+
+
उम्‍मेदवार प्रोफाइल :

चन्दलाई धनगढीमा अनुकूलताभन्दा बढी प्रतिकूलता

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख २७ गते १८:२७

२७ वैशाख, धनगढी । तीन दशकदेखि नेकपा (एमाले)मा सक्रिय रणबहादुर चन्द यस पटकको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उठेका छन् ।

उनले मेयर पदको टिकटका लागि खासै लबिङ गर्नुपरेन । एमाले कैलालीका बहुसंख्यक नेता–कार्यकर्ताको रोजाइमा उम्मेदवार बनेका उनी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

५ वैशाख २०३६ मा बैतडीको मेलौली गाउँ पञ्चायतको सामान्य परिवारमा जन्मिएका चन्द पढ्नलाई धनगढी झरेपछि विद्यार्थी राजनीतिमा जोडिए । पञ्चोदय माविको विद्यार्थी रहँदा अनेरास्ववियुमा संगठित भएका उनी पछि स्वतः एमालेको पार्टी राजनीतिमा आए । उनी मानविकी संकायका स्नातक हुन् ।

२०५० सालमा पञ्चोदय मावि र २०५२ मा कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटी सदस्य बनेका चन्द २०५४ मा क्याम्पस कमिटी अध्यक्ष भए ।

अनेरास्ववियुको राजनीतिमा जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेको उनी २०५८ सालमा पार्टीको धनगढी नगर कमिटी सदस्य बनेर क्रमशः उपसचिव र सचिव भए ।
त्यसपछि जिल्ला कमिटी सदस्य बनेका चन्द एमालेको सातौं जिल्ला अधिवेशनबाट सचिवमा विजयी भएर ७ वर्ष त्यो जिम्मेवारीमा रहे ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमाले एकीकरण भएर नेकपा बनेपछि पनि चन्द कैलाली जिल्ला सचिवकै जिम्मेवारीमा निरन्तर भए । उनी नेकपाको केन्द्रीय सदस्य र जिल्ला उपाध्यक्ष पनि भए । गत पुसमा सम्पन्न एमालेको जिल्ला अधिवेशनमा भने उनी अध्यक्ष पदमा ४ मतले पराजित भए ।

कैलालीको राजनीतिक वृत्तमा एमालेका चन्दले इमानदार, निष्कलंकित र शालीन नेताको छवि बनाएका छन् । हालसम्म कुनै लाभको पद नपाएका उनी २०६३ देखि २०६८ सालसम्म भने तत्कालीन धनगढी नगरपालिकाको राजनीतिक संयन्त्रमा बसेका थिए । त्यसपछि करिब दुई वर्ष जिल्ला विकास समितिको राजनीतिक संयन्त्रमा रहे ।

नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति संघ, कैलाली जनपुस्तकालय, नवजीवन सहकारी लगायत संघ–संस्थामा काम गरेको अनुभव पनि चन्दसँग छ । यी संघ–संस्थामा काम गर्दा उनी कहिल्यै विवादमा परेनन् ।

चुनावी अनुकूलता र प्रतिकूलता

कैलाली एमालेका नेताहरू स्वच्छ छवि भएकै कारण चन्दलाई धनगढी उपमहानगरपालिकाको मेयरमा उठाएको बताउँछन् ।

तीन दशक लामो राजनीतिक सक्रियता, एमालेभित्रको बलियो आन्तरिक एकता, उपमेयरकी उम्मेदवार कन्दकला रानाका कारण रानाथारू समुदायमा पर्ने सकारात्मक प्रभाव, क्षेत्रगत मतमा बलियो पकड जस्ता पक्षलाई चन्दको चुनावी अनुकूलता मानिएको छ ।

एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भने चन्दको लागि सबभन्दा ठूलो प्रतिकूलता बनेको देखिन्छ । यसबाहेक मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि चन्दको मत काट्ने अनुमान छ ।

चन्दको यो प्रतिकूलतालाई चिर्न एमालेले कांग्रेसका नृपबहादुर वड मेयरमा दोहोरिनुुको औचित्यमाथि प्रश्न उठाउँदै र दलीय व्यवस्थामा स्वतन्त्र व्यक्तिले काम गर्न नसक्ने भन्दै मत तान्ने रणनीतिमा लागेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?