+
+
मोरङमा भेटियो दुई जनाको शव :

‘लेनदेन मिलाउन हिंडेका थिए, उखुबारीमा शव भेटियो’

प्रहरी भन्छ – शव गलाउन नुन प्रयोग गरेको देखियो

‘उहाँ परिवारसँग झापातिर लेनदेन मिलाउन भन्दै मंसिर पहिलो साता हिँड्नु भएको रहेछ’ स्रोत भन्छ, ‘घटनाबारे थाहा पाएर परिवार विक्षिप्त अवस्थामा रहेकाले विस्तृत बयान लिन पाएको छैन ।’

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ १३ गते २०:३५

१३ माघ, विराटनगर । मोरङको रंगेली–विराटनगर सडकखण्डको रामचोकबाट करिब चार किलोमिटर दक्षिणतर्फ लागेपछि पुगिन्छ कमलपुर गाउँ । यही गाउँको उत्तरतर्फ रहेको हनुमान चोकको मध्य भागतिर उखुबारी छ ।

धनपालथान गाउँपालिका-७ मा पर्ने यही ठाउँमा प्रहरीले उत्खनन गरेर दुई जना पुरुषको शव फेला पारेको छ ।

बुधबार दिउँसो उखु काट्न गएका किसानले भर्खरै खनिएको जस्तो लाग्ने खाल्डो र त्यसमा लतपतिएको रगत देखेपछि उखुधनी दिलिपप्रसाद सिंहलाई खबर गरेका थिए । उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर त्यसबारे जानकारी गराएका थिए ।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङबाट पुगेको टोलीले खाल्डो उत्खनन गर्दा बुधबार राति अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला पार्‍यो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार बुधबार रात परिसकेकाले अर्को खाल्डो बिहीबार खन्ने गरी सुरक्षित राखियो ।

‘आज (बिहीबार) ३० मिटरको दूरीमा रहेको अर्को खाल्डो उत्खनन गर्दा अर्को शव भेटियो, त्यहाँ त कपडा र कपाल बाहिरैबाट देखिएको थियो’ जिसीले अनलाइनखबरसँग भने, ‘अर्को खाल्डोमा अन्दाजी ४५/५० वर्षको पुरुषको शव थियो ।’

अनुसन्धानका क्रममा शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको खुलेको एसपी जिसी बताउँछन् । उनका अनुसार निकालिएको शवको साथमा रहेको कागजात अनुसन्धान गर्दा श्रेष्ठको सनाखत भएको हो । उनको घरमा पनि फोटो पठाएर सनाखत गरिएको छ ।

बुधबार एउटा शव उठाएको प्रहरीले बिहीबार चाहिँ तालिम प्राप्त कुकुर पनि घटनास्थलमा ल्याएको थियो । शवसँगै भेटिएको प्रमाण सुँघाएर छाडिएको तालिम प्राप्त कुकुर करिब सात सय मिटर दक्षिणसम्म हिँडेको थियो ।

स्रोतका अनुसार शव गाडिएको स्थान हुँदै निस्किएको कुकुर नहरको डिलैडिल दक्षिणतर्फ गएको थियो । कमलपुर वस्ती नजिकै रहेको कल्भर्टमा पुगेपछि चाहिँ कुकुरले ट्र्याक छाडेको थियो । ‘कुकुरले महत्वपूर्ण क्लू दिएको छ, अनुसन्धानका लागि यो एउटा महत्वपूर्ण माध्यम हो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

नुन हालेर शव गलाउने प्रयास

बिहीबार भेटिएको शवको पहिचान खुलेपनि बुधबार राति खाल्डोबाट निकालिएको शवको पहिचान खुलेको छैन । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने अवस्थामा छ । खनाखत नभई अनुसन्धानमा प्रहरीलाई जटिलता छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर दुवै शवको सनाखत नभएको भए समस्या हुन्थ्यो, एक जनाको सनाखत हुनुले पनि अनुसन्धानलाई गति दिइसकेको छ ।’

जिसीका अनुसार दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै छ । दुवै शवको घाँटीमा डोरीले बाँधेको जस्तो डाम देखिन्छ । बुधबार भेटिएको शवको हात बाँधिएको थियो । दुवै शव गाडिएको खाल्डोमा नुन पनि भेटिएको उनले बताए ।

‘शव छिटो सडोस् भन्नका लागि नुन हालेको देखिन्छ,’ प्रहरी अधिकृत भन्छन्, ‘बुधबार निकालिएको शव, १०/१५ दिन पुरानो जस्तो देखिन्छ, आज निकालिएको शव २०–२५ दिन पुरानो जस्तो देखिन्छ ।’

शव भेटिएको खाडल ।

प्रहरी स्रोतका अनुसार बिहीबार निकालिएको शवको खाल्डोको माटो दबेको थियो । खाल्डोभित्र शव घुडा टेकाएर राखेको अवस्थामा थियो । प्लास्टिकमा बेरिएको शवको बाहिरबाट कपडा देखिन्थ्यो । बुधबार भेटिएको शवलाई भने अनुहार तल पर्ने गरी राखिएको अवस्थाबाट निकालिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘खाल्डो मिलाएर खनिएको छ, सामान्य मान्छेले यस्तो खाल्डो खन्न सक्दैनन्,’ प्रहरी स्रोत भन्छ, ‘बिजुलीको पोल राख्नका लागि खनेजस्तो गहिरो खाल्डो खनेर शव गाडिएको छ ।’ शव गाडिएको स्थान नजिकै बाँसको भाटा पनि भेटिएको थियो ।

स्थानीय उखु कृषक दिलिपप्रसाद सिंहका अनुसार बुधबार खेतमा उखु काटानका लागि मजदूर खटाइएको थियो । ‘जनले (मजदुर) उखुबारी भित्र खाल्डो देखेपछि मलाई खबर गरे,’ उनले भने, ‘मलाई पनि शंका लागेपछि प्रहरीलाई खबर गरेँ ।’

लेनदेन विवाद कारण हुनसक्ने अनुमान

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार श्रेष्ठले कुनै समय धरानमा सुन पसल सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय जग्गा र प्लटिङ व्यवसाय गरे ।

‘उहाँ परिवारसँग झापातिर लेनदेन मिलाउन भन्दै मंसिर पहिलो साता हिँड्नु भएको रहेछ’ स्रोत भन्छ, ‘घटनाबारे थाहा पाएर परिवार विक्षिप्त अवस्थामा रहेकाले विस्तृत बयान लिन पाएको छैन ।’

लामो समयसम्म श्रेष्ठ गायब हुँदा पनि कुनै प्रहरी इकाइमा उनी हराएको उजुरी परेको छैन । प्रारम्भिक तथ्यहरु हेर्दा अपहरणमा परेको हुनसक्ने देखिए पनि लामो समयसम्म परिवारले पनि खोजी नगर्नुको कारण पनि प्रहरीले खोतलिरहेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृत चाहिँ लेनदेनको विषयमा कुरा नमिल्दा उनको अपहरणपछि हत्या भएको हुनसक्ने दाबी गर्छन् । ‘यद्यपि यो प्रारम्भिक अनुमान हो, विस्तृत अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ’ उनी भन्छन् ।

स्रोतका अनुसार अहिले प्रहरीले श्रेष्ठको मोबाइलको प्राविधिक अनुसन्धान थालेको छ । प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) मगाएको छ भने बीटीएस टावरका आधारमा घटनास्थल वरपर सक्रिय मोबाइलहरुको विवरण पनि मगाएको छ ।

‘प्राविधिक पक्षको विश्लेषणबाट पनि महत्वपूर्ण सुराक आउने अपेक्षा छ’ अनुसन्धान अधिकृतहरु भन्छन्, ‘मृत्युको विस्तृत कारण चाहिँ पोष्टमार्टमको प्रतिवेदनबाट खुल्ला ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?