+
+

‘सिटिस्क्यान गर्दा रक्सी पिउने मान्छेको मस्तिष्क सुकेको देखिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ९:४४

१० चैत, काठमाडौं । रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा हुन्छ ।

मदिराले हाम्रो शरीरमा कस्तो असर पार्छ ? रक्सीको सेवनपछि मानिस उत्तेजित र आनन्दित हुन्छन्, यसको कारण के हो ? लगायतका विषयमा वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. राजीव झासँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानी :

रक्सी पिएपछि मानिसले एक किसिमले आनन्द महसुस गर्छन्, रक्सी र आनन्दबीच मस्तिष्क वा स्नायु प्रणालीको कुनै सम्बन्ध हुन्छ ?

रक्सी खाएपछि मानिसहरू विभिन्न स्टेजबाट गुज्रिरहेको हुन्छन् । पहिलो सुरुवाती स्टेजमा मान्छेहरूले आनन्द महसुस गर्छन् । एकदमै रिल्याक्स फिल गर्छन् । धेरै मान्छेले तनाव भइराथ्यो, त्यहीं भएर रक्सी खाए भनेको पनि सुनेका छौं हामीले । रक्सी खाएपछि शरीरमा एउटा स्पेसल हर्मोनको विकास हुन्छ । जसलाई हृयाप्पी हर्मोन भनिन्छ जुन मस्तिष्कमा विकास हुन्छ । जसले गर्दा मानिसले आनन्दित महसुस गर्छ । त्यसैले रक्सी खाएर आनन्द महसुस गर्छु भनेको सत्य पनि हो ।

रक्सी भनेपछि यसमा धेरै कुरा मिसिएको हुन्छ । स्पि्रट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ, अनि पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्छ ।
रक्सी रगतको माध्यमबाट पनि शरीरको हरेक अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । त्यसैले मस्तिष्कसँग सम्बन्धित समस्या बढी देखिन सक्छ ।

रक्सीले कसरी मस्तिष्कलाई आनन्दित र उत्तेजित बनाउँछ ?

रक्सीले शरीरमा मुड राम्रो गर्ने हर्मोनहरु रिलिज गर्छ । डोपामाइन र सेरोटोनिन भन्ने मुड राम्रो गर्ने हर्मोनहरु विकास हुन्छ जसले मस्तिष्कलाई आनन्दित र उत्तेजित बनाउँछ । मस्तिष्कमा करोडौँ नसाहरू हुन्छ । जसलाई न्युरोन भनिन्छ, जुन एकअर्कासँग जोडिएको हुन्छ । जब मान्छेले रक्सी खान्छ तब त्यो दुई नसाबीच एकापसमा जोडिंदैनन् । यी दुईको सम्बन्ध नभएपछि मानिसहरूको बोली लरबराउने र हिंड्न नसक्ने लगायतका लक्षण देखा पर्छन् ।

रक्सी पिउँदा त्यसले स्नायु प्रणालीमा कस्तो असर गर्छ ?

रक्सी रगतको माध्यमबाट विभिन्न भागमा पुग्छ र सबै अंगलाई केही न केही असर त पुगेकै हुन्छ । तर सबैभन्दा धेरै असर पुग्ने भनेको मस्तिष्कमा हो । मस्तिष्कको पनि थुप्रै भाग हुन्छ । त्यसकारण दिमागको हरेक भागको छुट्टाछुट्टै आफ्नै काम हुन्छन् । हातखुट्टा चलाउनेदेखि बोल्ने, आँखा देख्ने र मानिसको शरीरलाई ब्यालेन्स गर्ने सबै काम दिमागले नै गर्ने हो । त्यस कारण जब मान्छेले रक्सी खान्छ, त्यसको ३० मिनेटभित्रमा नै त्यसको असर सुरु हुन्छ । रक्सी सेवन गरेको भोलिपल्ट अलि बढी असर देखिन्छ ।

टाउको दुख्ने, बोली लरबराउने, बान्ता हुने आदि लक्षण देखिन्छ । सुरुसुरुमा मानिसहरूलाई थाहा हुँदैन, तर पछि बिस्तारै त्यसको असर देखिंदै जान्छ । तत्काल असर नगरे पनि पछि भविष्यमा गएर त्यसले मस्तिष्कमा असर गर्छ ।

रक्सी मात्रा, रक्सीको प्रकार र मानिसको तौलले पनि रक्सीको असर कम र धेरै निर्धारण गर्छ । अलि कमजोर मान्छे र महिलालाई रक्सी छिटो लाग्छ ।

शारीरिक रूपमा कमजोर मानिस र महिलामा रक्सीको प्रभाव किन छिटो देखिन्छ ?

३० किलोको मान्छे र ७० किलोको मान्छेले सँगै बसेर उत्तिकै मात्रामा रक्सी खायो भने ३० किलोको मान्छेलाई छिटो लाग्छ । कम तौल भएको मान्छेलाई त बढी तौल भएको मान्छेको तुलनामा डबल डोज हुन्छ । यसको मतलब तौल कम भएको व्यक्तिलाई छिटो रक्सी लाग्छ । त्यस्तै महिलाहरूमा पनि रक्सीको प्रभाव छिटो देखा पर्छ ।

महिलाहरूमा विभिन्न हर्मोनमा अलि बढी ˆयाट हुन्छ । जसले गर्दा पुरुषको तुलनामा महिलालाई अलि छिटो रक्सी लाग्छ ।

रक्सीको मात्रा बढ्दै जाँदा मान्छेले होस गुमाउँछ, यो अवस्था स्नायु प्रणालीको लागि कति खतरनाक हुनसक्छ ?

रक्सीले तुरुन्तै असर देखाउँछ र फेरि बिस्तारै हटेर जान्छ । तर रक्सीको सेवनले क्षति भइसकेको दिमाग र नसाहरुले पछि भविष्यमा असर देखाउँछ । धेरै रक्सी खाएको व्यक्ति तुरुन्तै ढल्छ र उठेपछि टाउको दुख्ने, बान्ता हुने र काममा ध्यान दिन नसक्ने जस्ता लक्षण देखा पर्छ । धेरै रक्सी खाने व्यक्तिहरूमा हातखुट्टा झम्झमाउने, दुख्ने जस्ता समस्या पछि गएर देखिन्छ ।

अन्धाधुन्ध रक्सी पिउँदा स्नायु प्रणालीमा कहाँ-कहाँ क्षति पुग्छ ?

अन्धाधुन्ध रक्सी पिउँदा स्नायु प्रणालीको हरेक ठाउँमा यसले क्षति पुराउँछ । राम्ररी आँखा देख्न नसक्ने, सोच्ने शक्तिमा कमी, स्मरण शक्तिमा कमी लगायतका स्नायु दिमागको कामहरू जति पनि छ । हरेक काममा यसले ह्रास ल्याउँछ ।

यसका लागि कुनै मात्रा छ ? वा कति मात्रामा रक्सी पिउँदा स्नायु प्रणालीमा खासै फरक पर्दैन ?

सकेसम्म मदिरा पान नगरेको नै ठीक हो । तर विभिन्न अध्ययनले बताएअनुसार संसारभरिका १०० मा ८० देखि ८५ जना मान्छेहरू कहीं न कहीं रक्सी सेवन गर्छन् । हाम्रो देशमा यति नै मात्रा भनेर त कतै तोकिएको छैन । तर विदेशी देशहरूमा भने एउटा मात्रा तोकिएको छ । जस्तै बियर एक क्यान, वाइन एक ग्लास, हृविस्की भए हृविस्की ग्लासको एक चौथाइ ।

नियमित रक्सी पिउने मान्छेको मस्तिष्क खराब हुनसक्छ ?

शतप्रतिशत हुन्छ । कहिले खराब हुन्छ भन्ने कुरा मात्र निश्चित छैन । रक्सी खाएर दिमाग मात्र होइन, शरीरको विभिन्न अंगहरु जस्तै कलेजो पनि खराब हुन्छ । रक्सीको सेवनले कलेजो खराब भयो भने दुख्दैन जसले गर्दा पूरै खराब भएपछि मात्र पत्ता लाग्छ । नियमित रक्सी सेवन गर्ने मान्छेहरूको दिमागको टेस्ट गरेर हेर्ने हो भने सामान्य मान्छेको तुलनामा नियमित रक्सी खाने मान्छेको दिमाग सुकेको हुन्छ । र, दिमागले राम्ररी काम गर्न सक्दैन ।

रक्सीको कारण मस्तिष्क पक्षघात हुने जोखिम कति हुन्छ ?

रक्सीको कारण मस्तिष्क पक्षघात हुने जोखिम पनि धेरै हुन्छ । रक्सीले पहिले आनन्द दिन्छ । डोज बढ्दै जाँदा मान्छे आक्रामक भएर जान्छ । रक्सी जति बढी खायो मान्छे त्यति नै उत्तेजित हुँदै जान्छ । रक्सीले शरीरमा धेरै क्यालोरी दिन्छ, जसले गर्दा मानिस एकदमै उत्तेजित हुन्छ । हाम्रो मुटुको सामान्य चाल एक मिनेटमा ६० देखि ८० हुन्छ । तर रक्सी सेवनपछि त्यो भन्दा बढ्न थाल्छ ।

उत्तेजना सँगसँगै मान्छेको ब्लड सुगर र प्रेसर बढेर जान्छ । ब्लड प्रेसर धेरै उच्च अवस्थामा पुग्छ, जसले गर्दा मस्तिष्कघात हुनसक्छ । धेरै जनाको तथ्यांक हेर्दा अत्यधिक रक्सीको सेवनले मस्तिष्कघात हुन्छ । प्रेसर र सुगरको औषधि सेवन गर्नेहरूको लागि त झन् यो बढी खतरनाक हुन्छ । अत्यधिक रक्सी सेवनले तुरुन्तै मृत्यु पनि हुनसक्छ ।

अत्यधिक रक्सी पिउँदा आँखाको दृष्टि गएको जस्ता कुरा सुनिन्छ । यसमा पनि स्नायु प्रणालीको भूमिका हुनसक्छ ?

आँखासँग मस्तिष्कको कनेक्सन हुन्छ । जसले गर्दा रक्सीको सेवनले आँखासम्बन्धी समस्या पनि हुनसक्छ । रक्सीमा भएको (मेथिलिन इन्टक्सीकेसन) जुन एक किसिमको नराम्रो केमिकल हो । यो रिलिज भयो भने मान्छे कोमामा जानेदेखि दृष्टि गुम्ने पनि हुनसक्छ । यसरी दृष्टि गुमिसकेपछि र्फकन गाह्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?