+
+

विवाह अनिवार्य हो ?

रेखा कलौनी रेखा कलौनी
२०७८ माघ १६ गते १७:०९
फाइल तस्वीर

यो विचार पढिरहँदा कतिपयलाई अनावश्यक विषयमा किन बोलेको होला भन्ने लाग्ला । तर दैनिक जीवनमा यससँग जोडिएका यति धेरै सवालको सामना गर्नुपर्छ कि यसबारेमा अब जिब्रो चपाएर कुरा गर्नु आवश्यक छैन ।

बिहे कहिले गर्ने हो ? केटा खोजिसकिस् कि बाँकी छ ? उमेर भएन र भन्या अब ? उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले यस्ता प्रश्नहरूको सामना गर्नुपर्छ । यी सबै प्रश्नको सार हो कि जीवनमा एकपटक विवाह अनिवार्य गर्नुपर्छ । यसबाट कोही भाग्न सक्दैन । यही विषयलाई अर्को भाषामा यसरी भन्न सकिन्छ कि हाम्रो समाजमा विवाह नगर्ने विकल्पबारे सोच्दै सोचिन्नँ ।

विवाह एक सामाजिक परम्परा पक्कै पनि हो । विवाहले सामाजिक मूल्य र मान्यता बोकेको हुन्छ । विवाहपछि मात्रै एक पुरुष र महिला एकाकार हुन्छन्, उनीहरूको नयाँ जीवनको शुरूआत हुन्छ या दाम्पत्य जीवन शुरु हुन्छ । दाम्पत्य जीवनपछि मात्रै पुरुष र महिला खुला रूपमा एकाकार हुन्छन् ।

विवाह पछि यो सृष्टि चलाउने समाजमा खुल्ला रूपमा एकाकार हुने प्रमाणपत्र प्राप्त गर्दछन् । सृष्टि चलाउन समाज चलाउन विवाह आवश्यक पनि हो तर जीवन चलायमान बनाउन भनूँ या जीवन जिउन के विवाह गर्नु नै पर्छ त ?

यो प्रश्न पनि कतिपय अविवाहित साथीहरूको मनमा खेल्ने प्रश्न हो । विवाह किन गर्ने ? केका लागि गर्ने ? समाज, परिवार या सन्तानका लागि कि सन्तुष्टि, खुशी लागि ? विवाहको अर्थ र परिभाषा के हो ? यी प्रश्नहरूको कसैसित स्पष्ट र सबैलाई चित्त बुझाउन सक्ने उत्तर छ ?

हुनत कसैले यी प्रश्नको उत्तर खोज्ने प्रयास पो कहाँ गर्‍यो र ? कसैले नबुझेरै विवाह गरे, कसैले देखासिकीमा, कसैले घरपरिवारको दबावमा गरे । त्यही भएर त नेपाली समाजमा उखान बन्यो– हतारमा बिहे गरेर फुर्सदमा नपछुताऔं ।

यी सबै प्रश्न सोधी राख्दा कतिको मनमा लाग्ला कि यसले विवाह नै नगर्नु उत्तम हो भनिरहेकी छ भनेर । तर त्यसो होइन । विवाह गर्ने व्यक्तिका लागि विवाह भन्दा पनि महत्वपूर्ण कुरा के हो भन्ने मात्रै हो । आफ्ना इच्छा, आकांक्षा र लक्ष्यबाट पिल्सेर विवाह गर्नेहरूले शुरुमै यी प्रश्नको जवाफ खोतल्ने प्रयास गरेनन् ।

त्यसो त, विवाह गर्दैमा सबै व्यक्तिका इच्छा, आकांक्षा र लक्ष्य पिल्सिन्छ भन्ने पनि हैन है । नीता (नाम परिवर्तन) मेरो नाताले काकी पर्नुहुन्छ तर व्यवहार साथीकै जस्तो छ । हामीबीच सबै कुरा साटासाट हुन्छ ।

उहाँ मलाई औधी माया गर्नुहुन्छ र म पनि । आजभोलि हामी भौतिक रूपले त टाढा नै छौं तर पनि माया जति टाढा भयो उति गाढा हुँदोरहेछ । हाम्रो माया पनि प्रगाढ छ । आज मलाई उहाँको जीवनको बारेमा थाहा भएका कुराको चर्चा गर्न मन लाग्यो । चर्चा उहाँकै अनुमतिमा गर्दैछु ।

उहाँले भन्नुहुन्थ्यो-छोरी मैले विवाह समाज र परिवारको खुशीका लागि मात्रै गरेकी हुँ । उहाँको सपना त समाज, देशको लागि केही गर्ने एक सक्षम नारी बन्ने थियो तर, घरपरिवार र समाजले यो सपना पूरा हुन कहाँ दियो र ?

उहाँ सानैदेखि मिहिनेती मान्छे । कक्षा र स्कूलमा दोस्रो हुन कहिल्यै पनि परेन । सबैभन्दा राम्रो नम्बर ल्याउने विद्यार्थी मै हुँ । छोरी भनेर मलाई भन्नुहुन्थ्यो । उहाँको पढाइप्रतिको लगाव देखेर सबै जना प्रशंसा गर्थे, माया गर्थे, हौसला दिन्थे ।

हामीबीच सबै कुरा साटासाट हुन्छ । उहाँ मलाई औधी माया गर्नुहुन्छ र म पनि । आजभोलि हामी भौतिक रूपले त टाढा नै छौं तर पनि माया जति टाढा भयो उति गाढा हुँदोरहेछ । हाम्रो माया पनि प्रगाढ छ । आज मलाई उहाँको जीवनको बारेमा थाहा भएका कुराको चर्चा गर्न मन लाग्यो ।

उहाँले कक्षा १२ सम्म आफ्नै माइतीको विद्यालयमा पढ्नुभएको हो । त्यसपछिको पढाइ गर्न घर बाहिर जानुपर्थ्यो रे ! तर छोरी भएकै कारण उहाँलाई बाहिर गएर पढ्न दिइएन । ताकि छोरी बिग्री पो हाल्छे कि भन्ने डर घरपरिवारमा थियो । झन् एक्लै कसरी बाहिर पढाउनु ?

समाजले के भन्ला ? फलानाकी छोरी त एक्लै त्यो ठाउँमा बस्छे, संस्कार त के नै होला र ? विवाह पनि कोही गर्दैनन् । त्यसैले घरबाट बाहिर पढ्न नपठाएको रे ! छोरी के घर बाहिर जाँदा नै आफ्नो संस्कार बिर्सिन्छे होला त ?

तर पनि उहाँले प्राइभेटबाटै भए पनि पढ्ने आँट गर्नुभयो । क्याम्पस जान घरबाट हिंडेर ८-९ घण्टा जति लाग्थ्यो रे ! उहाँले त्यहाँ गएर स्नातक तहमा भर्ना गराउनुभएको थियो । कलेज नगएर घरमै बसेर पढ्दा खासै राम्रो पढाइ हुन सकेन । एकातिर घरको काम अर्कोतिर स्वध्ययन, खासै राम्रो नतिजा आएन स्नातक पहिलो वर्षको ।

त्यसपछि परिवारका मान्छेले पनि सपोर्ट गर्न छाडे । बरु छोरीको लागि राम्रो ज्वाईं सरकारी जागिरे वा सम्पत्ति भएको केटा खोज्न थालियो, स्वभाव कसैको प्राथमिकतामा परेन । उहाँ मलाई भन्नुहुन्थ्यो– मलाई त्यतिबेला विवाह गर्न मन नै थिएन । तर छोरी न हुँ, समाज र परिवारको अगाडि मेरो केही लागेन ।

उहाँले स्नातक तहको दुई वर्ष जति प्राइभेटबाटै परीक्षा दिनुभयो । घरायसी कामले गर्दा उहाँले राम्रोसँग पढ्न पाउनुभएन । विद्यार्थी जति जान्ने भए पनि बाटो पहिल्याउन शिक्षकको आवश्यकता नै पर्दो रहेछ तर उहाँले शिक्षक र क्याम्पसको मुहार केवल परीक्षाको बेला मात्रै देख्नुहुन्थ्यो । यसरी उहाँको पढाइ बिग्रिंदै गयो र स्नातकको दोस्रो वर्षको परीक्षामा उहाँ अनुत्तीर्ण हुनुभयो ।

अनुत्तीर्ण भएपछि उहाँलाई परिवारले नै पढ्न पूरै बन्देज नै लगाए छन् । उहाँ अब पूरै परिवारको घेराभित्र रहेर काम गर्न थाल्नुभएछ । फेरि कलेज नपठाएको आर्थिक रूपले विपन्न घरपरिवार भएर पनि हैन रे, आर्थिक रूपमा सम्पन्न नै थिए उहाँको माइती, उहाँले नै भन्नुहुन्थ्यो ।

उहाँले एकचोटि गोबर सोहोर्ने बेला उहाँको आमाले भनेको कुरा सुनाउनुभयो । उक्त कुरा म अहिले पनि झलझली सम्झिन्छु– नीता पढाउने पैसाले तँलाई सुन बनाएका छौं । यो लगाई राख । पछि हामीलाई पनि सजिलो हुन्छ । आजैबाट सानोतिनो गरेर सबै कुरा जुटाएर राख्नुपर्छ ।

कस्तो अचम्मको कुरा । यस्ता बहुमूल्य धातुले आन्टीले आफूले चाहेको ज्ञान पाउनुहुन्थ्यो र ? समय आफ्नै गतिमा यस्तै बित्दै गयो । आन्टीको लागि वर खोजियो । उहाँ सबै सपना अधुरै राखेर विवाह बन्धनमा बाँधिनुभयो ।

आन्टीको एउटा कुराले मेरो मुटु जहिले पनि कुटुकुटु खान्छ । छोरी जसले छोरीलाई जन्माएर पराई घर पठाउने नियम बनायो नि उसको लागि छोरी शायद बोझ थिई होला । नत्र यस्तो थिति बस्ने थिएन होला ।

मेरो मनमा प्रश्न जन्मिन्थ्यो– किन मैले मेरो श्रीमान्लाई मेरो घरमा भित्र्याउन सक्दिनँ ? यस्तो चाहिं थिति किन बसालिएन । महिलाले कहिल्यै नदेखेको घरलाई आफ्नो घर भन्नुपर्ने । आफू जन्मे हुर्केको घरलाई माइती भन्नुपर्ने, एक अञ्जान मान्छेलाई देवता समान पूजा गरी पाउ ढोग्नुपर्ने, बिहान अबेरसम्म सुत्न नहुने, धेरै खान नहुने, सबैलाई खुवाएर मात्रै आफूले खाना खान बस्ने ।

सबैभन्दा पछि सुत्ने, सकेसम्म छोरीलाई जन्म नै नदिने, छोरा मात्रै चाहिने, अझ पहिलो र दोस्रो सन्तान छोरी नै भयो भने अनेक कुरा सुन्नुपर्ने । कसैसित ठूलो स्वरमा बोल्न नहुने, धेरै हाँस्नु पनि नहुने, रिस त निकाल्नै नहुने, सधैं हँसिलो अनुहार लिएर मात्रै कर्म गर्नुपर्ने, त्यो हँसिलो मुहार बनाउन कत्तिको वातावरण छ, त्यसबारे कुनै मतलब नहुने । अनि अर्को कुरा सबैको मानसम्मान गरी पाउ परी सबैलाई शिरमा राखी आफू भुईंमा बस्नुपर्ने ।

आफूलाई संसार देखाउने आमा–बाबालाई भेट्न अनुमति माग्नुपर्ने, बाहिर त जानु नै नहुने, बाहिर जाने काम जति त पुरुषको मात्रै हुने, घर र चुलो चौकोमा बसेकी बुहारीलाई गुणी मानिने । यी सबै काम कुनै पुरुषले गर्न सक्छ ? यी सबै थिति बलियो पितृसत्ताले बनाएको हो ।

के सजिलो छ बुहारी बन्न ? मुखले परिवर्तनका कुरा गर्नेहरूकै मुखबाट यस्तो व्यवहार हुँदा मनमा चिसो सिरेटो पस्छ । महिलालाई दुर्गा र काली, चण्डी र महाकालीका नाममा पूजा गरिने समाजमा महिलाको हालत कस्तो छ भनी हेर्दा मात्र पनि आङ सिरिङ्ग हुन्छ ।

अनि अझ चुरा, पोते र सिन्दुर मार्फत महिलालाई आफ्नो बन्धकी माल बनाउन रचित विधान अन्तर्गत बसेर कसरी सह–अस्तित्व कायम रहन्छ र ? पुरुषले महिलालाई सिन्दुर हालिदिएर, पोते लगाइदिएर आफ्नो स्वामित्व दावी गरिरहँदा महिलाले पनि कुनै आभूषण या अन्य कुनै प्रक्रिया मार्फत पुरुषमाथि आफ्नो स्वामित्व दाबी गर्न नमिल्ने चाहिं किन ?

जुन आभूषण, महिलाको सिन्दुर पोते झैं, पुरुषले पनि कहिल्यै छोड्न नमिलोस् र महिलाको मृत्युपछि नछोडी सुख नपाओस् । यस्तो हुँदैन होला शायद है । पुरुषले दुई चार विवाह गरे पनि स्वीकार्ने तर महिलाले बाहिर मात्रै पनि जानै हुँदैन भन्ने त्यो समाजले महिला र पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हुन् भन्नु कतिको सुहायो ?

भनिन्छ, छोरीको विवाह पछिको जीवन फरक हुनुपर्छ रे ! तर छोराको किन हुनुपर्दैन र ? बुहारीले मात्रै संस्कारी बन्नुपर्ने तर छोराले भने जे गरे पनि हुने ? छोरीको इज्जत चाहिं घरभित्रसम्म तर छोराको कहाँसम्म ?

एक नारीले आफ्नो सबै सपनाको आहुति दिएर घर भित्र बस्ने, पुरुषले पूरै संसार डुले पनि पवित्र मानिने, संस्कारी मानिने समाजमा छोरी मात्रै किन अपवित्र ?

पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउन रामायणमा एउटा रोचक प्रसंग छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई जंगलमा छाडेपछि भएको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने भएका कारण रामले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।

मैले यो प्रसंग यस कारण निकालेको हो कि सती सावित्री सीता जस्तै बुहारी पत्नी खोज्ने समाजले राम जस्तै छोरो श्रीमान् किन खोज्दैन ? छोरा जे जस्तो भए पनि चल्ने रे, तर बुहारी, श्रीमती सती सावित्री सीता चाहिने, हुनु पनि पर्ने ?

अनि छोरी भएपछि त झन् जन्मेदेखि उसलाई के के दाइजो दिने हो जुटाउन थाल्दछन् । आमा–बाबा, उसलाई शिक्षा कस्तो दिने भन्नुभन्दा पनि ज्वार्इं र दाइजो कस्तो दिने भन्नेमा सोच्दछन् । जीवनमा विवाह भन्दा ठूलो कुरा शिक्षा व्यावहारिक ज्ञान आवश्यक छैन र ? राम्रो शिक्षा र व्यावहारिक ज्ञान भए मान्छे जहाँ जस्तो अवस्थामा पनि आफूलाई खुशी, सुखी राख्दछ ।

ती आन्टीको लागि राम्रो ज्वाईको खोजी गर्नुभन्दा राम्रो शिक्षा दिएको भए शायद आज घाँस काट्दै भकारो सोहोर्दै आफ्नो असफलताको कहानी सुनाउनुपर्दैन थियो होला । राम्रो शिक्षा दिएको भए विवाह गरिदिन परिवारले आतुर नगरेको भए मैले आज उहाँलाई कुनै विद्यालय वा सरकारी कार्यालयमा उच्च पदमा सरकारी पोशाकमा देख्न पाउँथें होला ।

आन्टी एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । कैयौं छोरीको कथा यस्तै छ । विवाह त्यति आवश्यक पनि हैन, जति शिक्षा र ज्ञान आवश्यक छ । समाज चलाउन विवाह आवश्यक हो । विवाहले सामाजिक मूल्य र मान्यता राख्दछ तर व्यक्तिगत जीवन चलाउन विवाह आवश्यक होइन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?