+
+

प्रदर्शनको दौरानमा ‘म यस्तो गीत गाउँछु २’ले भोगेको पीडा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १६:४४

१२ फागुन, काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा चलचित्र हेरेपछि आफू बसेको सिटमै रोइन् । उनलाई केही चलचित्रकर्मीले सम्झाए ।

हलबाट बाहिर निस्कने क्रममा अभिनेत्री निरुता सिंह र निर्देशक दीपाश्री निरौलाको अगाडि फेरि पूजाको आँशु रोकिएन । उनले भनिन्, ‘सधैं हामीमाथि नै यस्तो बज्रपात किन पर्छ ? के सोच्यो के हुन्छ ? दुःख गरेर चलचित्र बनायो, रिलिज हुने क्रममा जहिले यस्तै ?’

पूजाको आँशु पुछ्दै निर्देशक दीपाश्री निरौलाले निराश नहुन आग्रह गरिन् । चलचित्र राम्रो रहेकाले दर्शकले माया गर्ने भन्दै उनले पूजालाई सान्त्वना दिइन् । पूजाको आँशु मिडियाको क्यामेरा अगाडि पुग्दा पनि रोकिएन । उनले रुँदै भनिन्, ‘जहिले पनि भनिन्छ जोडी मनकामना जानु हुँदैन । हुन त पल र म जोडी होइन । तर पल र मेरो जोडी चलचित्रमा जोडिएको थियो । अहिले आएर महसुस भएको छ । हुन त जीवनमा दुःखपछि नै सुख आउँछ भनिन्छ । तैपनि आशा गरेको छु । सुदर्शन थापा र मैले निक्कै मिहिनेत गरेका छौं ।’

पूजाले अगाडि भनिन्, ‘चलचित्र रिलिजको पहिलो मिति तोक्ने बित्तिकै कोरोना महामारी आयो । सोचियो ठिकै छ । यसपछि माघ १९ गतेलाई प्रदर्शन मिति तोक्यौं । फेरि हल बन्द भए । यसपटक पनि यस्तै रहेछ भनेर सोच्यौं ।’

फागुन १३ गते चलचित्र रिलिज हुने दिन नजिकिंदा अर्को बज्रपात भएको पूजाले बताइन् । उनले भनिन्, ‘यो मितिमा छुट्टै उमंग छाएको थियो । तर उमंग छाउँदा छाउँदै खै कसको आँखा लाग्यो थाहा छैन । तर पनि एउटा राम्रो चलचित्र बनाएका छौं, साथ दिनुहोला । मन परेन भने गाली गरिदिनुहोला । तर एकचोटी चलचित्र भने हेरिदिनुहोला ।’

पूजाको आँखाबाट आँशु झरिहँदा निर्देशक सुदर्शन थापाको पीडा पनि कम थिएन । उनले चलचित्रले बारम्बार समस्या भोगेको र रिलिजको मुखमा पनि ठूलो पीडा भएको बताए । तर पनि राम्रो चलचित्र बनाएकाले दर्शकको साथ पाउनेमा उनी विश्वस्त देखिन्थे ।

करिब तीन वर्षअघि गोरखाको मनकामनामा शुभसाइत गर्दै छायांकन सुरु गरेको यो चलचित्रको निर्माण टिमले रिलिजको क्रममा थुप्रै समस्या भोगेको छ । साढे दुई करोडको बजेटमा बनेको यो चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन भने नेपाली चलचित्रको आगामी दिनको बाटो पनि सहज नहुने आम चलचित्रकर्मीको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?