझेकाहरु नै अञ्जान बनिरहेको अवस्था छ ।’

प्रयोगशालामा न्यून परीक्षण

कर्णालीमा कोरोना संक्रमण दर ह्वात्तै बढेपनि परीक्षण भने निकै न्यून छ । कोरोना महामारीको दोस्रो लहर कम भएसंगै गत साउनदेखि बन्द गरिएका प्रयोगशाला अझै सञ्चालनमा आएका छैनन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैनिक ५० जनाको पनि पीसीआर परीक्षण हुन सकेको छैन । गत पुस २३ गते ३१ जनाको परीक्षण गरिएकोमा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि २९ गते ७ जनाको परिक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको थियो ।

त्यसको ६ दिनपछि माघ ५ गते ४१ जनामा पीसीआर परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै माघ ७ गते १७८ जनामा परीक्षण गर्दा १४५ जनामा पोजेटिभ देखिएको थियो । माघ ११ गते ५२ जनामा परीक्षण गर्दा ३३ जनामा पोजेटिभ देखिएका छन् ।

बिरामीले स्वाब नै दिन नमानेपछि परीक्षण पनि न्यून रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का बताउँछन् । ‘हामीले बिरामी खोज्दै स्वाब लिने गरेका छैनौं, बिरामी आफैंले खोज्दै स्वाब दिन मान्दैनन्, समस्या यहीँनिर छ’ उनले भने ।
संक्रमितको मृत्यु दर कम भएको र बिरामीको अवस्था पनि जटिल नहुने भएकाले धेरैले परीक्षण नै गर्न नचाहेको निर्देशक खड्का बताउँछन् ।

उनका अनुसार कोरोना संक्रमण परीक्षण गर्न कर्णाली प्रदेशमा चारवटा प्रयोगशाला छन् । चारमध्ये हाल प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मात्रै सञ्चालनमा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशाला सञ्चालनमा आउन सकेको छैनन् । नमुना संकलन नहुँदा तीनवटै प्रयोगशालामा परीक्षण हुन सकेको छैन ।

ओमिक्रोन भेरियन्ट पत्ता लाग्दैन

कर्णाली प्रदेशमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउन कर्णाली प्रदेशमा प्रयोगशाला छैन । कुनै शंकास्पद बिरामी भेटिए काठमाडौं पठाएर जिनसिक्वेन्सिङ गर्नुपर्ने लामो प्रक्रिया छ । तर, अहिलेसम्म त्यो प्रक्रिया पनि अपनाइएको छैन ।

कर्णालीमा भेटिएका कोरोना संक्रमितहरुमा लक्षणका आधारमा ओमिक्रोन संक्रमण भएको भनिए पनि अझैसम्म प्रयोगशालाबाट पुष्टि भइनसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसी बताउँछन् । ‘लक्षणका आधारमा ओमिक्रोन नै हो भन्न सकिन्छ, तर अहिलेसम्म पुष्टि गर्न स्वाब काठमाडौं पठाउनुपर्छ । हामीले अहिलेसम्म पठाउन सकेका छैनौं’ उनले भने ।

कोभिड– १९ उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कर्णालीमा भेटिएका नयाँ विरामी अघिल्लाभन्दा फरक प्रकृतिका छन् ।

‘तेस्रो लहरमा भेटिएका संक्रमितहरुमा ओमिक्रोनको लक्षण देखिन्छ । गम्भीर लक्षण देखिने तर, ३÷४ दिनमा आफैं निको हुने भइराखेको छ,’ प्रदेश अस्पतालका डा. नवराज केसी भन्छन्, ‘लक्षणका आधारमा यो नयाँ भेटियन्ट नै हो तर पुष्टि भने भएको छैन ।’

प्रदेशमा अहिले फैलिरहेको डेल्टा भेरियन्ट हो या ओमिक्रोन भन्नेबारे प्रदेशमै तत्काल परीक्षण गर्ने स्थिति नआउँदासम्म ढुक्क हुन सक्ने अवस्था नरहेको सूचना अधिकारी केसी बताउँछन् । यो समस्याको समाधान भनेको प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भएकाले यसलाई अझै सुविधा सम्पन्न बनाएर अगाडि बढ्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

महानगरपालिका मत परिणाम

छुटाउनुभयो कि ?