+
+

कोरोना संक्रमणको बढ्दो जोखिम : परीक्षण नै नगराई धेरै नागरिक एकान्तबासमा

रासस रासस
२०७८ माघ २० गते १५:३४

२० माघ, सुदूरपश्चिम । केही हप्तादेखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस संक्रमणका कारण यहाँका स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामीको संख्या बढ्दो छ । आफू कोरोना संक्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन् ।

यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन् । ‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’, धनगढीका एक स्थानीयवासीले भने । नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले संक्रमित भइने डर नागरिकमा देखिन्छ ।

धनगढीमा भेटिएकी कञ्चनपुर कृष्णपुर नगरपालिका-९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताइन् । उनले भनिन्, ‘यति बेला गाउँमा धेरै व्यक्ति कोरोना भाइरस संक्रमणमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’ यो लक्षण कोरोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । हाल फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणमण दर डेल्टा भेरियन्ट भन्दा छ/सात गुणाले बढी हुने गरेको बताइएको छ ।

अहिले फैलिएको कोरोना भाइरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको संक्रमणदर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘कोरोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’, कैलालीका असिफ अन्सारीले भने, ‘मानिसमा अब भने विस्तारै कोरोनाको डर हराउँदै गएको देखिन्छ ।’ स्थानीय प्रशासनले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरे पनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ ।

जोखिम मोलेरै स्याहार गर्दै बिरामीका कुरुवा

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन् । चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयम‍्ले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । जसका कारण कुरुवामासमेत संक्रमणको जोखिम देखिएको छ ।

सघन उपचारकक्ष बाहिर भेटिएका कुरुवा वीरसिंह धामीले भने,’एकतिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ, अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नु पर्दा आफैं संक्रमित भइने जोखिम छ ।’ बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पुर्‍याउन २४सैं घन्टा कुरुवा बस्नै परेको उनको भनाइ छ । गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ ।

कोरोना भाइरस फैलिएयता हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २८२ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?