+

किन कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु ?

२०७८ फागुन  ८ गते १४:१६ २०७८ फागुन ८ गते १४:१६
किन कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु ?

६ फागुन, काठमाडौं । मानिसहरुले आफूलाई स्वस्थ राख्न विभिन्न पौष्टिक तत्व भएका खानेकुरा खाने गर्छन् । शरीरका लागि विभिन्न पौष्टिक तत्व मिलाएर खानुपर्ने पोषणविद् बताउँछन् ।

समय परिवर्तनसँगै भान्सामा पाक्ने परिकारहरु पनि परिमार्जन हुँदै गइरहेका छन् । पूर्खाहरुले खाने विधि र अहिलेको आधुनिक समयको खाने शैलीमा व्यापक परिवर्तन आइसकेको छ । पहिलेका खानेकुरा सबै अर्ग्यानिक हुने गर्थे भने अहिले बाहिरकै खानेकुरामा भर पर्नुपर्ने अवस्था छ ।

विभिन्न पौष्टिक तत्वमध्ये कार्बोहाइड्रेट एक महत्वपूर्ण तत्व हो । कार्बोहाइड्रेटले मोटोपन बढ्ने, उच्च रक्तचापको समस्या हुने, मधुमेहको जोखिम हुन्छ भन्ने आमबुझाइ पनि छ । यही बुझाइका कारण अहिले धेरैले आलु, चामल लगायत खान छोड्दै गएका छन् ।

तर पोषणविद् डा. मनसा थापा ठकुराठी कार्बोहाइड्रेटको मुख्य स्रोत भात र आलु खाए मोटाइन्छ भन्ने धारणा गलत भएको बताउँछिन् । उनका अनुसार मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने तत्व कार्बोहाइड्रेट हो । यसबाट मानिसहरु भाग्दै गएकोमा चिन्ता बढेको उनी बताउँछिन् । कार्बोहाइड्रेट मोटोपनको स्रोत होइन भनेर आममानिसलाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

पोषणविद् डा. मानसा थापा ठकुराठी

के हो कार्बोहाइड्रेट ?

कार्बोहाइड्रेट हाइड्रोजन र अक्सिजन मिलेर बनेको पौष्टिक तत्व हो । कार्बोहाइड्रेटसँगै क्यालोरी पनि जोडिएर आउँछ । हामीले खाने भातमा माड र चिनीको रुपमा यो प्राप्त हुने पोषणविद् डा. थापा बताउँछिन् । यसलाई पचाएर जुन शक्ति बन्छ, त्यसलाई क्यालोरी भनिन्छ ।

कार्बोहाइड्रेट मात्रै नभई जे कुरा पनि बढी आएमा मोटोपनको समस्या हुने उनी बताउँछिन् । ‘कार्बोहाइड्रेटले मुटुलाई त्यति खराब गर्ने होइन, समस्या तब आउँछ जब हामी बढी खान्छौं र त्यही अनुसारको एक्सरसाइज र हिंडडुल गर्दैनौं,’ डा. थापा भन्छिन् ।

कार्बोहाइड्रेटयुक्त खानेकुरा खाएपछि त्यो ग्लुकोज (चिनी)मा परिणत हुन्छ । त्यसलाई शरीरले जति आवश्यक ठान्छ, त्यति नै लिन्छ । अनि बढी भएको तत्व कलेजोमा जम्मा भएर बस्छ । यसले ग्लाइकोजिन तत्वको रुपमा काम गर्छ, जतिबेला हामीले धेरैबेरसम्म खाना खाएका हुँदैनौं । जस्तै, व्रत बसेको दिनमा ग्लाइकोजिनले हामीलाई शक्ति प्रदान गर्दछ ।

पोषणविद् डा. थापा उमेर, लिंग, शारीरिक वनावट र कामको प्रकृतिअनुसार कार्बोहाइड्रेट ग्रहण गर्नुपर्ने सुझाउँछिन् । एक दिनमा एक व्यक्तिले २२५ देखि ३२५ ग्रामसम्म कार्बोहाइड्रेट खानुपर्दछ ।

उनी भन्छिन्, ‘मानव शरीरको मस्तिष्कलाई ताजा र स्फूर्त राख्न एक दिनमा लगभग १३० ग्राम ग्लुकोज चाहिन्छ, जुन ग्लुकोज कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।’

कार्बोहाइड्रेटको कमीबाट हुने असर

आधुनिक र व्यस्त जीवनशैलीका कारण अहिले घरमा भन्दा बाहिरकै फास्टफुड खाना खाने प्रचलन बढेको छ । योसँगै कार्बोहाइड्रेटप्रतिको गलत बुझाइ हुँदा पनि यसको कमीले समस्या निम्त्याइरहेको छ ।

यसको कमीले खुट्टा, पिडौंला, मांसपेशी बाउँडिने, दुख्ने लगायतका समस्या आउने डा. थापा बताउँछिन् । सवारी साधन चल्नका लागि इन्धनको प्रमुख भूमिका हुन्छ, त्यस्तै हाम्रो शरीरको मुख्य इन्धन कार्बोहाइड्रेट हो ।

कार्बोहाइड्रेटको स्रोत

कार्बोहाइड्रेटका मुख्य स्रोत वनस्पति, ग्लुकोज पाउने अन्न, चिनी पाउने फलफूल र तरकारी हुन् । यस्तै दाल भात तरकारी, गाँजर, उखु, पाकेको फर्सीमा पनि कार्बोहाइड्रेट पाइन्छ । खस्रो चामल, बोक्रा भएको दाल र गेडागुडीबाट कम्प्लेक्स कार्बोहाइड्रेट पाइने डा. थापा बताउँछिन् ।

कार्बोहाइड्रेटले शरीरमा चमक ल्याउँछ । हातका नङ र हाडसँगै मांसपेशी बलियो हुन्छ । महिलाहरुका लागि यो अझै आवश्यक हुने डा. थापा बताउँछिन् । यस्तै कुपोषणबाट बचाउन पनि कार्बोहाइड्रेटले महत्वपूर्ण भूमिका खेल्छ ।

आलु र चामल किन महत्वपूर्ण ?

आलु र चामल नेपालीहरुको भान्सामा प्रायः नछुट्ने खाद्यवस्तु हुन् । तर मोटाइन्छ भन्दै अहिले धेरैले आलु र चामल कम खान थालेका छन् । आलु आफैंमा बैगुनी तरकारी नभएको पोषणविद् डा. थापा बताउँछिन् । यसमा फाइबर, भिटामिन, मिनरल हुन्छ ।

ठिक्क खाँदा आलुले शरीरलाई धेरै फाइदा गर्दछ । आलुलाई राम्रोसँग पखालेर बोक्रासहित खाँदा अझै बढी फाइदा हुने डा. थापाको भनाइ छ । किनकि, आलुको बोक्रामा फाइबर पाइन्छ । आलुलाई घरमा पकाएर खाने, कम तेलमा पकाउने गर्नुपर्ने उनी बताउँछिन् । तर बजारमा पाइने तेलमा तारेर बनाएको आलु चिप्स, कुरकुरे, फ्रेन्च फ्राइ जस्ता परिकार भने नखान उनको सुझाव छ ।

यसैगरी नेपालीमा भान्सामा नछुट्ने चामलको प्रयोगमा पनि ध्यान दिनुपर्छ । साधारण मिलमा कुटेको सेतो चामलभन्दा खैरो चामलमा भाइबर र भिटामिन बढी हुने हुनाले यसको प्रयोग बढाउनुपर्ने डा. थापा बताउँछिन् । यसरी आलु र चामल सही रुपमा उपभोग गरेको यसले कार्बोहाइड्रेटको कमी पूरुा गर्छ भने विभिन्न रोगबाट समेत बचाउँछ ।

भान्साभित्र नै औषधि उपचारको पद्धति रहेको पोषणविद् डा. थापा बताउँछिन् । उमेरअनुसारको शारीरिक वजन हुनु जरुरी हुने उनको भनाइ छ । पछिल्लो पुस्ता दुब्लो–पातलो शरीरप्रति आकर्षित भएको पाइन्छ, तर यसको पनि सीमितता हुन्छ । उनी भन्छिन्, ‘१५ वर्षको उमेरका केटा-केटीको तौल ४५ देखि ४७ केजीसम्म एकदमै राम्रो हुन्छ ।’

यसैगरीको घरमा पकाएको सादा खानामा नै जोड दिएर कार्बोहाइड्रेट मिलाएर खानसके शरीरका लागि फाइदाजनक हुने डा. थापा बताउँछिन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

कार्बोहाइड्रेट पौष्टिक तत्व
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली