
८ चैत, काठमाडौं । पछिल्लो समय गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकाका पेट्रोल पम्पमा सेना खटाइएको छ । पेट्रोल पम्पमा हिंसात्मक गतिविधि हुन थालेपछि सेना खटाइएको हो ।
लाइनमा उभिँदाउभिँदै तीनजना वृद्धको मृत्यु तथा लाइनमा उभिने मानिसबीच कुटाकुट हुन थालेपछि पेट्रोल पम्प र मट्टितेल स्टेशेनमा सेना खटाउने निर्णय भएको श्रीलंकाका अधिकारीले जनाएका छन् । ‘हरेक इन्धन पम्पमा कम्तिमा २ जना सैनिक खटाइने छ’, सैनिक प्रवक्ता निलन्था प्रेमारत्नेले रोइटर्स समाचार माध्यमसँग भने ।
पम्पमा खटिने सैनिकले इन्धन वितरणमा सघाउने भए पनि भीड नियन्त्रण नगर्ने पनि प्रेमारत्नेको भनाइ थियो । सैनिक अधिकारीका अनुसार सरकारी स्वामित्वमा रहेको एवं इन्धनको दुई तिहाई बजार ओगट्ने सिलोन पेट्रोलियम कर्पोरेशनका पम्पमा सैनिक खटाउन लागिएको हो ।
मानिसहरूले पेट्रोल र मट्टितेलको संचय अत्यधिक गर्न थालेको, राम्रोसँग वितरण हुन नसकेको र पम्पमै कुटाकुट एवं हिंसात्मक झडप हुन थालेको गुनासो आएपछि पम्पमा सेना खटाउने निर्णय गरेको सरकारका प्रवक्ता रमेश पथिरानाले बताए ।
उनले भने, ‘सर्वसाधारणलाई सघाउन सैनिक परिचालन गरिएको हो, उनीहरूको मानव अधिकार कुण्ठित गर्न परिचालन गरिएको होइन् ।’
विदेशी मुद्राको अभावमा खाद्यान्न, औषधि एवं इन्धन जस्ता अत्यावश्यक वस्तु आयात हुन नसक्दा श्रीलंकाको जनजीवन निकै प्रभावित बनेको छ । त्यहाँ पेट्रोलसहितका अत्यावश्यक वस्तु किन्न मानिसहरू कैयौं घण्टासम्म लाइनमा उभिन बाध्य भएका छन् । लाइनमा उभिएका मानिसहरूबीच तँछाडमँछाड हुँदा बेला(बेला हिंसात्मक गतिविधि समेत हुन थालेको देखिन्छ ।
सोमबार टेम्पो चालकसँग भनाभन भएपछि एक पुरुषको चक्कु हानेर हत्या गरिएको थियो । त्यस्तै, गतहप्ता चर्को घाममा पेट्रोल किन्ने लाइनमा बसेका तीनजना वृद्ध पुरुषको मृत्यु भएको थियो ।
‘लाइन लामो हुँदै गएपछि आक्रोशपूर्ण अवस्था सिर्जना हुन थालेको छु, नाम उल्लेख नगर्ने शर्तमा एकजना सुरक्षा अधिकारीले एएफपीलाई बताए, ‘सोमबार राति प्रहरीलाई सहयोग गर्न सैनिक परिचालन गर्ने निर्णय भएको छ । कुनै खाले अप्रिय घटना नहोस् भनेर यस्तो निर्णय गरिएको हो ।’ अलजजिराबाट
प्रतिक्रिया 4