+
+

जनकपुरधाम : दलका भन्दा स्वतन्त्र उम्मेदवार उत्साहित

श्रवण देव श्रवण देव
२०७९ वैशाख २२ गते १४:०१

२२ वैशाख, धनुषा । २०७४ को चुनावमा लालकिशोर साहले २१ हजार ९०३ मतका साथ जनकपुर उपमहानगरपालिकाको मेयर जित्दा नेपाली कांग्रेसका मनोज साहले झण्डै आधा (११ हजार १६४) मत पाएका थिए ।

यो पटक पनि दुबै प्रतिस्पर्धामा छन् । राजनीतिक परिस्थिति र चुनावी माहौल भने २०७४ भन्दा ठीक उल्टो छ ।

त्यो बेला मधेश आन्दोलनको रापताप बाँकी थियो भने त्यही आन्दोलनको नेतृत्व गरेको मधेशी मोर्चाका ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार थिए लालकिशोर । त्यसैले राजपाका वडाध्यक्षका उम्मेदवारहरुको कूल मत (१३ हजार ११) भन्दा ८ हजारभन्दा बढी मत पाएका थिए । कांग्रेसबाट मेयरको उम्मेदवार बनेका मनोजले भने पार्टीका वडाध्यक्षका उम्मेदवारहरुको कूल मत (१२ हजार ५५७) भन्दा पनि कम मत पाएका थिए ।

अहिले लालकिशोर राजपा होइन, जसपाका उम्मेदवार हुन् । राजपा र सपा मिलेर बनेको जसपा फुट्दा पूर्व राजपाका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए, लालकिशोर भने उपेन्द्र यादव नेतृत्वको जसपामै रहे । तर पूर्व राजपाबाटै निर्वाचित उपप्रमुख रिता झासहितका वडाध्यक्षहरु उनीसँग छैनन् ।

यादव नेतृत्वको तत्कालीन सपाले २०७४ को चुनावमा जनकपुरधाममा जम्मा साढे ४ हजार मत पाएको थियो । संगठन विस्तार र लालकिशोरको बनाएको व्यक्तिगत मत जोड्दा पनि हिजोको ठाउँमा पुग्ने अवस्था छैन ।

उनका लागि अर्को अनुकूल सत्ता गठबन्धन हो । पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले उनलाई समर्थन गरेको छ । तर कांग्रेस एकढिक्का छैन । जनकपुरको मेयर जसपालाई छाडेकै कारण मनोज साहले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

अघिल्लो चुनावमा माओवादी केद्रका मेयरका उम्मेदवार २ हजार १२४ मत ल्याएको थियो भने वडाको कूल मत ३ हजार १७७ छ । तर प्रदेश सांसद समेत रहेका रामचन्द्र मण्डल एमालेतिर लागेकाले माओवादी अहिले झन् कमजोर भएको आंकलन छ ।

एकीकृत समाजवादी, एमालेबाट अलग भएर बनेको दल हो । उसले एमालेका केही भोट काट्ने अनुमान छ । राष्ट्रिय जनमोर्चाको उपस्थित नगन्य जस्तै छ ।

त्यसैले गठबन्धनको कमजोर टेको र साढे ४ वर्ष मेयर रहँदा कमाएको ‘बदनामी’का कारण लालकिशोरलाई यो चुनाव निकै कठिन देखिएको जसपाकै नेताहरु बताउँछन् । ‘पार्टीको भोट त पाउने नै भए । उनका केही व्यक्तिगत भोट छन्,’ जसपाका एक नेता भन्छन्, ‘यति मतको बलमा जित्न सजिलो छैन ।’

घरदैलो गर्दै मेयरका उम्‍मेदवार लालकिशोर साह

मनोजसँग पनि हिजोको पार्टी कांग्रेस छैन । गठबन्धनका शीर्ष तहमा जनकपुरको मेयर जसपालाई दिने सहमति गरेको भोलिपल्टै मनोजले आफ्ना समर्थकसहित पार्टी परित्याग गरे । उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अधिकांश वडामा समेत स्वतन्त्र उम्मेदवार उठाएका छन् । कांग्रेसका अधिकांश मतदाताले आफूलाई भोट दिने भन्दै उनी भन्छन्, ‘प्रतिपक्षी भूमिका निभाएको कांग्रेसले लालकिशोरलाई मत दिनै सक्दैन ।’

दलको कडा टक्कर

जनकपुरधामको मेयरका लागि लालकिशोर र मनोज बाहेकका उम्मेदवारहरु पनि चुनावी मैदानमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मनोज चौधरीलाई उठाएको छ भने नेकपा एमालेबाट शिवशंकर साह ‘हिरा’, जनमत पार्टीबाट अनिता साह, नेपाली जनता पार्टीबाट मुरली मनोहर मिश्र, तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा कुमारी र नेपाल मजदुर किसान पार्टीबाट रामहृदय साह तेली उम्मेदवार छन् । मनोजसहित २७ जना स्वतन्त्र उम्मेदवार पनि छन् ।

लोसपा पूर्व राजपा नेताहरुको पार्टी हो, तर लालकिशोर मात्र होइन, पूर्व मेयर विषेशचन्द्र लाल पनि यो पार्टीमा छैनन् । लालले तराई मधेश लोकतान्त्रिक पार्टी ब्यूँताएका छन् र मेयरमा विभा कुमारीलाई उम्मेदवार बनाएको छ ।

चुनाव प्रचारमा मेयरका उम्‍मेदवार मनोज साह

यद्यपि लोसपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताउँछन् । ‘ग्रामिण भेगमा हाम्रा अत्याधिक मतदाता छन्, त्यही भएर हामी जित्छौं,’ प्रदेश सांसद समेत रहेका उनले भने, ‘बजार क्षेत्रमा २/३ हजार भोट छ, जुन सबै उम्मेदवारलाई २/३ सयको दरलाई आउँछ ।’

अघिल्लो चुनावमा एमालेले ४ हजार ८६५ मत ल्याएको थियो, तर मधेसमा माओवादी नेताहरुलाई समेत भित्र्याएको उसले पार्टी प्रवेश अभियान नै चलाएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट उपाध्यक्ष अनिता साह पनि चुनावी मैदानमा छिन् । त्यसैले यो पटक दलीय उम्मेदवाहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उत्साहित स्वतन्त्र उम्मेदवार

राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवार उत्साहित छन् । स्वतन्त्र २७ मध्ये कांग्रेसबाट विद्रोह गरेका मनोज र बलराम महतोले दलीय उम्मेदवारलाई कडा टक्कर दिएका छन् । बलराम ठेकेदार हुन् । रमन कन्सट्रक्सनका मालिक समेत रहेका महतो मतदाताको रुझान आफूतर्फ रहेको दाबी गर्छन् । ‘पुराना कसैले काम गरेका छैनन्, त्यही भएर जनताले मलाई जिताउँछन्,’ उनी भन्छन् ।

चुनाव प्रचार अभियानमा मेयरका उम्‍मेदवार बलराम महतो

मनोज र बलरामले आफूले जित्ने दाबी गर्नुको एउटा आधार जनकपुरको विगत पनि हो । २०४९ को स्थानीय निर्वाचनमा मेयरका लागि कांग्रेसले दिगम्बर रायलाई टिकट दिएपछि कांग्रेसमा विद्रोह भयो । मेयरमा वृषेशचन्द्र लाल र उपमेयरमा लालकिशोर साहले उम्मेदवारी दिए । दुबै स्वतन्त्र उम्मेदवारले त्यो चुनाव जिते ।

२०५४ सालमा पनि त्यही भयो । कांग्रेसले दामोदरप्रसाद उपाध्यायलाई टिकट दिंदा स्वतन्त्र उम्मेदवारी दिएका बजरंगप्रसाद साहले मेयरको चुनाव जिते । विद्रोहीलाई अनुमोदन गर्ने विगतका कारण स्वतन्त्र उम्मेदवार यो पटक उत्साहित छन् ।

नागरिक अगुवा भोगेन्द्र झा भने चुनावमा उम्मेदवार उत्साहित भएपनि आम नागरिकमा उत्साह नदेखिएको बताउँछन् ।

लोकतन्त्रमा नेताभन्दा नागरिकलाई बढी जागरुक बन्नुपर्नेमा त्यो अवस्था नदेखिएको उनको भनाइ छ । जनकपुरधाममा अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै उनी भन्छन्, ‘चुनावमा केही जातीय अंश देखिनु मानवीय स्वभाव भएपनि यसले राजनीतिलाई उपभोगभन्दा दुरुपयोग गर्छ । जनकपुरमा त्यही भइरहेको छ ।’

जनकपुरधाममा २०७४ सालमा ७५ हजार ५ सय ९४ रहेका मतदाता अहिले ८६ हजार ७ सय ६९ पुगेका छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?