+

‘जीवनशैली विलासी बन्दै जाँदा मिर्गौला रोगी बढ्दैछन्’

२०७९ वैशाख  २२ गते १८:५५ २०७९ वैशाख २२ गते १८:५५
‘जीवनशैली विलासी बन्दै जाँदा मिर्गौला रोगी बढ्दैछन्’

काठमाडौं । मिर्गौला शरीरको महत्वपूर्ण अंग हो । यसको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई बाहिर फ्याँक्ने र शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने हो । मिर्गौला खराब भएको खण्डमा शरीरमा भएको विकार बाहिर निस्कन पाउँदैन र शरीरमा विभिन्न समस्या देखा पर्छन् ।

अहिले मिर्गौलाको समस्याबाट पीडितहरुको संख्या बढ्दो छ । यसको मुख्य कारण बदलिंदो  जीवनशैली र अस्वस्थकर खानपान भएको विशेषज्ञहरूले बताउँदै आएका छन् । अहिले मिर्गौला रोगीको अवस्था के छ ? मिर्गौला रोगीको संख्या बढ्नुको कारण के हो ? यिनै विषयमा केन्द्रित रहेर युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा. डा. प्रेमराज ज्ञवालीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

अहिले मिर्गौला रोगीको अवस्था के छ ? बढ्दो स्थितिमा छ वा स्थिर छ ?

मिर्गौला रोगीको अवस्था बढ्दो क्रममा नै छ । एक दशकअघि वार्षिक लगभग तीन हजार मिर्गौला बिरामी हुन्छन् भनेका थियौं । एक दशकको अवधिमा त्यो बढ्दो क्रममा छ । तर कति प्रतिशतले बढेको छ भन्ने अनुसन्धान भने भएको छैन ।

यससम्बन्धी कुनै अध्ययन भएको छ, जसले मिर्गौला रोगी तुलनात्मक रूपमा बढ्दै गएको देखाउँछ ?

मिर्गौला रोगी तुलनात्मक रूपमा बढ्दै गएको भन्ने विषयमा कुनै अध्ययन त भएको छैन । तर पाँच वर्षअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस विषयमा सानो अध्ययन गरेको भएको थियो । पूर्वतिरका बिरामीलाई आधार बनाएर गरिएको त्यो अध्ययनले सम्पूर्ण नेपाललाई त समेट्न नसक्ला, तर आधार भने दिएको थियो ।

नेपालसँग सीमा जोडिएका भारतका प्रान्तहरुको अनुसन्धानलाई पनि आधार मान्ने गरेका छौं । अहिले यति प्रतिशतले बढेको छ भनेर त भन्न सकिंदैन तुलनात्मक रूपमा बढेको छ ।

विगतमा रोग पहिचान नभएर वा अस्पताल नै नआएर पो यसबारे थाहा नभएको हो कि ?

विगतमा रोग पहिचान नभएर वा अस्पताल नै नगएर यसबारे धेरै थाहा नभएको हुनसक्छ । पहिले डाइग्नोसिस हुँदैनथ्यो, बिरामीहरू अस्पताल पुग्दैन थिए । जनरल स्वास्थ्य जाँच गर्ने चलन पनि थिएन र नेपालीहरू विदेश जाने क्रम पनि कम थियो, जसले गर्दा पहिले बिरामीको संख्या कम देखिएको हुनसक्छ ।

मिर्गौला रोगी बढ्नुको मुख्य कारण के हो ? खानपान, जीवनशैली, हावापानी वा अन्य ?

मिर्गौला रोगी बढ्नुको मुख्य कारण खानपान र जीवनशैली नै हो । अहिले मानिसहरूको जीवनशैली एकदमै विलासी भएको छ । खानपानमा पनि परिवर्तन आएको छ । अहिले हामी जंक फुड, प्याकेट फुड र विभिन्न रसायन प्रयोग भएको खानेकुरा खान्छौं र खाना खाएपछि शारीरिक क्रियाकलापमा पनि संलग्न हुँदैनौ । शारीरिक गतिविधि कम र अस्वस्थकर खानाले गर्दा उच्च रक्तचाप र मधुमेहको समस्या बढेको छ । त्यसकै कारण मिर्गौला रोगीको संख्या बढेको छ ।

के कुराले मिर्गौला खराब गर्छ ?

अहिले उच्च रक्तचाप र मधुमेहको बिरामीको संख्या एकदमै बढेको छ । मिर्गौला खराब हुने मुख्य कारण पनि यी दुई हुन् । यदि हामीले उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न सक्यौं भने मिर्गौला खराब हुने सम्भावना कम हुन्छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये कतिपय मिर्गौला रोगी बनेर फर्किएको पाइन्छ । वैदेशिक रोजगारीका क्रममा पनि धेरैजसो यो रोगको शिकार भइरहेको भन्ने लाग्दैन ?

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमध्ये मिर्गौला रोगी बनेर फर्किएका धेरै बिरामी छन् । तर वैदेशिक रोजगारीका कारण नै यस रोगको शिकार भइरहेका छन् भन्न मिल्दैन । वैदेशिक रोजगारमा गएकामध्ये पनि आफ्नो स्वास्थ्यको हेरचाह नगर्ने व्यक्तिमा यो बढी देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेहरूमा के कारणले यस्तो समस्या बढिरहेको हुनसक्छ ?

वैदेशिक रोजगारीमा जानेहरूमा के कारणले मिर्गौला सम्बन्धी समस्या बढेको छ भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान भएको छैन । तर वैदेशिक रोजगारीमा जानेहरूमा यो समस्या बढ्नुको कारण उनीहरूले समयमा प्रशस्त मात्रामा पानी पिउन नपाउने, बेलाबेलामा स्वास्थ्य जाँच गर्न नपाउने, केही बिरामी भएको खण्डमा पनि काममा जानुपर्ने र धेरै गर्मी ठाउँ भएकाले शरीरमा पानीको मात्रा नपुगेको कारणले उनीहरूमा मिर्गौलाको समस्या धेरै देखिएको हुनसक्छ ।

खासगरी कुनकुन मुलुकमा जानेहरूमा यस्तो समस्या देखिएको छ ?

नेपालबाट खाडी मुलुक साउदी अरेबिया, कतार, बहराइन, दुबई र ओमानमा धेरै जाने गर्छन् । जुन देशमा बढी नेपालीहरू गएका छन्, तिनै मुलुकबाट फर्कनेहरूमा यो समस्या बढी देखिएको छ । यही देश भनेर अनुसन्धान भएको छैन ।

मिर्गौला रोग लागिसकेपछि त्यसको जटिलता के–के हुन सक्छन् ?

मिर्गौलाको मुख्य काम शरीरमा भएको विकारलाई बाहिर निकाल्ने हो । यदि त्यो विकार बाहिर निस्कन सकेन भने मानिसको रगतमा नै जम्मा हुन थाल्छ । र, त्यो विकार पदार्थहरूले हाम्रो शरीरको अन्य अंग पनि बिगार्न थाल्छ । शरीरमा पानीको मात्रा पनि सन्तुलन हुँदैन र त्यसले फोक्सोमा असर पार्छ, मुटुमा असर पार्छ र शरीरको अन्य अंगमा पनि असर पार्छ ।

मिर्गौला रोगको के कस्ता उपचार उपलब्ध छन् ?

रोग नै लागिसकेको छ भने कुन कारणले त्यो रोग लागेको हो, त्यो कारण पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्नुपर्छ । मिर्गौला रोग लागिसकेपछि शरीरबाट फोहोर पदार्थ बाहिर जान सकेन र धेरै फोहोर जम्मा हुन थाल्यो भने डायलाइसिस गर्नुपर्छ । डायलाइसिस भनेको मिर्गौलाको काम मेसिनबाट गर्ने हो । अर्को उपचार पद्धति मिर्गौला प्रत्यारोपण हो । मिर्गौला खराब भएको छ भने प्रत्यारोपण बढी प्रभावकारी उपचार हुन्छ ।

डायलाइसिस गर्ने अवस्था भएमा यो कहिलेसम्म गरिरहनुपर्ने हुन्छ ?

डायलाइसिस सुरु गरियो भने मिर्गौला प्रत्यारोपण नगरेसम्म वा बाँचुन्जेल गरिरहनुपर्छ ।

मिर्गौला प्रत्यारोपणपछि सामान्य जीवनयापन गर्न सकिन्छ ?

मिर्गौला प्रत्यारोपणपछि सामान्य जीवनयापन गर्न सकिन्छ त्यसको उदाहरण पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ । मिर्गौला प्रत्यारोपण गरेको मान्छेले सामान्य मात्र होइन, सक्रिय जीवनयापन र आफ्नो पेशा फेरि अँगाल्न सक्छन् ।

मिर्गौला प्रत्यारोपणपछि महंगो औषधि खानुपर्छ र एकदमै बढी स्वास्थ्यको ख्याल राख्नुपर्छ भनिन्छ । के कति खर्च लाग्छ ?

प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले अस्वीकार नगरोस् भनेर औषधिको सेवन गर्नुपर्ने हुन्छ । सुरुको केही महिनामा २५ देखि ३० हजारको मासिक औषधि खानुपर्छ र स्वास्थ्यको धेरै हेरचाह पनि गर्नुपर्छ । तर लगभग ६ महिनापछि औषधिको मात्रा घट्छ र महिनामा १० देखि १५ हजारको औषधि खाए पुग्छ ।

मिर्गौला रोग लाग्नै नदिन के गर्नु उचित हुन्छ ?

रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उचित हुन्छ । हाम्रो स्वास्थ्यमा जीवनशैली र खानपानको ठूलो भूमिका हुन्छ । हामीले स्वास्थ्य तथा सन्तुलित आहार सेवन गर्‍यौं, दैनिक योग व्यायाम गर्‍यौं भने उच्च रक्तचाप र मधुमेहको समस्या देखा पर्दैन र यी दुई कुरा नियन्त्रण हुने बित्तिकै मिर्गौला सम्बन्धी रोग लाग्ने सम्भावना एकदमै न्यून भएर जान्छ । मिर्गौला खराब हुने मुख्य कारण उच्च रक्तचाप र मधुमेह भएकाले यसलाई नियन्त्रण गर्नु नै मिर्गौला रोग लाग्न नदिने उपाय हो ।

जीवनशैली मिर्गौला स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय