+
+
छिमेक :

कंग्रेसको विकल्प र भाजपाको चुनौती बन्दै केजरीवाल

देशको राजनीतिमा कंग्रेसको विकल्प बनेको ‘आप’ पार्टीका नेताहरूका कुनै राजनीतिक पृष्ठभूमि छैन। जसका कारण ‘आप’ अझै पनि राजनीतिक प्रपञ्चहरूबाट टाढा छ। यदि उनीहरू यही बाटोमा लागिरहने हो भने देशको राजनीतिको शिखरमा पुग्ने सम्भावनालाई नकार्न सकिंदैन।

श्याम यादव श्याम यादव
२०७८ फागुन ३० गते ८:४९

भारतमा सम्पन्न पाँच राज्यको विधानसभा चुनावी परिणामले ठूलो हंगामा ल्याएको छ। यसले दिल्लीलाई सेमिफाइनलसम्म पुर्‍याएको छ। उत्तरप्रदेशदेखि मणिपुरसम्म भाजपालाई घेर्ने हरसम्भव प्रयास भए तर नतिजा प्रतिकूल रह्यो। यहाँसम्म त ठीक छ, तर कंग्रेस र बीजेपी बीचको यो टक्करमा आम आदमी पार्टीले जे गर्‍यो, त्यो भारतीय राजनीतिको सबैभन्दा ठूलो चमत्कार हो। आपले पञ्जाबबाट कंग्रेस सरकार विस्थापित गरेर ‍कब्जा जमायो। चुनावी नतिजा भारतीय जनता पार्टीको अपेक्षाबमोजिम आएको हुनसक्छ तर ‘आप’को जित उसका लागि खतराको घण्टी पनि हो।

पञ्जाबमा सत्ताको राजमार्गबाट कंग्रेस टाढा भएको देखेर भन्न सकिन्छ कि प्रधानमन्त्री नरेन्द्र मोदीको ‘कंग्रेस विना भारत’ अभियानले अर्को सफलता पाएको छ। तर, योसँगै एउटा पार्टीले भारतीय राजनीतिको क्षितिजमा राजनीतिको नयाँ अध्याय अवश्य लेखेको छ।

यो नयाँ अध्याय ‘आप’ ले लेखेको हो। दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाकमुनि सत्तारुढ ‘आप’ पार्टीले अब राष्ट्रियस्तरमा आफ्नो पैताला राखेको छ। भाजपा र कंग्रेसपछि ‘आप’ यस्तो तेस्रो राजनीतिक दल बनेको छ, जुन पार्टीको एकभन्दा बढी राज्यमा सरकार छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको कंग्रेसरहित भारतको कल्पना पञ्जाबमा स्वीकृत भएको हुनसक्छ र कंग्रेसलाई सत्ताबाट बाहिरिने बाटो देखाइएको छ ! तर, त्यसको फाइदा भारतीय जनता पार्टीले पाएन। दिल्लीमा जस्तो भयो, पञ्जाबमा पनि त्यस्तै भयो। दुवै ठाउँमा कंग्रेसको सरकार थियो, अहिले छैन।

तर, यी ठाउँमा कंग्रेसपछि भारतीय जनता पार्टीले आफ्नो पैताला अड्याउन सकेन। दिल्लीमा शिला दीक्षितको सरकारपछि अरविन्द केजरीवालको सरकार बन्यो र फेरि त्यही सरकारले निरन्तरता पायो। अर्थात् जहाँ कंग्रेस थियो, त्यहाँ आम आदमी पार्टीले कब्जा जमायो।

त्यसैगरी पञ्जाबमा चन्नी सरकारपछि ‘आप’को सरकार बन्ने भएको छ। जहाँ कंग्रेसको शासन थियो, त्यहाँ अहिले कंग्रेस छैन। तर, भारतीय जनता पार्टीलाई पनि जनताले विकल्पका रूपमा रोजेनन्। कंग्रेसले मैदान छाडेलगत्तै रिक्त भएको पदमा भाजपा होइन, आपले कब्जा गरिरहेको छ। अहिले देशमा कंग्रेसको सट्टा भारतीय जनता पार्टीलाई टक्कर दिन आम आदमी पार्टी उभिएको छ भन्न सकिन्छ।

अब देशमा कंग्रेसको विकल्पका रूपमा ‘आप’लाई स्वीकार गरिंदैछ भन्ने अर्थ लाग्ने अवस्था छ। तर, देशमा प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनको आधार उनको दोस्रो इनिङ्समा पनि कायमै छ भन्ने कुरामा कुनै शंका छैन। आज पनि उनी आफ्नो पार्टीका साथै देशवासीमा त्यति नै लोकप्रिय छन्, जति उनी पहिलो कार्यकालमा थिए। उनका धेरै कल्याणकारी योजनाहरू उनलाई लोकप्रिय बनाउन सहयोगी बनिरहेका छन्। नोटबन्दी जस्तै बेरोजगारी, मुद्रास्फीति, किसान आन्दोलन जस्ता धेरै मुद्दाले उनी र उनको पार्टीलाई रोक्न सकेनन्।

विधानसभाको चुनाव अघि उनले गंगामा डुबेसँगै यी सबै मुद्दाहरू डुबे र मोदी र उनको पार्टीले राम मन्दिर, काशी विश्वनाथ करिडोर र मथुरा मन्दिर जस्ता धार्मिक विश्वासमा यी चुनावहरूलाई पार गरेको छ। अब आउँदो दिनमा गुजरात विधान सभाको चुनावपछि लोकसभाको पनि चुनाव हुन लागेको छ।

प्रधानमन्त्री र उनको पार्टीको बाटोमा कुनै अवरोध आउँछ जस्तो लाग्दैन। तर, स्वच्छ भारतका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आफैंले उठाएको झाडू उनको अगाडि आउन सक्छ भन्ने निश्चित छ।

देशको राजनीतिमा कंग्रेसको विकल्प बनेको ‘आप’ पार्टीका नेताहरूका कुनै राजनीतिक पृष्ठभूमि छैन। जसका कारण ‘आप’ अझै पनि राजनीतिक प्रपञ्चहरूबाट टाढा छ। यदि उनीहरू यही बाटोमा लागिरहने हो भने देशको राजनीतिको शिखरमा पुग्ने सम्भावनालाई नकार्न सकिंदैन।

(अमर उजाला बाट भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?