+
+

के हो जसपाभित्रको बहस ?

मुखले मात्र बोलेर, दस्तावेजमा मात्र लेखेर पार्टीलाई समावेशी मान्न सकिन्न, पार्टी-सत्ता र राज्य-सत्ताको साझेदारीले मात्रै यसको पुष्टि गर्दछ। मधेश प्रदेश आफैं नै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण छ। मधेश प्रदेशमा जसपा शुरुदेखि नै सत्ताको नेतृत्वमा छ। के हामीले मधेश प्रदेशको सरकार र प्रशासनलाई समावेशिताको उदाहरण बनाउन सक्यौं ?

प्रशान्त सिंह प्रशान्त सिंह
२०७८ माघ १४ गते ११:२५

थुप्रै सञ्चारमाध्यमले जनता समाजवादी पार्टीभित्र नेतृत्वको विवाद भन्दै समाचार र विचार सम्प्रेषण गरिरहेका छन्। के जसपाभित्र कुनै विवाद नै भएको हो त ? कतिपय सञ्चारकर्मीहरूले यस ‘तथाकथित विवाद’ लाई पार्टीभित्रको नेतृत्वको लागिको संघर्षको रूपमा रिपोर्टिङ गरेको देखिन्छ। के साँच्चै नै यो नेतृत्व तहमा बसेका व्यक्तिहरूको अहम् र महत्वाकांक्षाको टकराव नै हो ? अथवा यो कुनै अर्कै समस्याको उपज हो ?

विवाद कि बहस ?

पहिलो कुरा, अहिले जसपामा भइरहेको चर्चा-परिचर्चा कुनै विवाद होइन, एक प्रजातन्त्रिक पार्टीको निर्माण क्रममा हुने एउटा वैधानिक बहस हो। कुनै पनि खुला र उदार समाजमा राज्य व्यवस्थाको निर्माण तथा व्यवस्थापन कसरी गर्नेबारे अनेक राजनीतिक विचारहरू हुने गर्दछन्। एक राजनीतिक पार्टी तिनै विभिन्न विचारहरूमध्ये एक खास विचारको संगठित अभिव्यक्ति हुन्छ। त्यस खास विचारको सूत्रधार, व्याख्याता तथा अभियन्ताहरूले पार्टीको नेतृत्व गर्दछन्।

जसपाले हाम्रो देशको पछौटेपनको मूल कारण राज्यले देशभित्रको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई स्वीकार नगर्नु र एकात्मक राज्य व्यवस्थालाई निरन्तरता दिनु हो भनी मान्दछ। विविधताले सजिएको हाम्रो देशभित्र बसोबास गर्ने सबै समुदायहरूलाई तिनको पहिचान, अधिकार र स्वाभिमानको प्रत्याभूति नगराउञ्जेलसम्म देशलाई साँचो अर्थमा समृद्ध बनाउन सकिंदैन भनी साझा विश्वास राख्ने नेता, अभियन्ता र व्यक्तित्वहरूद्वारा निर्मित पार्टी हो जसपा। एकात्मक राज्य व्यवस्थाको विरोध र विविधताको मान्यता र सम्मानको पैरवी गर्ने पार्टी हो जसपा।

मुखले मात्र बोलेर, दस्तावेजमा मात्र लेखेर पार्टीलाई समावेशी मान्न सकिन्न, पार्टी-सत्ता र राज्य-सत्ताको साझेदारीले मात्रै यसको पुष्टि गर्दछ। मधेश प्रदेश आफैं नै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण छ। मधेश प्रदेशमा जसपा शुरुदेखि नै सत्ताको नेतृत्वमा छ। के हामीले मधेश प्रदेशको सरकार र प्रशासनलाई समावेशिताको उदाहरण बनाउन सक्यौं ?

एकात्मक राज्य व्यवस्थाको विरोध र विविधताको पैरवीले उत्पीडित समुदायहरूको पीडा र क्रोधको अभियक्ति त गर्न सक्दछ, तर यस अभियक्ति मात्रले एक राष्ट्रिय पार्टीको एजेण्डालाई पूर्णता दिंदैन। एक जिम्मेवार राष्ट्रिय पार्टीले देशमा विद्यमान सम्पूर्ण समस्याको पहिचान र उठान मात्र हैन, तिनका व्यावहारिक समाधानहरूलाई पनि अगाडि सार्नुपर्ने हुन्छ ।

एकात्मकताको विरोध, विविधताको पैरवीबारे पार्टीमा कुनै विमति छैन। तर समावेशी राज्य र समृद्ध देश बनाउने लक्ष्यलाई कसरी प्राप्त गर्ने भन्ने बारेमा पार्टीभित्र पर्याप्त बहस हुनसकेको छैन। स्मरण रहोस्- जसपा निर्माण गर्ने अधिकांश नेताहरू विगतमा विभिन्न अलग अलग पार्टी र समूहसँग जोडिएका थिए, विभिन्न स्कूलिङबाट प्रभावित थिए। जसपा बनिसकेपछि पार्टीको साझा स्कूलिङ बन्न सकेको छैन।

साझा विचार, साझा सोचलाई समृद्धीकरण गर्न, साझा स्कूलिङको निर्माण गर्न चाहिने वैधानिक र खुला बहसको आवश्यकतालाई अगाडि सार्नु, पार्टीको कार्यनीति र रणनीतिमा स्पष्टता खोज्नुलाई विवादको संज्ञा दिन मिल्दैन। पार्टीको संगठनात्मक स्वरूपलाई पार्टीले अगाडि सारेको विचार र लक्ष्य अनुरूप बनाउन दबाब दिनु पार्टीको निर्माण र सबलीकरणका लागि गरिएको प्रयास मानिनुपर्दछ- यसलाई विवाद भन्न पटक्कै मिल्दैन।

पार्टीको औचित्य

म जस्ता जसपाका हजारौं साधारण कार्यकर्ताहरूको नजरमा जसपा देशको प्रगतिशील राजनीतिक यात्राको एक स्वाभाविक अध्याय हो। कांग्रेस र कम्युनिष्टहरूले उठाएका प्रगतिशील मुद्दालाई पुनर्जीवन दिंदै उत्पीडनका थप आयामहरूलाई सम्बोधन गर्न बनेको एक राजनीतिक शक्ति हो जसपा । स्थापनाकालको शुरूआती कालखण्डमा नेपाली कांग्रेसले हामी नेपाली प्रजा होइनौं, नागरिक हौं भनी स्थापित गर्न प्रयत्न गर्‍यो- स्वतन्त्रताको वकालत गर्‍यो।

शुरु-शुरुमा नेपालका कम्युनिष्टहरूले नागरिक-नागरिक बीचको वर्गीय असमानतालाई निस्तेज गर्नुलाई आफ्नो राजनीतिक अभीष्ट बनायो। तर दशकौंसम्म शाहवंशीय राजाहरूसँग सहकार्य गरिरहँदा यी पार्टीहरू कालान्तरमा नेपालको एकात्मक र दमनकारी शासकीय स्वरूपको सह-निर्माता (को-आर्किटेक्ट) बन्न पुगे। कांग्रेस र कम्युनिष्टहरूले आ-आफ्नो मुद्दामा इमानदारीका साथ अडिग रहेको भए, आ-आफ्नो मुद्दाहरूलाई समयानुसार झनै प्रगतिशील बनाएको भए शायद जसपा जस्तो पार्टीको आवश्यकता नै हुने थिएन। तर दुर्भाग्यवश त्यो भएन। कांग्रेस र कम्युनिष्टहरू जातीय र भाषिक एकात्मकताको पक्षमा उभिए- पार्टीभित्र पनि, राज्य व्यवस्थामा पनि। यी पार्टीहरूका हालै आयोजित महाधिवेशनहरूले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताको मुद्दाहरूलाई प्रतीकात्मक रूपमा मात्रै स्वीकार गरिएको देखियो- त्यो पनि संवैधानिक निर्देशनको जटिलतालाई ध्यानमा राख्दै।

राजनीतिक इमानदारी र व्यवस्थापकीय योग्यताको अभावमा नेपाल विश्वकै असफल, भ्रष्ट र गरीब देश बन्दै गइरहेको अवस्था छ। अर्कातिर देशका पुराना तथा जनाधार भएका बलिया पार्टीहरू आफ्नो प्रगतिशील एजेण्डाबाट विमुख हुँदै गइरहेका छन्। उदाहरणका लागि के नेपाली कांग्रेसले स्थानीय, प्रादेशिक र संघीय तीन तहको निर्वाचित सरकार बनिसकेपछि पनि चलिरहेको सिडिओ-राजलाई समाप्त गर्न सोच्न सक्दछ ?

स्मरण रहोस्- विद्यमान संविधानले जिल्लालाई राजनीतिका इकाईको रूपमा मान्यता दिंदैन। नागरिक स्वतन्त्रताको अनुभूतिको लागि प्रशासनिक अधिकारीहरूलाई जननिर्वाचित सरकारहरूको मातहत ल्याउनु संसारभरिको उदार लोकतन्त्रहरूमा अभ्यास भएको एक सामान्य राजनीतिक सुधार हो। उदाहरणकै लागि के हाम्रो देशका कम्युनिष्ट पार्टीहरूले गरीब जनतालाई निशुल्क र गुणवत्तापूर्ण आधारभूत शिक्षा र स्वास्थ्य सुविधा दिनलाई सोच्न पनि सक्दछन् ?

संसारभरिको कम्युनिष्ट शासन व्यवस्था भएका देशहरूमा तिनका अरु व्यवस्थाहरू बारे विपक्षी पूँजीवादीहरूले आलोचना गरे पनि तिनले जनतालाई दिएका आधारभूत शिक्षा र स्वास्थ्यको सुविधाको कुरा गर्दा प्रशंसा गर्न बाध्य हुने गर्दथे। सुविधा दिन त परै जाओस्, नेपालका कम्युनिष्टहरूद्वारा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी धन आर्जन गर्न प्रयोग गर्ने अयोग्य व्यक्तिहरूलाई राजनीतिक संरक्षण दिएको देख्नु एउटा सामान्य कुरा मानिन्छ।

आ-आफ्नो मौलिक विचार ‘नागरिक स्वतन्त्रता’ र ‘वर्गीय समानता’ लाई बिर्सिसकेका कांग्रेस र कम्युनिष्ट पार्टीहरूले झनै देशभित्रको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक तथा भौगोलिक उत्पीडनका बारे त के सोच्न सक्थे र ! पछिल्लो समयमा क्रान्तिकारी भनिने र उत्पीडनलाई नै मुद्दा बनाई जनयुद्ध समेत गर्ने माओवादी पार्टीको मूलधार पनि यिनै यथास्थितिवादी पार्टीहरूको बाटो लाग्यो।

देशका अन्य तथाकथित प्रगतिशील पार्टीहरूको असफलता, अयोग्यता, बेइमानी र अकर्मण्यताको जगमा बनेको क्रान्तिकारी र परिवर्तनकारी पार्टी हो जसपा। नागरिकहरूको स्वतन्त्रता र समानताको अधिकारलाई सुनिश्चित गर्दै, राज्यद्वारा सुनियोजित रूपमा निर्मित उत्पीडन समाप्त गर्दै समावेशी राज्य व्यवस्थाको स्थापना र व्यवस्थापन गर्न बनेको पार्टी हो जसपा। सदियौंदेखि चलिआएको ‘फुटाऊ र राज गर’ नीतिलाई सदाको लागि सिध्याई देशभित्रका सबै समुदाय र नागरिकबीच भावनात्मक एकता ल्याउने प्रयास गर्ने देशभक्त पार्टी हो जसपा।

संविधानमा संशोधन गरी शासकीय स्वरूप परिवर्तन गरी देशलाई परिणाममुखी सरकार र भ्रष्टाचाररहित प्रशासन दिन बनेको पार्टी हो जसपा। न्यायिक सेवा, निजामती सेवा, सुरक्षा संयन्त्रहरूमा समयोचित मूलभूत सुधार गर्न बनेको पार्टी हो जसपा। चीनमा देंग शियाओ पिंग र भारतमा पीभी नरसिंह रावले गरे जस्तो अर्थतन्त्रलाई प्रभाव पार्ने कानून तथा व्यवस्थामा आमूल परिवर्तन गरी नेपाललाई द्रुत-विकासतिर उन्मुख गराउन बनेको पार्टी हो यो।

यसले जलवायु परिवर्तनले आक्रान्त नेपाललाई विकास र वातावरण संरक्षणबीचको परस्पर लाभदायक सामञ्जस्यको एक नमूना अर्थतन्त्र बनाउन जोड दिनुपर्छ । वैचारिक जडता र शीत युद्धकालीन सोचबाट माथि उठी नेपालको सार्वभौमिकताप्रति निर्धक्क भई, आम नेपाली नागरिकको जीवन र जीविकोपार्जन तथा नेपालको अर्थतन्त्रलाई सघाउने व्यावहारिक विदेश नीति ल्याउन यसले काम गर्नुपर्छ।

पार्टी निर्माणका लागि प्रष्ट हुनुपर्ने बहस

पहिलो विषय, हाल जसपाका अधिकांश जननिर्वाचित प्रतिनिधि मधेशबाट जितेर आएका छन्। पार्टीको समर्थनको मूल आधार मधेश र त्यसभित्र पनि मधेश प्रदेशमा छ। पार्टीसँग जोडिन पुगेका विगतका विभिन्न अलग अलग पार्टीहरूले गत आम निर्वाचनमा पहाड र हिमाली क्षेत्रमा थोरै मात्रै जनसमर्थन पाएको कुरा सत्य हो। यस तथ्यको दुइटा विश्लेषण हुन सक्दछन्। एक, पहाड/हिमालमा पार्टीलाई मत नआएको हुनाले मधेशमा मात्रै सीमित तथा केन्द्रित बनौं । अर्को भूगोलमा समय खेर नफालौं। दुई, पहाड/हिमालमा पार्टीलाई मत नआएको कारणहरूको विश्लेषण गरौं, गल्ती सुधारौं र पहाड/हिमालमा पार्टी विस्तार गर्नतिर लागौं। लेखकको विचारमा पहिलो विश्लेषणले जसपाको गठनको औचित्यमा नै प्रश्नवाचक चिन्ह लगाइदिन्छ। मधेश/पहाड/हिमाललाई जुटाउनका लागि नै बनेको पार्टी हो जसपा। दोस्रो विश्लेषण नै सही विश्लेषण हो र पार्टीको नेता/कार्यकर्ता यतैतिर केन्द्रित हुनुपर्दछ। मधेशको समर्थनलाई बरकरार राख्दै, पहाड/हिमालतिर पार्टीको फैलाव नै पार्टीलाई राष्ट्रिय स्वरूप दिन सक्दछ । पार्टीलाई कांग्रेस र कम्युनिष्टहरूको विकल्पको रूपमा जनता समक्ष प्रस्तुत गर्न सक्दछ। समय लाग्न सक्छ, लाग्छ।

दोस्रो विषय, पार्टीले समावेशी राज्यको पैरवी गरी रहँदा पार्टीभित्रै समावेशिता र सामूहिकताको अभ्यास गर्ने कि न गर्ने ? पार्टीभित्र समावेशी र सामूहिक नेतृत्वको विकास नहुँदा, नेपालभित्र बस्ने विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक तथा भौगोलिक उत्पीडनमा परेका जनताले पार्टीको प्रति अपनत्व लिन असम्भव हुन्छ।

मुखले मात्र बोलेर, दस्तावेजमा मात्र लेखेर पार्टीलाई समावेशी मान्न सकिन्न, पार्टी-सत्ता र राज्य-सत्ताको साझेदारीले मात्रै यसको पुष्टि गर्दछ। मधेश प्रदेश आफैं नै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण छ। मधेश प्रदेशमा जसपा शुरुदेखि नै सत्ताको नेतृत्वमा छ। के हामीले मधेश प्रदेशको सरकार र प्रशासनलाई समावेशिताको उदाहरण बनाउन सक्यौं ? संघीयताको अभियन्ता पार्टीले पार्टी भित्र शक्तिको विकेन्द्रीकरण गर्नुपर्ने हो, न कि केन्द्रीकरण। यी मुद्दाहरूको तार्किक हल नभइकन, यी प्रश्नहरूको सन्तोषजनक जवाफ नपाइकन, पार्टीका कार्यकर्ता, अभियन्ताहरू आम जनतामाझ विश्वसनीय पात्र बन्न सक्दैनन्, जनमत प्राप्त गर्न सक्दैनन्। यी मुद्दाहरूको छिनोफानो नगर्दा आगामी निर्वाचनले पार्टीको लागि झनै निराशाजनक परिणाम ल्याउन सक्दछ।

तेस्रो र अन्तिम विषय, एकल जातीय, धार्मिक र एकात्मक राज्य व्यवस्थालाई पराजित गर्ने दुइटा बाटा हुने गर्दछन्। एउटा बाटो नेल्सन मन्डेला र गान्धीहरूको बाटो हो- समावेशिताको बाटो, धर्म निरपेक्षताको बाटो, इन्द्रधनुषी राज्य बनाउने बाटो, अनेकतामा एकता ल्याउने बाटो। अर्को बाटो हो- रोबर्ट मुगावे र मुहम्मद अलि जिन्नाहहरूको बाटो- एक थरीको जातीय, धार्मिक वर्चस्वलाई पराजित गर्न आफ्नो जाति, आफ्नो धर्मको वर्चस्वलाई स्थापित गर्ने बाटो।

सामर्थ्य र पहिचानमा आधारित प्रदेश सिमाङ्कन गरी, विशेष, संरक्षित वा स्वायत क्षेत्रको सिमाङ्कन मार्फत देशका विविध भाषा र संस्कृतिहरूको संरक्षण र प्रवर्धन गर्नु न्यायोचित हुन्छ तर देशमा अथवा देशको कुनै पनि भूभागमा कुनै एक खास जातिको जातीय वर्चस्वको आधिकारिक नीति दिगो र लाभदायक हुन सक्दैन। मन्डेला र गान्धीहरूकै बाटो नै नेपालको लागि व्यावहारिक र लाभदायक बाटो हो। पार्टीमा यस विषयमा पनि प्रष्टता हुनु आवश्यक छ।

(दिगो विकास अभियन्ता रहेका सिंह जसपाका नेता हुन्।)

लेखकको बारेमा
प्रशान्त सिंह

सिंह दिगो विकास अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?