+
+
सरकारी जागिरको भोक :

विहान तीन नबज्दै पुस्तकालय पुग्छन्, बत्ती खोज्दै भौंतारिन्छन्

काठमाडौंमा बसेर सरकारी जागिरको तयारी गर्ने सामान्य आर्थिक अवस्थाका विद्यार्थीहरु शान्त ठाउँ र पढ्ने सामग्रीहरुको खोजीका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुग्छन् । तर त्यहाँ पनि सजिलोसँग पढ्न पाउँदैनन् ।

अंगद सिंह अंगद सिंह
२०७८ फागुन ९ गते २०:३४
त्रिवि पुस्तकालयको गेटमा लाइन राखिएको विद्यार्थीको झोला (बाँया) र झोला लाइनमा राखेर नजिकै बत्तीको उज्यालोमा पढ्दै गरेकाहरु ।

९ फागुन, काठमाडौं । मस्त निदाइरहेको छ सहर । सुनसान छन् गल्लीहरु । परसम्म कुकुर भुकेको आवाज सुनिन्छ । त्यही चकमन्न रातमा मोबाइलको लाइटको भरमा कीर्तिपुरको साँघुरो गल्लीबाट युवा युवतीहरु निस्किन्छन् ।

झोलामा किताब, थर्मसमा तातो पानी हालेर उनीहरुका पाइला त्रिभुवन विश्वविद्यालयतर्फ अघि बढ्छन् । कोही एक्लै त, कोही समूहमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसर पुग्छन् ।

त्रिवि केन्द्रीय पुस्तकालयको गेट बिहान ६ बजे मात्र खुल्छ । तर पुस्तकालयमा बस्ने सिट पाउन सरकारी जागिरको परीक्षा तयारीमा रहेकाहरु हरेक दिन विहान ३ बज्दा नबज्दै पुग्छन् । पिठ्युँको झोला गेट बाहिर लाइनमा राख्छन् । सबभन्दा पहिला आइपुग्नेको झोला एक नम्बरमा हुन्छ भने अरुले त्यस पछाडि राख्दै जान्छन् ।

सिरहाका श्रवणकुमार यादव पनि पढ्नका लागि बिहान झिसमिसेमै त्रिवि केन्द्रीय पुस्तकालय धाउन थालेको पनि करिब एक महिना भयो । सिरहामै स्नातक (बिए) पहिलो वर्ष पढ्दै गरेका उनी लोकसेवा आयोगले लिने परीक्षाको तयारी गर्न काठमाडौं आएका हुन् । कीर्तिपुर स्तुपा नजिकै उनले मासिक चार हजार रुपैयाँ तिर्ने गरी कोठा भाडामा लिएका छन् ।

श्रवणकुमार बिहान तीन बजे उठिसक्छन् । हात मुख धुन्छन्, सरसफाइ गर्छन् र पानी तताउँछन् । किताब र तातोपानी झोलामा राखेर सवा तीन बजे कोठाबाट निस्किन्छन् । त्रिवि पुस्तकालयको गेटमा पुग्दा साढे तीन भइसकेको हुन्छ ।

आइतबार बिहान उनी पुग्दा उनी अगाडि ५७ वटा झोला लाइनमा थियो । उनले ५८औं नम्बरमा झोला राखे । झोलाबाट किताब र थर्मस निकाले, अब पढ्नका लगि उज्यालोको खोजीमा लागे ।

केन्द्रीय पुस्तकालय वरपर धेरै बत्ती छैन । केही बिजुलीको पोलमा मात्र बत्ती बल्छन् । चाँडै आइपुग्नेहरु त्यही विजुलीको पोल र पुस्तकालयको बरन्डामाथि झुन्डिएका बत्तीको उज्यालोमा पढिरहेका हुन्छन् ।

पछाडि आइपुग्नेहरुले मोबाइलको उज्यालोमै पढ्नुपर्छ । श्रवणकुमारले पनि पढ्ने उज्यालो पाएनन् । गणितको केन्द्रीय विभाग रहेको भवनको बरण्डामा मोबाइलको उज्यालो बालेर किताब पढ्न थाले । यहाँ आएकाहरु कसैसँग चुइक्क बोल्दैनन् । सुनसान वातावरणमा दत्तचित्त भएर पढिरहन्छन् ।

जब गेट खुल्ने समय हुन्छ, उनीहरु आ–आफ्नो झोला समातेर बस्छन्, र पालैपालो भित्र जान्छन् ।

विहान ६ बजे पुस्तकालय भवन प्रवेश गर्ने उनीहरु १० बजेतिर खाना खान कोठामा जान्छन् । श्रवण पनि कोठामा गएर खाना पकाउँछन्, खान्छन् र फेरि पढ्न आउँछन् । ‘पढ्न त कोठामै बसेर पनि पढ्न सकिन्थ्यो, तर कोठामा विस्तारा देखेपछि शरीरले अराम खोजेको महसुस हुन्छ, अल्छी लाग्छ’ नायब सुब्बाको तयारी गरिरहेका यादव भन्छन्, ‘सानैदेखि सरकारी जागिर खाने सपना थियो, जसलाई पुरा गर्न पढ्ने बानीको विकास गरिरहेको छु ।’

उनकाअनुसार कोठामा बस्दा कहिले मोवाइल चलाउन मन लाग्छ त कहिले चलचित्र हेर्न । कहिले पानी खान त कहिले चिया खान मन लाग्छ, निन्द्रा लाग्दा सुन्छन् । त्यो सबैबाट पार पाउन र सुब्बा बन्ने सपना पुरा गर्न पनि त्रिवि केन्द्रीय पुस्तकालयमा आएर पढ्ने गरेको श्रवणकुमार सुनाउँछन् ।

१८ वर्षका भए श्रवणकुमार । उनाई जसरी पनि सरकारी जागिर खानु छ, कतारमा पसिना बगाइरहेका बुवालाई नेपाल बोलाउनु छ । उनकी आमा घरमा खेतिपाती गरेर गुजरा चलाइरहेकी छिन्् भने बुवाले पनि घरखर्च पठाउने गर्छन् । ‘जागिर खाएर बाआमालाई सुख दिनु छ, भाइबहिनीलाई पढाउनु छ,’ यादवले अनलाइनखबरसँग भने, ‘ यहाँ आएपछि पढ्ने बानीको विकास हुने, एकाग्र भएर पढ्न मन लाग्ने र पढेको याद रहने भएकाले आएको हुँ ।’

तर, लोकसेवाको परीक्षा कहिले रद्द हुने त कहिले सर्ने गर्दा तनाव थपिएको छ श्रवणकुमारमाथि । ‘समयमा परीक्षा भए आफ्नो क्षमता थाहा हुन्थ्यो कमजोरी सुधार्न मिहिनेत गर्न सक्थेँ । तर समयमा परीक्षा नहुँदा समस्या भएको छ,’ उनले गुनासो गरे ।

कैलालीका रमेश (उनकै आग्रहमा नाम परिवर्तन गरिएको) दुई वर्षदेखि स्तरवृद्धिका लागि लोकसेवा परीक्षाको तयारी गरिरहेका छन् । पढ्नका लागि कीर्तिपुरको भत्केपाटीबाट हरेक दिन चार बज्दा नबज्दै त्रिवि केन्द्रीय पुस्तकालय परिसर पुग्छन् । आइतबार पनि झोला लाइनमा राखेर उनी नजिकैको भूगोल विभाग अगाडि उभिएर पढिरहेका थिए ।

उनले २०७२ सालमा सरकारी सेवा प्रवेश गरेका थिए । सरकारी सेवा प्रवेश गर्नुभन्दा पहिला पनि उनी यसरी नै बिहान चार बजे भन्दा पहिला पढ्नका लागि त्रिवि पुगिसकेका हुन्थे । सरकारी सेवा प्रवेश गरेको सात वर्षपछि पनि उनी स्तरवृद्धिका लागि भन्दै बिहान चार बजेभन्दा पहिला त्रिवि पुगिरहेका छन् । ‘समयमा परीक्षा भएको भए अहिलेसम्म स्तरवृद्धि भइसक्थ्यो,’ भन्छन्, ‘समयमा लोकसेवाको परीक्षा नहुँदा मजस्ता थुप्रैलाई समस्या भएको छ ।’

भत्केपाटीबाट त्रिवि पुग्दा तीन पटक चितुवा देखेकाले उनी एक्लै हिँड्न डराउँछन् । केन्द्रीय पुस्तकालय गएर पढ्नेको संख्या  बढ्दो छ । तर पुस्तकालयमा कोठा थपिएको छैन ।

त्रिविको शान्त वातावरणमा पढ्नुको मज्जा बेग्लै रहेको बताउँछन् रमेश । यहाँ आएर पढेका कुराहरु याद हुन्छ, नजानेका कुरा साथीभाइहरुलाई सोध्छन् र जानेको कुरा सिकाउँछन् । ‘पढाइ पनि नशाजस्तै हो, लत परेपछि छोड्न सकिँदैन । दुःख भएपनि त्रिविमा आएर पढ्नुको मजा बेग्लै हुन्छ’, रमेशले भने ।

पढ्नका लागि त्रिवि केन्द्रीय पुस्तकालय धाउँछन्, अछाम तुर्माखाद गाउँपालिका–५ का विष्णुप्रसाद जोशी पनि । उनी हरेक दिन साढे तीन बजेभित्र त्रिवि परिसर पुगिसक्छन् । राष्ट्रिय वाणिज्य बैंकको जागिरमा प्रतिस्पर्धाको तयारी गरिरहेका उनी त्रिविमै एमबीएस तेस्रो सेमेस्टरमा पढिरहेका छन् । त्यहाँकै छात्रबासमा बस्छन् ।

‘कोठामा यहाँ जस्तो पढ्न मन लाग्दैन । यहाँ थाहा नभएको कुरा साथीभाइलाई सोध्न सकिन्छ,’ जोशी भनछन्, ‘लोकसेवा नै सपना भएकाले बिहानको चिसो खाइरहेको छु । तर समयमा परीक्षा नहुँदा समस्या भएको छ ।’

उनको अछाममा खेतीपाती छ, आमा बा खेतीपाती मजदुरीका लागि बेलाबेला भारत पनि जान्छन् । त्यही कमाइका कारण जोशीले काठमाडौंमा बसेर पढ्न पाएका हुन् । उनी लोकसेवाको तयारी गर्ने घरको पहिलो सदस्य समेत हुन् । उनी बिहान साढे तीन बजेदेखि १० बजेसम्म त्रिवि पुस्तकालयमा बसेर लोकसेवाको तयारी गर्छन् भने दिउँसो डेढ बजेदेखि कलेज जान्छन् ।

यसरी विहान झिसमिसेमा त्रिवि केन्द्रीय पुस्तकालय पुग्ने र लोकसेवाको तयारी गर्नेमा महिलाहरुको संख्या पनि उल्लेख्य छ । उनीहरुमध्ये एक हुन रविना (नाम परिवर्तन) । उनी पढ्नका लागि बिहान साढे तीन बजे त्रिवि परिसर पुग्छिन् ।

आइतबार पनि उनी झोला लाइनमा राखेर साथीहरुसँग अंग्रेजी विभागतर्फ लागिन्, जहाँ उज्यालोको व्यवस्था थियो । शाखा अधिकृतको तयारी गरिरहेकी उनलाई हर हालतमा सरकारी सेवामा प्रवेश गर्नु छ । उनका अनुसार त्रिवि केन्द्रीय पुस्तकालयको माहोल देख्दा जो कोहीलाई पढौंपढौ लाग्छ ।

त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठ भूकम्पले केन्द्रीय पुस्तकालयमा क्षति पुर्‍याएपछि विद्यार्थीहरुका लागि वैकल्पिक कोठाको व्यवस्था गरिएको बताउँछन् । ‘सीमित ठाउँ भएका कारण विद्यार्थीहरु बिहानै आउने गरेका हुन्,’ श्रेष्ठ भन्छन्, ‘पुस्तकालयको नयाँ भवन बनेपछि यस्तो समस्या नरहला ।’

भूकम्पपछि त्रिविले विद्यार्थीका लागि भन्दै पुस्तकालयको छेउमा छ कोठे भवन बनाएको थियो, जसमा तीन कोठामा विद्यार्थीहरुले बसेर पढ्न सक्छन् । एक कोठामा ४० सिट क्षमता छ । अर्थात १ सय ४० जनाले सिटमा बसेर पढ्न सक्छन् । पुस्तकालय बाहिर पुस्तक लैजान नपाइने भएकाले पनि झिसमिसेमै पुग्नु र १४० भित्र पर्नुपर्ने दबाबमा विद्यार्थीहरु हुन्छन् ।

त्यसमा पनि सुरुमा पुग्नेले किताब र झोलासमेत राख्न मिल्ने र्‍याक समेत भएको कोठामा बस्न पाउँछन् । अरुले कुर्सी टेबल मात्र पाउँछन् । त्यसलाई उनीहरुको आफ्नो कोड भाषा छ । त्यहाँ पढ्न आउनेहरुकै भाषामा भन्दा पहिलो आउने ४० जना ‘संघ’मा, त्यसपछिका ४० जना ‘प्रदेश’मा र सबैभन्दा पछाडिका ४० जना ‘स्थानीय तह’मा पर्छन् । खाना खान घर फर्किँदा झोला राख्न पाउने भएकाले जोकोही र्‍याकसहितको कोठा अर्थात ‘संघ’मा बस्न चाहन्छन् ।

तर विहान साढे ३/४ बजे पुग्दा पनि सुरुको ४० जनामा पर्न मुश्किल हुन थालेको छ ।

तर लोकसेवा आयोगले भने सोमबार सूचना जारी गर्दै प्राविधिकतर्फका शाखा अधिकृत र नायब सुब्बाका सबै लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । आयोगले शाखा अधिकृतको परीक्षा फागुन १३ गते र नायब सुब्बाको फागुन २८ गतेलाई तोकिएको थियो ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?