+
+

‘वडाअध्यक्षले स्याबासी र जस कमै पाउँछ’ 

मानिसले आफ्नो बसोबास र जीविका चलाउँदै जाँदा जहाँनिर अप्ठेरो पर्छ, वडाअध्यक्ष भनेर फोन हान्छ, नभए वडा कार्यालयमा आउँछ । सिफारिस सर्जमिन गरी पाऊँ भनेर आउने पनि त्यहीं हो । कानुन अनुसार पनि वडाअध्यक्षले ३६ वटा विषयमा सिफारिस गर्नुपर्दो रहेछ ।

शोभा सापकोटा शोभा सापकोटा
२०७९ वैशाख १२ गते १०:२१

मैले काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडाअध्यक्ष भएर पाँच वर्ष काम गरें । वडाध्यक्षहरूलाई जस्तो कामको चाप मन्त्रीहरूलाई पनि हँुदैन कि जस्तो लाग्छ । जनताले वडाअध्यक्षलाई नजिकको आफ्नो प्रतिनिधि ठान्दा रहेछन् । उनीहरूले घर, परिवार, टोल हरेक समस्या जनप्रतिनिधिले सम्बोधन गरिदेओस् भन्ने ठान्दा रहेछन् । माथिल्लो तहका सांसद, मन्त्रीपदसम्म पहुँच नहुने, वा पुग्न नसक्ने मानिस वडाअध्यक्षलाई समस्या सुनाउनुपर्छ भन्ने सोच्दा रहेछन् ।

हामी बिहान सबेरै उठेपछि राति ११/१२ बजेसम्म पनि फोन आएर सुत्न नपाउने अवस्था छ । छिमेकीको घरमा कुकुर भुक्यो भने पनि ‘वडाअध्यक्षज्यू, छिमेकीले पालेको कुकुर भुकेर बस्न, सुत्न सकिएन । तपाईंले समाधान गरिदिनुपर्‍यो’ भन्छन् । निर्वाचित भएलगत्तै एकपटक यस्तै गुनासो गर्न खोज्दा मेरो फोन उठेनछ । भोलिपल्ट वडावासी मकहाँ आएर गुनासो गरे ।

थुप्रै पटक राति कुकुरले टोकेकाले वडावासीहरूले नम्बर पत्ता लगाएर मलाई फोन गरेका छन् । अनि ‘कुकुरले टोक्यो, तपाईंले हेर्नुपर्छ’ भनेर गुनासो गर्छन् । धेरै पटक कुकुरले टोकेका पीडितहरूलाई नगर प्रहरीको मद्दतले उद्धार गरेर उपचार गर्नुपरेको छ । वडाअध्यक्षको पद एकदमै खट्नुपर्ने र समय दिनुपर्ने प्रकृतिको हुँदोरहेछ ।

घरमा श्रीमान्–श्रीमतीले झगडा गरे पनि समाधान गरिदिनुपर्‍यो भन्दै वडा कार्यालयमा आउँछन् । आमाछोरी झगडा भए पनि यही आउँछन् । टोलमा झगडा हुन्छ, वडा कार्यालयमा नै आउँछन् । धारामा पानी नआए पनि वडामा नै आउँछन् । फोहोर नउठे वडाअध्यक्षलाई फोन हान्छन् । बाटो मिचे पनि वडाअध्यक्षलाई गुहारेका छन् ।

मानिसले आफनो बसोबास र जीविका चलाउँदै जाँदा जहाँनेर अप्ठेरो पर्छ, वडाअध्यक्ष भनेर फोन हान्छन्, नभए वडा कार्यालयमा आउँछन् । कसैले पैसा लगेर तिरेन भने पनि आउने त्यहीं हो । कानुन अनुसार पनि वडाअध्यक्षले ३६ वटा विषयमा सिफारिस गर्नुपर्दो रहेछ ।

वडाअध्यक्ष बनेपछि यति धेरै कागजात र निवेदनमा हस्ताक्षर गर्नुपर्दो रहेछ कि सुरु–सुरुमा मेरो हात नै दुखेको थियो । पछि बानी परेपछि सजिलो हुँदै गयो । कलंकी जस्तो ठाउँ र ठूला वडा भएकाले झनै कामको चाप बढी हुने । विदेशबाट आएकादेखि अनेक समस्या व्यहोरेकाहरूलाई सम्बोधन गर्नुपर्ने । कोरोना महामारीका बेलामा बिचल्ली परेकाहरूलाई यो वडाले हेरिदिएहुन्थ्यो भन्ने अरूको पनि अपेक्षा थियो ।

कलंकीसँग मेरो भावनात्मक सम्बन्ध छ । २०६२/६३ को जनआन्दोलनमा जुलुसमा जाँदा कलंकी चोकमा म घाइते भएँ । बेहोश भएको बेलामा टिचिङ अस्पतालमा उपचारपछि म बाँचेकी हुँ । लामो समय म सहकारी अभियानमा थिएँ । श्रमिक महिलाहरूको बचत र आत्मनिर्भरताका लागि सहकारीमा सक्रिय भएँ । सामान्य रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूले बचत गर्ने र लगानी गर्ने अभियान चलाए । वडाअध्यक्ष भएपछि आफू आवद्ध सहकारी छाडेकी छु ।

समाजमा अहिले पनि पितृसत्तात्मक चिन्तन व्याप्त छ । यो चिन्तन महिलालाई नेता मान्न तयार हुँदो रहेनछन् । बाध्यकारी नभएसम्म महिलाहरू वडाअध्यक्षमा उम्मेदवारी दिन आउन नसक्दा रहेछन् । उम्मेदवारी पाए पनि निर्वाचित हुन कठिन हुँदोरहेछ । ‘महिलाले के गर्न सक्छन् र भोट दिनु ?’ भन्छन् । निर्वाचित भइसकेपछि मैले राम्रो काम गरें भनेर दाबी गर्छु । अरू पुरुष वडाअध्यक्षहरूको कामको तुलना गर्दा मैले नेतृत्व गरेको वडा (जुन कलंकीमा पर्छ) मा कुनै कमी र अभाव हुन नदिन प्रयास गरेकी छु ।

मेरो कार्यकालमा वडावासीको मन जितें । वडा कार्यालयको भवन बन्यो, खानेपानी लगायतका क्षेत्रमा काम गरियो । वडावासीलाई ढिलाइ हुन्छ भनेर तत्परताका साथ काम भयो । वडा कार्यालयमै बैंक राखेर सेवाग्राहीलाई सजिलो बनाइयो ।

हामी महानगरपालिकाका वडाअध्यक्षहरूका लागि हामीभन्दा माथिल्लो निकाय महानगरपालिका रहेछ । वडा कार्यालयहरूले गरेको जसजति नगरपालिकाले पाउँदो रहेछ । वडा कार्यालयले ‘मैले यो काम गरें’ भन्दै हिंड्न मिलेन । त्यसको साटो राम्रो काम देखियो भने महानगरपालिकाले जस लिंदोरहेछ ।

नराम्रो भए पनि मेयरले काम गर्न सकेन भनेर आलोचना हुँदोरहेछ । वडाअध्यक्षको काममा स्याबासी र जस कम हुन्छ । हुन पनि घरको मूली मान्छेले कहाँ जस लिन मिल्यो र ? हामी जनताका सेवक हौं भनेर चित्त बुझाएर बस्नुपर्दोरहेछ । संविधान र कानुनमा पालिका र वडामा अधिकार आयो, सिंहदरबार आयो भन्छन् । तर त्यो अधिकार आएको भए पनि कागजमा सीमित छ, पूर्णता पाएको छैन । दिइएका अधिकारहरू बाझिएका छन् । कानुनमा तोकिएको भए पनि त्यस अनुसार कार्यान्वयन हुनसकेको छैन ।

वडा चलाउन गाह्रो रहेछ । म त अब एकदमै खटिएर लागेको छु । काम गरेर देखाउनुपर्छ र मैले पनि सक्छु भनेर अठोट लिएर नमूना वडा बनाउँछु भनेर लागेकी थिएँ । उज्यालो भएदेखि अँध्यारो हुँदा समेत वडा कार्यालय बस्नुपर्छ र यस्तै काममा भुल्नुपर्छ । हामीले लिएको भत्ता समेत ‘बेरुजु भयो’ भनेर पछि फिर्ता गर्नुपर्‍यो । बैठकभत्ता, कपडा लगायतका सबै सुविधाको रकम फिर्ता दियौं ।

वडा कार्यालय सबैका लागि चाहिने र ठोक्किने ठाउँ रहेछ । सबैलाई भेदभाव नगरी काम गर्ने हो भने वडाका जनप्रतिनिधिले वडावासीको मन जित्दा रहेछन् । पाँच वर्ष मैले जनतालाई माया र स्नेह गर्ने बनाएँ । उनीहरूले फेरि दोहोरिनुपर्छ भनेर अनुरोध गरें । मलाई पाँच वर्ष जनताको प्रतिनिधि बन्न पाउँदा खुसी लागेको छ । विभिन्न कारणले फेरि निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिले पनि मेरो कार्यकालमा भएका काम हेर्दा मलाई खुसी लागेको छ । जनताको मन जितेकोमा म खुसी छु ।

(काठमाडौं महानगरपालिका–१४ की वडाध्यक्ष सापकोटासँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?