+

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

२०७९ वैशाख  १३ गते १३:१६ २०७९ वैशाख १३ गते १३:१६
कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

‘चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् ।

चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् ।

कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ?

कार्बोहाइड्रेटले मोटोपन बढ्छ ?

कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ ।

त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ मानिसको डाइट प्लान गर्दा ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट समावेश गरिन्छ । चामल, आलु, मकै, केरा आदि कार्बोहाइड्रेटको स्रोत हुन् ।

जब हामी यी खानेकुरा खान्छौं, त्यो शरीरमा पुगेपछि ग्लुकोजमा रुपान्तरण हुन्छ । ग्लुकोज बोसोको रुपमा संग्रहित हुन्छ । यही बोसो नै ऊर्जाको स्रोत हो । जब हामी शारीरिक वा मानसिक गतिविधि गर्छौं, बोसो उर्जामा रुपान्तरण हुन्छ ।

यदि हाम्रो शारीरिक गतिविधि भएन भने यो बोसो जमेर बस्छ । कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ । त्यसैले कुनै पनि मानिसको शारीरिक अवस्था र उसले गर्ने कामको आधारमा उनको लागि कति कार्बोहाइड्रेट जरुरी हुन्छ भन्ने निर्धारण गर्न सकिन्छ । त्यसैले सही मात्रामा कार्बोहाइड्रेट लिन जरुरी छ ।

कार्बोहाइड्रेटले उच्च रक्तचाप र मधुमेह बढाउँछ ?

दैनिक कार्बोहाइड्रेट कति सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । तपाईंको शरीरलाई ४० प्रतिशत मात्र कार्बोहाइड्रेट आवश्यक छ । यदि तपाईंले ६० देखि ७० प्रतिशत सेवन गर्नुभयो भने त्यो कार्बोहाइड्रेट ग्लुकोजमा परिवर्तन हुन्छ । सुगर लेबल बढ्छ । मधुमेह, उच्च रक्तचाप र मोटोपन जस्ता समस्या देखा पर्न सक्छ ।

कार्बोहाइड्रेट चटक्कै छाड्दा के हुन्छ ?

कुनै व्यक्तिको लागि ५ प्रतिशत कार्बोहाइड्रेट आवश्यक छ । तर तपाईंले दुई प्रतिशत मात्र कार्बोहाइड्रेट सेवन गर्नुभयो भने त्यो शरीरको लागि कम हुन सक्छ । शरीरमा विभिन्न समस्याहरू देखिन सक्छ । आहारमा कार्बोहाइड्रेट समावेश नगर्दा डिमेन्सिया, एन्जाइटी, कमजोरी र डिप्रेसन जस्ता समस्या देखिन सक्छ ।

शरीरका लागि कार्बोहाइड्रेट कति मात्रामा आवश्यक हुन्छ ?

शरीरको लागि सामान्यतया ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर शरीरको आवश्यकता अनुसार विभिन्न व्यक्तिमा कार्बोहाइड्रेटको मात्रा फरक पर्न सक्छ । शारीरिक रूपमा गरिने काम जस्तै भारी बोक्ने व्यक्तिलाई ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक पर्छ भने शारीरिक काम नगर्ने अर्थात् दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई ४० प्रतिशत कार्बोहाइड्रेटले नै पुग्छ ।

कार्बोहाइड्रेटको मुख्य स्रोत

कार्बोहाइड्रेट विशेषगरी दूध, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, जौ, गहुँ, मकै, कोदो,  चिनी, आलु, चामल, उखु, चुकन्दर, खजुर र केरा जस्ता अन्न तथा फलफूलमा पाइन्छ । चिनी र गुडमा पनि कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

चामल, आलु खान छाड्दा मोटोपन घट्छ ?

कार्बोहाइड्रेटका फाइदाका साथै केही बेफाइदा पनि छन्, त्यसैले शारीरिक आवश्यकता अनुसार कार्बोहाइड्रेट लिनु जरुरी हुन्छ । कतिपयले मोटाइन्छ भनेर चामल, आलु जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्ने गर्छन् । कसैले चामल खान छाडेर जौ खान्छन् । तर जौ मा पनि कार्बोहाइड्रेट त हुन्छ ।

चामल र  आलु खान छाड्दैमा मोटोपना घट्छ भन्ने होइन । कतिपय अवस्थामा मधुमेहको बिरामीले आलु खान छाडेका हुन्छन् । तर दूधजन्य पदार्थ प्रशस्त मात्रामा खाइरहेका हुन्छन् ।  त्यसैले चामल तथा आलु खान छाड्दैमा मोटोपना कम हुँदैन । कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्दा बरु कमजोरी, एन्जाइटी, डिप्रेसन, मुड स्विङ जस्ता असर देखिन्छ ।

किटो डाइटको दीर्घकालीन असर

किटो डाइट होस् वा इन्टरमिटेन्ट फास्टिङ, यसले छिटो प्रभाव त देखाउँछ, तर पछि शरीरमा नकारात्मक असर निम्त्याउने जोखिम हुन्छ । शरीरलाई चाहिने जति पोषण पनि नपुग्न सक्छ । सबैलाई किटो डाइटले राम्रो गर्छ भन्ने पनि छैन । त्यसैले किटो डाइट वा इन्टरमिटेन्ट फास्टिङ भन्दा पनि सन्तुलित आहारमा ध्यान दिनुपर्छ । किटो डाइट गर्नु भन्दा पनि सन्तुलित आहारमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । सन्तुलित आहारको सेवन गर्दा पनि मोटोपना बढ्छ भने मात्र अन्य डाइटतर्फ लाग्नुपर्छ ।

किटो डाइट खासगरी अल्जाइमरको बिरामीको लागि बनाइएको हो । यसले तौल नियन्त्रणमा पनि मद्दत गर्छ । तर सबैलाई किटो डाइटले फाइदा गर्छ भन्ने छैन ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

कार्बोहाइड्रेट खाना स्वास्थ्य
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय