+

‘उच्च रक्तचापको औषधि जीवनभर खानैपर्छ भन्ने छैन’

२०७९ वैशाख  ८ गते १६:१२ २०७९ वैशाख ८ गते १६:१२
‘उच्च रक्तचापको औषधि जीवनभर खानैपर्छ भन्ने छैन’

काठमाडौं । उच्च रक्तचापबाट अहिले धेरै पीडित छन् । अव्यवस्थित जीवनशैली, व्यायामको कमी लगायत विभिन्न कारणले उच्च रक्तचापको समस्या बढ्दो छ ।

यसको नियन्त्रणका लागि औषधि सेवन गर्नेहरुको संख्या पनि लगातार बढिरहेको छ । तर औषधि सेवन गर्नेहरुमा पनि केही भ्रम देखिन्छ ।

उच्च रक्तचापको औषधि सेवन गर्न थालेपछि कहिल्यै छोड्न मिल्दैन ? एउटा कम्पनीको औषधि सेवन गरिरहेकाले अर्को औषधिको सेवन गर्न मिल्छ कि मिल्दैन ? जस्ता प्रश्न धेरैको मनमा उब्जिने गरेका छन् ।

यिनै विषयमा आधारित रहेर वीर अस्पतालमा कार्यरत् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. हरिहर खनालसँग गरिएको कुराकानीको सम्पादित अंश :

उच्च रक्तचापको औषधि एकपटक खान सुरु गरेपछि छाड्नै मिल्दैन भन्छन् नि ?

चिकित्सकले उच्च रक्तचापको बिरामीलाई बेलाबेलामा फलोअप गर्न बोलाइरहेका हुन्छन् । जाँच गर्दा प्रेसर घटबढको अवस्थालाई मूल्यांकन गरेर औषधि घटाउने वा छाड्ने गर्न मिल्छ । बिरामीले आफूखुसी औषधी नछाडुन् भन्ने मनसायले प्रेसरको औषधि छाड्न मिल्दैन भनिएको हो । आफूखुसी औषधि छाड्दा स्ट्रोक, प्यारालाइसिस भएको धेरै केस छन् । त्यही कारण प्रेसरको औषधि छाड्न मिल्दैन भनिएको हो । औषधि घटाउन, बढाउन वा छाड्नै नमिल्ने भने होइन ।

औषधि सेवन गरेर रक्तचाप नियन्त्रण भयो भने यस्तो अवस्थामा औषधि छाड्न सकिन्छ ?

औषधिको सेवनपछि प्रेसर नियन्त्रण भयो भने यस्तो अवस्थामा औषधि छाड्न मिल्दैन । औषधि सेवनको कारण प्रेसर नियन्त्रण भएको हो, औषधि ठिक्क छ भने त्यसलाई छाड्न मिल्दैन भनेर बुझ्नुपर्छ । प्रेसर घट्दै गयो नर्मलभन्दा तल झर्दै गयो भने बल्ल औषधि घटाउँदै गएर छाड्ने हो । तर नियन्त्रण हुँदैमा औषधि छाड्न भने मिल्दैन ।

उच्च रक्तचापको औषधि खाइरहँदा त्यसको साइड इफेक्ट हुन्छ भन्ने बुझाइ छ, के यो सत्य हो ?

रक्तचापको मात्र होइन, सम्पूर्ण एलोपेथिक औषधि सुरक्षाको धेरै स्टेज पार गरेर बजारमा आएका हुन्छन् । पहिले ल्याबमा टेस्ट हुन्छ, अनि जनावरमा टेस्ट हुन्छ र केही निश्चित मानिसमा टेस्ट हुन्छ । हरेक अंगमा त्यो औषधि कति पुग्छ र कति प्रभाव पार्छ सबै कुराको जाँच हुन्छ । त्यसैले प्रायः औषधि शतप्रतिशत सुरक्षित हुन्छ ।

औषधिको साइड इफेक्ट एक–दुई प्रतिशत मानिसलाई मात्र हुने हो ।  त्यस्तो साइड इफेक्ट खानामा पनि हुन सक्छ । कुनै औषधिको केही व्यक्तिलाई साइड इफेक्ट हुन सक्छ । त्यसकारण साइडइफेक्ट महत्वपूर्ण कुरा होइन । औषधि सुरक्षित छ कि छैन भन्ने कुरा बढी महत्वपूर्ण कुरा हो ।

उच्च रक्तचापको औषधि नखाँदा त्यसले कस्तो हानि गर्न सक्छ ?

औषधिको सेवन गर्ने भनेको उच्च रक्तचाप नियन्त्रण गर्न हो । यदि बिरामीले उच्च रक्तचापको औषधि खाएन भने रक्तचाप फेरि बढेर जान्छ र रक्तनली फुट्ने सम्भावना हुन्छ । जसले गर्दा मस्तिष्क, मुटु, मिर्गौला, आँखालगायत अंगको नसा फुट्न सक्छ । जसकारण मस्तिष्क घात, किड्नी फेल, अन्धोपना हुने र हृदयघात पनि हुन सक्छ ।

योग, ध्यान गरेर वा जीवनशैली सुधारेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ भनिन्छ । के जीवनशैली सुधारे औषधि नखाँदा पनि हुन्छ ?

प्रेसरको समस्या धेरैजसो दिउँसोको समयमा देखिन्छ । राति मान्छे निदाएको बेला प्रेसर नियन्त्रण हुन्छ । यसको मतलब हाम्रो जीवनशैली खानपान, बोली व्यवहार, समाज, समाचार र प्रदूषण आदिको प्रभावको कारणले प्रेसरको समस्या हुन्छ ।

योग तथा ध्यान मानसिक तनाव कम गर्नको लागि राम्रो उपाय हो । औषधिजस्तै जीवनशैली पनि उच्च रक्तचाप नियन्त्रण गर्ने प्रभावकारी उपाय हो । त्यसैले प्रेसरको औषधिसँगै व्यायाम, योग, ध्यान र खानपानमा पनि ध्यान दिन सकियो भने रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जीवनशैली सुधारेर औषधि सेवन छाड्ने बिरामीहरू पनि छन् ।

रक्तचापको लेबल हेरेर, जीवनशैली सुधारेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । तर रक्तचाप एकदमै बढी छ भने जीवनशैली मात्र सुधारेर हुँदैन सँगसँगै औषधि पनि सेवन गर्नुपर्छ ।

कस्तो अवस्थामा उच्च रक्तचापको औषधि सिफारिस गरिन्छ ?

रक्तचापलाई हल्का, मध्यम र गम्भीर भनेर वर्गीकरण गरिएको छ । १३० र ८० भन्दा कम वा त्यसको हाराहारीको प्रेसरलाई नर्मल भनिन्छ । त्यो भन्दा बढी १०० र १५० तथा १६० सम्म भयो भने हल्का भनिन्छ । १६० भन्दा बढी भयो मध्यम र त्यो भन्दा पनि भयो भने गम्भीर भनिन्छ ।

हल्का प्रेसरलाई जीवनशैली सुधार्ने र बेलाबेलामा रक्तचाप जाँच गर्ने सल्लाह दिइन्छ । यदि मध्यम छ वा गम्भीर छ भने जीवनशैली सँगसँगै औषधिको पनि सेवन गर्ने सल्लाह दिइन्छ ।

डाक्टरले कुनै कम्पनीको औषधि सिफारिस गरेका छन्, कारणवश अर्को कम्पनीको औषधि खानु परेमा के गर्ने ?

सकेसम्म डाक्टरले सिफारिस गरेको औषधि नै खाने प्रयास गर्नुपर्छ । यदि कारणवश अर्को कम्पनीको औषधि खानु परेमा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कम्पनीको औषधि सेवन गर्नुपर्छ ।

नेपालमा औषधिको गुणस्तरको कारणले पनि केही राम्रा कम्पनी मात्र छानेर औषधि सेवन गर्नुपर्ने बाध्यता छ । त्यसैले सकेसम्म डाक्टरले सिफारिस गरेकै कम्पनीको औषधि सेवन गर्नुपर्छ । कम्पनी फेर्नुपर्ने अवस्थामा पनि सकेसम्म डाक्टरको सल्लाह लिनुपर्छ ।

उच्च रक्तचापको औषधि कुन समयमा खानु बढी उपयुक्त हुन्छ ?

धेरैजसो औषधिमा नै लेखिएको हुन्छ त्यो बिहान वा साँझमा खाँदा प्रभावकारी हुन्छ भनेर । ग्यास्ट्रिक छैन भने उच्च रक्तचापको औषधि सकेसम्म बिहान खाली पेटमा खाएको राम्रो हो । बिहान खाली पेटमा औषधि सेवन गर्दा धेरै औषधि रगतले सोस्छ र प्रभावकारी हुन्छ । बिहानै खाँदा औषधि छुट्ने सम्भावना पनि कम हुन्छ ।

यदि आफूले प्रयोग गरिरहेको कम्पनीको औषधि भेटिएन भने के गर्ने ?

आफूले सेवन गरिरहेको कम्पनीको औषधि भेटिएन भने विश्व स्वास्थ्य संगठनले मान्यता दिएको जुन कम्पनीको औषधि भेटिन्छ त्यही प्रयोग गर्नुपर्छ । प्रयोग गरिरहेको औषधि भेटिएन भने डाक्टरसँग सल्लाह लिएर पनि अन्य कम्पनीको औषधि सेवन गर्दा हुन्छ ।

कारणवश औषधि खान छुटाइयो भने के हुन्छ ?

सकेसम्म औषधि छुटाउनै भएन । यदि औषधि खान बिर्सिएको छ भने सम्झने बित्तिकै खाइहाल्नुपर्छ । केही कारणवश औषधि खान छुटाइयो भने प्रेसर ह्वात्तै बढ्न सक्छ । प्रेसर बढेकै कारण नसा फुटेर मस्तिष्कघात, हृदयघात, मिर्गौला फेल र अन्धोपन पनि हुन सक्छ ।

‍औषधि उच्च रक्तचाप
लेखक
सुमित्रा लुइँटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय