+
+

‘दमकललाई प्राथमिकता दिने संस्कार नै छैन’

तारा गिरी, अग्नि नियन्त्रक तारा गिरी, अग्नि नियन्त्रक
२०७८ फागुन २ गते १६:५४

म पहिले वैदेशिक रोजगारीका लागि दुबई गएको थिएँ । त्यहाँ सुरक्षागार्डको काम गर्दा अग्नि नियन्त्रण सम्बन्धी अनिवार्य तालिम लिएको हुनुपर्छ । दुई-तीन सय फ्लोर भएको सुपरमार्केट हुन्छन्, त्यसमा आगलागी भयो भने नियन्त्रण गर्ने जिम्मा सुरक्षागार्डकै हुन्थ्यो । त्यही अनुभवले अहिले म कावासोती नगरपालिकाको दमकलमा काम गरिरहेको छु ।

मैले नेपालमा २०७२ सालबाट आगो नियन्त्रणको काम गरिरहेको छु । आगो नियन्त्रणमा दमकल जति चाँडो परिचालन हुनसक्यो, महत्व त्यति धेरै हुन्छ । हुनत दमकल निश्चित दूरीमा राखिएको हुन्छ, त्यसैले सबभन्दा पहिले स्थानीयवासी नै आफैं सचेत हुनुपर्छ । त्यसको मुख्य कुरा घटना हुनै नदिनु हो ।

तर, दमकल लिएर गइसकेपछि चालकहरूले पनि बुझ्नुपर्ने धेरै विषय हुन्छन् । आगो विभिन्न खाले हुन्छन्, कुन आगोमा पानी हाल्ने हो, कुनमा फायर इस्टिङ्ग्विसर वा केमिकलहरू प्रयोग गर्ने भन्ने छुट्याउन सक्नुपर्छ । कस्तो आगलागीमा फम केमिकल प्रयोग गर्ने भन्ने विषय पनि हुन्छ ।

जस्तो, पेट्रोलमा आगलागी भयो, त्यहाँ लगेर पानी हालियो भने भयंकर रूप लिन्छ । त्यसलाई फम केमिकल अथवा ‘सीओटु’ प्रयोग गर्नुपर्छ । तर नेपालमा फम केमिकल कमै मात्र प्रयोग हुन्छ ।

हाम्रो अग्नि नियन्त्रणको विधि भनेको पानी हाल्ने मात्रै जस्तो छ । आगलागी भइहाल्यो भने पनि कतिपय सामान बचाउन सकिने खालका पनि हुन्छन् । तर कुनै पनि सरकारी कार्यालय, विद्यालय वा ठूलो संरचनामा आगलागी भएको छ भने दमकलबाट अन्धाधुन्द पानी हाल्ने प्रवृत्ति हुन्छ । अन्धाधुन्द पानी हाल्दा बच्ने चिजहरू पनि खराब हुँदै जाने गरेको देखिन्छ ।

सरकारी कार्यालयमा एबीसी पाउडर भनेर सिलिण्डर राखेको देखिन्छ, त्यसले पनि कम्प्युटरलगायतका विद्युतीय उपकरण खराब गरिरहेको हुन्छ । खासमा ‘सीओटु’ ग्याँसको प्रयोग गर्नुपर्ने हो ।

मुख्य कुरा के हो भने कसरी पानी हाल्ने, कसरी आगो निभाउने भन्नेमा अग्नि नियन्त्रकलाई अनिवार्य तालिम दिनुपर्छ । पानी हाल्दा कति दूरीमा बस्ने, कसरी आगो निभाउने भन्ने विषयमा राम्रो जानकारी दिनुपर्छ । हावा कताबाट आइरहेको छ, कता बसेर पानी हाल्ने, ग्याँस कहाँबाट हाल्ने भन्ने पनि प्रक्रिया हुन्छ ।

बाहिर दमकल भनेको सेना परिचालन गरेजसरी राखेको हुन्छ । दमकलका लागि छुट्टै डिपार्टमेन्ट हुन्छ । एउटा दमकलमा ८/१० जना कर्मचारी हुन्छन्, नेपालमा दुई-चार जनाले दमकल परिचालन गरेर हिंड्नुपरेको छ

खासमा आगो नियन्त्रणका लागि टिम नै चाहिन्छ, एक्लैदुक्लै अन्धाधुन्द गरेर हुँदैन । नेपालको परिस्थिति एकदमै दयनीय छ । नेपालमा दमकल पुगेर आगो नियन्त्रणका लागि पनि चित्तबुझ्दो फायरिङ छैन ।

दमकल भनेपछि निच प्रकृतिले हेरिन्छ । दमकललाई प्राथमिकता दिने संस्कार नै छैन । जस्तो दमकल गयो, जस्तोसुकै होस्, सीधै पानी हालेको छ । जेमा पनि पानी नै हाल्नुपर्छ, अरू स्रोत छँदैछैन । बाहिर दमकल भनेको सेना परिचालन गरेजसरी राखेको हुन्छ । दमकलका लागि छुट्टै डिपार्टमेन्ट हुन्छ । एउटा दमकलमा ८/१० जना कर्मचारी हुन्छन्, नेपालमा दुई-चार जनाले दमकल परिचालन गरेर हिंड्नुपरेको छ ।

एकदम ठूलो आगजनी भयो भने चार जनाले के गर्न सक्छ ? एउटा अपरेटरमा बस्नुपर्‍यो, एउटा गाडीमा बस्नुपर्‍यो । ६३ एमएमको होर्स समात्न ५/६ जना चाहिन्छ, त्यो त्यति शक्तिशाली हुन्छ । तर नेपालमा एक जना मात्र हुन्छ ।

नेपालमा ३-४ जना मात्र बढी कुनै पनि दमकलमा छैनन् । आवश्यकता पर्ने कर्मचारी नपुग्दा कि सेना र सशस्त्रको सहयोग लिनुपर्छ । तर उनीहरूले पनि सिकेको हुँदैन । त्यसैले समस्या हुन्छ ।

कतिपय बेला दमकल समयमा पुगेन भनेर पनि प्रश्न उठ्छ । तर यो सम्बन्धित दमकलमा काम गर्ने अग्नि नियन्त्रकमा पनि भर पर्ने कुरा हो । आगो कतिबेला लाग्छ, कहिले लाग्छ, थाहा हुने कुरा होइन । कर्मचारीहरू आगो लागेको छैन, पानी परेको छ, ठण्डी मौसम छ भनेर चुपचाप बस्ने गरेको पाइन्छ । तर कर्मचारीले यसरी लापरबाह हुनुहुँदैन । जुनसुकै बेला पनि परिचालित हुनुपर्छ भन्ने सोच्नुपर्छ ।

अनि अर्को कुरा एक घटनामा फायरिङ गरेर आइसकेपछि यन्त्र सही ठाउँमा छ/छैन फेरि अर्कोपटक काम चल्छ/चल्दैन भनेर रि–चेक गरेर नराख्नु गल्ती हुन्छ । इञ्जिन हो, कहिलेकाहीं स्टार्ट नहुने पनि हुनसक्छ । सकेसम्म सबै कुरालाई दुरुस्त राख्ने कोशिश गर्नुपर्छ । कहिलेकाहीं टिम समयमा नपुग्दा पनि समस्या हुन्छ । कहिलेकाहीं दमकल पुगिसक्दा पानी भएन भन्ने कुरा पनि आउँछ, त्यो पनि दमकल चालकको लापरबाही हो ।

नेपालमा दमकल सेवा सुधार्नका लागि सबैभन्दा पहिले गर्नुपर्ने काम गरेको तालिम प्रदान गर्ने हो । विशिष्ट फायर फाइटर बोलाएर स्थानीय तहमा महिनामा एक–दुई चोटि रिहर्सल गराउनुपर्छ । आगो नियन्त्रणमा नयाँ–नयाँ प्रविधि आइरहेका छन्, ती कुराहरूलाई पनि भित्र्याउन पहल गर्नुपर्छ ।

(कावासोती नगरपालिकाका अग्नि नियन्त्रक गिरीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?