+
+
मेरो जीवनशैली :

बिहान उठेपछि ४५ मिनेट योगाभ्यास गर्छु : कृष्ण धरावासी

सम्झना विक सम्झना विक
२०७८ माघ २१ गते १३:५६
तस्वीर : कृष्ण धरावासीको फेसबुकबाट

२० माघ, काठमाडौं । साहित्यकार कृष्ण धरावासी विशेषगरी कथा र उपन्यास विधामा कलम चलाउँछन् । २०६२ सालमा ‘राधा’ उपन्यासबाट उनले मदन पुरस्कार प्राप्त गरेका थिए । पाँचथरमा जन्मेका धरावासी ७ वर्षको हुँदा उनको परिवार झापा बसाइँ सर्‍यो ।

साहित्यकार धरावासीका झोला, आधा बाटो, शरणार्थी लगायत उपन्यास पाठकले निकै रुचाएका छन् । समालोचनामा पनि कलम चलाउने साहित्यकार धरावासीको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषय उनकै शब्दमा–

उठेर ४५ मिनेट योगाभ्यास

जाडो होस् वा गर्मी, मेरो उठ्ने तालिका नियमित हुन्छ । बिहान ५ बजे उठिसक्छु । शौचालय गएपछि ४५ मिनेट योगाभ्यास गर्छु । अनि भान्सामा गएर बिना चिनीको कालो चिया बनाएर खान्छु ।

नास्ता सातदेखि साढे सात बजेसम्म खान्छु । नास्तामा बदाम, कोदो वा फापरको रोटी, कर्नफ्लेक्स मिलाएर खान्छु ।

बिहानको खानामा दाल, भात, तरकारी नै हुन्छ । मलाई खाना खाँदा दालभन्दा तरकारीको झोलसँग मिठो लाग्छ । माछा–मासुभन्दा दाल, हरिया सब्जी नै बढी खान्छु । महिनामा एक दुईपटक मात्र हुन्छ माछा–मासु । मेरो खानामा प्रायः नछुट्ने साग हो भने मेरो प्रिय खाना खीर हो ।

बेलुकीको खाना हलुका नै खान्छु । बेलुका रोटी, तरुल यस्तै खाने गर्छु । अहिले श्रीमान श्रीमती मात्र छौं । त्यसैले बिहानको जस्तो बेलुका भान्सामा पाक्दैन । म विद्यार्थी हुदाँ एक बजे सुत्थे आजभोलि ११ बजेसम्म सुतिसक्छु ।

घरको काम गर्न रुचाउँछु

विद्यार्थीदेखि जागिरे हुँदासम्म डेरामै खाना बनाएँ । एक महिनाअघि खुट्टा भाँचिएका कारण अहिले ओछ्यानमै छु । भान्साको काम महिला पुरुष दुवैको भन्ने लाग्छ । म खाना बनाएर खुवाउँछु । मासु मिठो बनाउँछ भनेर घरमा भन्छन् पनि ।

आफ्नो लागि आफू बाँच्नको लागि पनि भान्साको काम जान्नुपर्छ । पहिला बाहिर खाना खान पैसा हुन्थेन, अहिले पैसा भएर पनि स्वास्थ्यले दिँदैन । घरको खाना नै खान्छु । बाहिर खाने चिया कफी मात्र हो । घरमा बनाएर अरुलाई खुवाउँदा बेग्लै आनन्द आउँछ ।

मेरो पहिरन

कपडाको सर्ट, पाइन्ट, कोट र जुत्ता मन पर्छ । दौरासुरुवाल पनि राम्रो लाग्छन् । सिलाएर राखेको हुन्छु । आफ्नो व्यक्तित्व सुहाउँदो पहिरनमा हिंड्छु ।

सिर्जनाको समय

जागिर खाँदा म राति लेख्थें । अहिले रिटाएर भएको छु । लेख्ने पढ्ने काम नै गर्छु । म लेख्न बसेपछि लेखनमा डुब्छु । एउटा लेखकले गर्ने भनेको बढीभन्दा बढी अरुका कृति पढ्ने अनि त्यसमा भेटिएका खाली ठाँउ भर्ने नै हो । मेरो अंग्रेजी त्यति दरिलो छैन, त्यसैले हिन्दीमा अनुवाद गरिएका पुस्तक नै बढी पढ्छु । अमेरिकन, युरोपियन, जापानिज, चाइनिज भाषाका  किताब हिन्दीमा अनुवाद गरिएको पढ्छु । मलाई लेख्न बसेपछि कलम आफैं सर्छ । पहिला हातले लेख्थें, अहिले सात वर्ष जति भयो कम्प्युटर चलाउन थालेको ।

मेरो रुचि

मलाई लेख्न–पढ्न बाहेक मलाई गफ गर्न एकदमै मन पर्छ । मेरो एउटा खुट्टा कमजोर भएकाले म उकालो ओरालो त्यति हिंड्न सक्दिनँ । पैदल यात्रा गर्न मन लाग्छ, तर अहिले सक्दिनँ । गाडीमा गरेको यात्रा त्यति मज्जा आउँदैन ।

म प्रविधिमा नजिक छु । मलाई यसमा जोडिन रमाइलो लाग्छ । मलाई चलचित्र हेर्न एकदमै मन पर्छ । यही रुचिका कारण विद्यार्थीकालमा धेरै गाली पनि खाएको छु । विशेषगरी एक्सन चलचित्र मन पर्छ । अहिले दक्षिण भारतीय चलचित्र ज्यादा हेर्छु । आफूले लड्न नसके पनि कलाकारले मान्छे कुटेको रमाइलो लाग्छ (हाँस्दै) ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?