+
+

लकडाउनको फुर्सदले चिनायो प्रतिभा

पोखरामा पहिलो पोखरा अन्तर्राष्ट्रिय आर्ट फेस्टिवल सुरु

विकास रोकामगर विकास रोकामगर
२०७८ चैत २ गते २०:११

२ चैत, पोखरा । कोरोना महामारी अघि पोखराका सोम बिक ट्रेकिङ व्यवसायमा आवद्ध थिए । स्वदेशी विदेशी पाहुुनासँग नेपालका कुनाकन्दरामा उनको दैनिकी बित्थ्यो । तर, २ वर्षअघि कोरोना महामारी भित्रिएसँगै उनको २ दशक पूरानो व्यवसायमा लगाम लाग्यो ।

सबै क्षेत्र ठप्प रहेका बेला उनले विकल्प पनि सोच्न सकेनन् । लामो समय उनी घरभित्रै थुनिन बाध्य भए ।

तर, दैनिकजसो उकाली, ओराली गर्दै आएका बिक कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनको समयमा पनि शान्त बस्न सकेनन् । ‘टाइमपास’का लागि गज्जबको उपाय फुराएका उनले बाँसका विभिन्न गरगहना बनाउन थाले । महामारीको दुविधामय फुर्सदिलो समयलाई उनले रचनात्मक बनाउन थाले ।

उसो त बिक अरुबेला फुर्सदको समयमा चित्र पनि कोर्थे । तर, सानैदेखि बाँसका सामग्री बनाउँदै आएका उनले त्यसैलाई निरन्तरता दिने सोचे । ‘गाउँघरमा पाइने बाँसलाई सानैदेखि के के बनाएर बस्थेँ । लकडाउनका बेला फेरि तिनै रुचिलाई निरन्तरता दिने सोचेँ’, उनी सुनाउँछन्, ‘अहिले त रसै बस्यो ।’

ट्रेकिङको समयमा नेपालका कुनाकाप्चामा पुगेका बेला प्लास्टिकजन्य फोहोरले बिकलाई खिन्न बनाएको थियो । पर्यटनमा २५ वर्ष लामो अनुभव संगालेका उनले पछिल्लो समय हिमाली भेगमा प्लास्टिकजन्य फोहोरले पार्दै गइरहेको प्रभाव पनि नजिकबाट नियालेका थिए ।

बाँसका सामान बनाउने उनलाई वातावरणमैत्री गरगहना बनाउन सकिन्छ भनेर देखाउनु पनि थियो । ‘धातुभन्दा हलुकामात्रै नभएर यो वातावरणमैत्री पनि छ । युज एन्ड थ्रो गर्दा पनि वातावरणलाई असर गर्दैन’, उनी भन्छन् । लकडाउनमा बाँसबाट गरहगहना बनाउन सुरु गरेका उनले अहिले यसैलाई व्यवसायकै रुपमा अघि बढाएका छन् ।

बिकले बाँसबाट बनेका गरगहनाहरु प्रायः फेवाताल किनारमा बिक्रीका लागि राख्छन् । आम्दानी पनि राम्रै हुने गरेको छ । त्यसमा पनि स्वदेशी भन्दा विदेशी पर्यटकले उनको कला देख्यो कि किन्ने गरेको उनी सुनाउँछन् । ‘नेपालीले भन्दा विदेशीले यस्तो कला मन पराउँछन् । मेरा ग्राहक पनि उनै हुन्,’ उनले भन्छन् ।

बिकले गरगहना बनाउन प्रयोग गर्ने बाँस कम्तीमा पाँच वर्ष पुरानो हो । नयाँ र कमजोर बाँसले गरगहना बनाउँदा कमजोर हुने र सोचेजस्तो कलाकृति उतार्न नसकिने उनको अनुभव छ । कहिलेकहीँ चित्र कोर्ने भए पनि कोरोना महामारीले आफूभित्रको कलालाई उजागर गर्न समय मिलेको उनको अनुभव छ ।

बिकजस्तै लेकसाइडकै विजया क्षेत्री पनि लामो समयदेखि पर्यटन व्यवसायमै आवद्ध थिइन् । तर, कोरोनाका महामारीका कारण भएको लकडाउनपछि उनले पनि बाटो मोडिन् । उनले अहिले अर्गानिक सौन्दर्य प्रशोधनका सामग्री बनाउन सुरु गरेकी छन् ।

‘पहिले पनि फुर्सदको समयमा केही न केही गरेर बस्थ्यौं । कोरोना लकडाउनमा पनि खाली बस्न मन लागेन । के गर्ने भनेर धेरै सोचियो । त्यतिबेला अर्गानिक सौन्दर्य प्रशोधनका सामग्री बनाउने एउटा कम्पनीसँग आवद्ध पनि थिएँ’, क्षेत्रीले सुनाइन्, ‘त्यसपछि अरुकोमा काम गर्नुभन्दा आफ्नै सुरु गर्नुपर्छ भन्ने लाग्यो ।’ क्षेत्रीले लकडाउनमै अर्गानिक सौन्दर्यका प्रशाधन बनाउन अनलाइन कक्षा लिइन् ।

लकडाउनका कारण उद्यमी बनेका विक र क्षेत्री मंगलबारदेखि पोखरामा सुरु भएको पहिलो अन्तर्राष्ट्रिय आर्ट फेस्टिभलमा आफ्नो ‘कला’सहित भेटिएका हुन् । आइडब्ल्यु हेमकान्ती आर्ट ग्यालरीले आइडब्ल्यु भियतनामको सहकार्यमा पोखरामा ३ दिने फेस्टिवल गरिरहेको छ ।

फेस्टिवलमा सबु लामाले विभिन्न फोहोरजन्य, प्लास्टिकजन्य पदार्थबाट बनाइएको झोला, जुत्ता, ह्यांगर, काष्ठकलालगायतका सामग्री पनि प्रदर्शनमा राखिएका छन् ।

बिहीबार सकिने फेस्टिवलमा कलाकृतिबाहेक चित्रकलासमेत प्रदर्शनीमा राखिएको छ । विभिन्न २८ देशका कलाकार सहभागी भएको प्रदर्शनीमा फरक फरक थिमका ६० वटा चित्रकला राखिएको आइडब्ल्यु हेमकान्ति आर्ट ग्यालरीकी हेमकान्ति गुरुङले जानकारी दिइन् । पोखरामा प्रदर्शनमा राखिएका चित्रकला पछि भियतनाममासमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

‘यहाँ प्रदर्शन भएका चित्रकलामध्ये ३० वटा चित्र भियतनाममा आउँदो अप्रिलमा पनि देखाइने छ । त्यसमा नेपालबाट ८ जना कलाकार छानिएका छन्’, गुरुङले भनिन्, ‘हामीसँग प्राप्त भएका सय वटा चित्रबाट छानेर प्रदर्शनमा राखेका हौँ ।’

उत्कृष्ट चित्रकला प्रदर्शनका लागि मेक्सिकोकी कलाकार तेरी लजोरी, हङकङकी कलाकार जेजे ली, टर्कीका कलाकार एटानुर डोगन र चेक रिपब्लिकका एलेक्जेन्ड्राले निर्णायकको भूमिका निभाएका थिए ।

मंगलबार फेस्टिवल उद्घाटन समारोहमा कलाकारले विभिन्न पहेँलो रङमा ‘पर्फमेन्स आर्ट’ पनि देखाएका थिए । पोखरामा पनि अन्तर्राष्ट्रिय कला महोत्सव गर्न सकिन्छ भनेर देखाउन आफूहरुले फेस्टिवल आयोजना गरेको गुरुङले सुनाइन् ।

‘काठमाडौंमा यस्तो किसिमको फेस्टिवल आयोजना भइरहन्छ । तर, पोखरामा भने अलि कम हुने गरेको छ । पोखरामा पनि कलाको सम्भावना छ, सम्भव छ भनेर देखाउन फेस्टिवल आयोजना गरेका हौँ’, गुरुङले भनिन्, ‘पेन्टिङबाहेकमा पनि आफूभित्रको कलाकारिता देखाउन सकिन्छ भनेर काष्ठकला, बाँसकला प्रदर्शनमा राखेका छौँ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?