+
+

शिक्षकबाट राजीनामा दिएर पालिकामा उम्मेदवार

नुनुता राई नुनुता राई
२०७९ वैशाख १८ गते १७:३२

१६ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट हालै राजीनामा दिनेहरु पनि छन् ।

चुनावको मिति घोषणा भएपछि ओखलढुंगामा मात्रै १२ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ ।

इकाइका प्रमुख नेत्र गजुरेलले भने ‘अहिलेसम्म पाँच जना शिक्षक तथा कर्मचारी विभिन्न दलबाट उम्मेदवार बन्नुभयो भनेको सुनेको छु । अरु पनि फिल्डमा हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । उहाँहरुको के भो जानकारी पाएको छैन ।’

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरुले राजीनामा दिएर उम्मेदवार बनेका छन् ।

खोटाङमा पनि २५ चैतयता सात जना शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जानकारी दिएको छ । व्यक्तिगत कारण देखाएर राजीनामा दिएका शिक्षकमध्ये केही उम्मेदवार बनेको जानकारी पाएको इकाइ प्रमुख सेमन्त गौतमले जानकारी दिए ।

उनले भने ‘उहाँहरुले व्यक्तिगत कारण देखाएर राजीनामा दिनुभएको थियो । केही चाहिँ राजनीतिमा सक्रिय हुनुभएको छ’ उनले भने ।

मोरङमा पनि सात जना शिक्षकले राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेको शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जनाएको छ । इकाइ प्रमुख टंकप्रसाद गौतमका अनुसार तीन जना स्थायी शिक्षक, तीन चार जना राहत शिक्षकले राजीनामा दिएर उम्मेदवार बनेका छन् ।

शिक्षकबाट राजीनामा दिएका ६ जना वडाध्यक्ष र एक जना वडा सदस्यमा उम्मेदवार बनेको जानकारी पाएको उनले बताए । अघिल्लो स्थानीय तहको चुनावमा निर्वाचित पूर्वशिक्षकले राम्रो काम गरेकाले राजनीतिक दलहरुले शिक्षकलाई उम्मेदवार रोज्न थालेको इकाइ प्रमुख गौतम बताउँछन् ।

काठमाडौंमा एक जना स्थायी र एक जना राहत गरी दुई जना शिक्षकले चुनाव घोषणाअघि राजीनामा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका अनुसार राजीनामा दिएका शिक्षक चन्द्रागिरी नगरपालिका र नार्गाजुन नगरपालिकाको वडा अध्यक्षको उम्मेदवार भएका छन् ।

इकाइ प्रमुख नन्दलाल पौडेलले ठूलो संख्या नदेखिए पनि शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा लाग्ने प्रचलन देखिएको बताए । ‘पहिला नै राजीनामा दिएका चार जनाले पनि टिकट पाए भनेको सुनेको छु’ उनले भने ।

धादिङमा चुनाव घोषणा भएपछि ८ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये तीन जना उम्मेदवार बनेका छन् ।

त्यस्तैगरी ललितपुर जिल्लामा एक जनाले र इलाममा दुई जना शिक्षकले राजीनामा दिएका छन् ।

स्थायी शिक्षकको राजीनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले र अस्थायी तथा राहत कोटाका शिक्षकको राजीनामा सम्बन्धित स्थानीय तहले स्वीकृत गर्ने व्यवस्था छ ।

राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले यो वर्ष जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको बताए । १ साउनदेखि फागुन मसान्तसम्मको सात महिनामा एक हजार ३३९ जना शिक्षकले राजीनामा दिएका छन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?