+

किन कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु ?

२०७८ फागुन  ८ गते १४:१६ २०७८ फागुन ८ गते १४:१६
किन कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु ?

६ फागुन, काठमाडौं । मानिसहरुले आफूलाई स्वस्थ राख्न विभिन्न पौष्टिक तत्व भएका खानेकुरा खाने गर्छन् । शरीरका लागि विभिन्न पौष्टिक तत्व मिलाएर खानुपर्ने पोषणविद् बताउँछन् ।

समय परिवर्तनसँगै भान्सामा पाक्ने परिकारहरु पनि परिमार्जन हुँदै गइरहेका छन् । पूर्खाहरुले खाने विधि र अहिलेको आधुनिक समयको खाने शैलीमा व्यापक परिवर्तन आइसकेको छ । पहिलेका खानेकुरा सबै अर्ग्यानिक हुने गर्थे भने अहिले बाहिरकै खानेकुरामा भर पर्नुपर्ने अवस्था छ ।

विभिन्न पौष्टिक तत्वमध्ये कार्बोहाइड्रेट एक महत्वपूर्ण तत्व हो । कार्बोहाइड्रेटले मोटोपन बढ्ने, उच्च रक्तचापको समस्या हुने, मधुमेहको जोखिम हुन्छ भन्ने आमबुझाइ पनि छ । यही बुझाइका कारण अहिले धेरैले आलु, चामल लगायत खान छोड्दै गएका छन् ।

तर पोषणविद् डा. मनसा थापा ठकुराठी कार्बोहाइड्रेटको मुख्य स्रोत भात र आलु खाए मोटाइन्छ भन्ने धारणा गलत भएको बताउँछिन् । उनका अनुसार मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने तत्व कार्बोहाइड्रेट हो । यसबाट मानिसहरु भाग्दै गएकोमा चिन्ता बढेको उनी बताउँछिन् । कार्बोहाइड्रेट मोटोपनको स्रोत होइन भनेर आममानिसलाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

पोषणविद् डा. मानसा थापा ठकुराठी

के हो कार्बोहाइड्रेट ?

कार्बोहाइड्रेट हाइड्रोजन र अक्सिजन मिलेर बनेको पौष्टिक तत्व हो । कार्बोहाइड्रेटसँगै क्यालोरी पनि जोडिएर आउँछ । हामीले खाने भातमा माड र चिनीको रुपमा यो प्राप्त हुने पोषणविद् डा. थापा बताउँछिन् । यसलाई पचाएर जुन शक्ति बन्छ, त्यसलाई क्यालोरी भनिन्छ ।

कार्बोहाइड्रेट मात्रै नभई जे कुरा पनि बढी आएमा मोटोपनको समस्या हुने उनी बताउँछिन् । ‘कार्बोहाइड्रेटले मुटुलाई त्यति खराब गर्ने होइन, समस्या तब आउँछ जब हामी बढी खान्छौं र त्यही अनुसारको एक्सरसाइज र हिंडडुल गर्दैनौं,’ डा. थापा भन्छिन् ।

कार्बोहाइड्रेटयुक्त खानेकुरा खाएपछि त्यो ग्लुकोज (चिनी)मा परिणत हुन्छ । त्यसलाई शरीरले जति आवश्यक ठान्छ, त्यति नै लिन्छ । अनि बढी भएको तत्व कलेजोमा जम्मा भएर बस्छ । यसले ग्लाइकोजिन तत्वको रुपमा काम गर्छ, जतिबेला हामीले धेरैबेरसम्म खाना खाएका हुँदैनौं । जस्तै, व्रत बसेको दिनमा ग्लाइकोजिनले हामीलाई शक्ति प्रदान गर्दछ ।

पोषणविद् डा. थापा उमेर, लिंग, शारीरिक वनावट र कामको प्रकृतिअनुसार कार्बोहाइड्रेट ग्रहण गर्नुपर्ने सुझाउँछिन् । एक दिनमा एक व्यक्तिले २२५ देखि ३२५ ग्रामसम्म कार्बोहाइड्रेट खानुपर्दछ ।

उनी भन्छिन्, ‘मानव शरीरको मस्तिष्कलाई ताजा र स्फूर्त राख्न एक दिनमा लगभग १३० ग्राम ग्लुकोज चाहिन्छ, जुन ग्लुकोज कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।’

कार्बोहाइड्रेटको कमीबाट हुने असर

आधुनिक र व्यस्त जीवनशैलीका कारण अहिले घरमा भन्दा बाहिरकै फास्टफुड खाना खाने प्रचलन बढेको छ । योसँगै कार्बोहाइड्रेटप्रतिको गलत बुझाइ हुँदा पनि यसको कमीले समस्या निम्त्याइरहेको छ ।

यसको कमीले खुट्टा, पिडौंला, मांसपेशी बाउँडिने, दुख्ने लगायतका समस्या आउने डा. थापा बताउँछिन् । सवारी साधन चल्नका लागि इन्धनको प्रमुख भूमिका हुन्छ, त्यस्तै हाम्रो शरीरको मुख्य इन्धन कार्बोहाइड्रेट हो ।

कार्बोहाइड्रेटको स्रोत

कार्बोहाइड्रेटका मुख्य स्रोत वनस्पति, ग्लुकोज पाउने अन्न, चिनी पाउने फलफूल र तरकारी हुन् । यस्तै दाल भात तरकारी, गाँजर, उखु, पाकेको फर्सीमा पनि कार्बोहाइड्रेट पाइन्छ । खस्रो चामल, बोक्रा भएको दाल र गेडागुडीबाट कम्प्लेक्स कार्बोहाइड्रेट पाइने डा. थापा बताउँछिन् ।

कार्बोहाइड्रेटले शरीरमा चमक ल्याउँछ । हातका नङ र हाडसँगै मांसपेशी बलियो हुन्छ । महिलाहरुका लागि यो अझै आवश्यक हुने डा. थापा बताउँछिन् । यस्तै कुपोषणबाट बचाउन पनि कार्बोहाइड्रेटले महत्वपूर्ण भूमिका खेल्छ ।

आलु र चामल किन महत्वपूर्ण ?

आलु र चामल नेपालीहरुको भान्सामा प्रायः नछुट्ने खाद्यवस्तु हुन् । तर मोटाइन्छ भन्दै अहिले धेरैले आलु र चामल कम खान थालेका छन् । आलु आफैंमा बैगुनी तरकारी नभएको पोषणविद् डा. थापा बताउँछिन् । यसमा फाइबर, भिटामिन, मिनरल हुन्छ ।

ठिक्क खाँदा आलुले शरीरलाई धेरै फाइदा गर्दछ । आलुलाई राम्रोसँग पखालेर बोक्रासहित खाँदा अझै बढी फाइदा हुने डा. थापाको भनाइ छ । किनकि, आलुको बोक्रामा फाइबर पाइन्छ । आलुलाई घरमा पकाएर खाने, कम तेलमा पकाउने गर्नुपर्ने उनी बताउँछिन् । तर बजारमा पाइने तेलमा तारेर बनाएको आलु चिप्स, कुरकुरे, फ्रेन्च फ्राइ जस्ता परिकार भने नखान उनको सुझाव छ ।

यसैगरी नेपालीमा भान्सामा नछुट्ने चामलको प्रयोगमा पनि ध्यान दिनुपर्छ । साधारण मिलमा कुटेको सेतो चामलभन्दा खैरो चामलमा भाइबर र भिटामिन बढी हुने हुनाले यसको प्रयोग बढाउनुपर्ने डा. थापा बताउँछिन् । यसरी आलु र चामल सही रुपमा उपभोग गरेको यसले कार्बोहाइड्रेटको कमी पूरुा गर्छ भने विभिन्न रोगबाट समेत बचाउँछ ।

भान्साभित्र नै औषधि उपचारको पद्धति रहेको पोषणविद् डा. थापा बताउँछिन् । उमेरअनुसारको शारीरिक वजन हुनु जरुरी हुने उनको भनाइ छ । पछिल्लो पुस्ता दुब्लो–पातलो शरीरप्रति आकर्षित भएको पाइन्छ, तर यसको पनि सीमितता हुन्छ । उनी भन्छिन्, ‘१५ वर्षको उमेरका केटा-केटीको तौल ४५ देखि ४७ केजीसम्म एकदमै राम्रो हुन्छ ।’

यसैगरीको घरमा पकाएको सादा खानामा नै जोड दिएर कार्बोहाइड्रेट मिलाएर खानसके शरीरका लागि फाइदाजनक हुने डा. थापा बताउँछिन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

कार्बोहाइड्रेट पौष्टिक तत्व
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय