+
+

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाव कायमै, शोधनान्तर घाटा इतिहासकै उच्च

रोयल आचार्य रोयल आचार्य
२०७९ वैशाख २८ गते १७:०७

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (चैत)मा आइपुग्दा पनि अर्थतन्त्रको बाहृय क्षेत्रको दवाव कायमै देखिएको छ । नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । चैत महिनासम्मको तथ्यांकअनुसार रेमिट्यान्सको आप्रवाहमा केही सुधार भएपनि आयात उच्च रहेकाले विदेशी मुद्राको सञ्चिति जोगाउने सरकारी लक्ष्य प्रभावित छ ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँले घाटामा छ । यो नेपाली अर्थतन्त्रको इतिहासमै ठूलो घाटा हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

यस अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।

एक मुलुकले अर्को मुलुकसँग मौदि्रक कारोबार गर्न सरकारसँग चालु, पुँजीगत र वित्तीय खाता रहेका हुन्छन् । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात/निर्यात, सेवा आयात/निर्यात, रेमिट्यान्ससहितका रकम ट्रान्सफर भएको रकमसहित मुलुकलाई प्राप्त आय र व्यय दुवैको हिसाब राखिन्छ ।

शोधनान्तर अवस्था चालु खाताभित्रकै एक पक्ष हो । चालु खाता घाटामा रहनु र शोधनान्तर स्थिति नकारात्मक रहनुबीच सम्बन्ध रहेको हुन्छ । आय बढ्दा चालु खाता नाफामा देखिन्छ । व्यय बढ्दा घाटामा देखिन्छ ।

चालु खाताबाहेक पूँजीगत खातामा अन्य मुलुकसँग सम्पत्ति खरीद-बिक्री, ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसहितका हिसाबको कारोबार हुन्छ । वित्तीय खातामा समेत ठूला परियोजनामा विदेशबाट भएको लगानीका तथ्यांकहरु राख्ने गरिन्छ ।

नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलव नेपालबाट बढी रकम विदेशिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ ।

घट्दै विदेशी मुद्राको सञ्चिति 

सरकारले आयात निरुत्साहनका लागि अनेकौं प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति थप खिइँदै गएको देखिएको छ । चैत महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति २ अर्ब ८ करोड रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा आइपुग्दा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ बराबरको देखिएको छ । अघिल्लो महिना फागुनसम्म ११ खर्ब ७० अर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चिति थियो ।

विदेशी मुद्रा पछिल्लो समय लगातार घट्दो क्रममा छ । यद्यपि, घट्ने दरमा भने केही कमी आएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा चैत्र मसान्तमा ५.१ प्रतिशतले घटेर १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

रेमिट्यान्समा सुधार

चैतमा रेमिट्यान्स आउने क्रममा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो । पछिल्लो पटक फागुन महिनामा केही सुधार भएको रेमिट्यान्स आप्रवाहमा चैतमा पनि सुधार भएको छ ।

तर, समीक्षा अवधिमा अझै पनि रेमिट्यान्स गतवर्षको तहमा पुगिसकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतमा मात्रै विदेशबाट ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत फागुन महिनामा ९२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको थियो ।

वाषिर्क विन्दुगत आधारमा भने रेमिट्यान्स घटेको छ । ९ महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ०३१ पुगेको छ ।

अघिल्लो वर्षको यस्तै अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?