+
+

चुनाव चिन्ह पाए लगत्तै भरतपुरका जगन्नाथ पौडेलले थाले चुनाव प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १५:१७

१७ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका  जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह पाएका छन् ।

३० वैशाखमा हुने निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगबाट भुइँकटहर चुनाव चिन्ह पाएको जानकारी दिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका उनले रुख चिन्हबाट चुनाव लड्न खोजेको भए पनि नपाएको बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि उनलाई कांग्रेसले कारबाही गरिसकेको छ ।

आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको बताएका छन् । ‘रुखको सट्टामा सानो रुख चुनाव चिन्ह पाएका छौं, यो पनि बोट विरुवा नै हो’ पौडेलले भने, ‘यो धेरै रोगको निको हुने औषधीय गुण भएको फलफूल हो ।’

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए ।

तर उनीहरूले पौडेललाई फकाउन सकेनन् । उनको उम्मेदवारी कायम भएको छ । मेयरका उमेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ ।

वीपीको शालिकमा माल्यार्पण गर्दै चुनाव प्रचार सुरु

पौडेलले भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार पनि शुरु गरेका छन् ।

अब महानगरका २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई लगिने उनले बताए ।

प्रचार अभियान सुरु गर्दै नेता भीमबहादुर श्रेष्ठले कांग्रेस चितवनको भविष्य जोगाउन आफूहरुले यो अभियान थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?