+
+

चुनौतीमा राजनीतिक व्यवस्था

प्रकाश अधिकारी प्रकाश अधिकारी
२०७९ जेठ ५ गते १४:३३

यत्रतत्र सर्वत्र पुँजी (पैसा) ले स्थान लिंदा त्यसको उपरी–संरचनाको रूपमा पुँजीवादी व्यवस्था आयो । पुँजी आधार संरचना थियो । यो वस्तुगत यथार्थ थियो । यसको जगमा अरू कुनै उपरी संरचना सम्भावना थिएन । यसैले वस्तुगत जगतमा टेकेर नै पुँजीवाद आएको थियो ।

यसो भनिराख्दा आजको वस्तुगत जगतको वस्तुनिष्ठ अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । अध्ययन अनुसन्धानले मापन गर्ने वस्तुको परीक्षण गरेर निष्कर्ष निकाल्दछ, जुन वैज्ञानिक हुन्छ । आजको नेपालको र विश्वको राजनीतिक प्रणालीमा समस्या आइरहेको छ, त्यसको वस्तुगत अध्ययन आवश्यक भएको छ । यसो नहुनाले राजनीतिक व्यवस्थामा चुनौती आइरहेको छ ।

नेपालको राजनीति संकटोन्मुख हुँदै गएको छ । पछिल्लो समयमा राजनीतिक सिद्धान्तहरूको संकट परेको छ । कम्युनिस्ट र कांग्रेसको राजनीतिक सिद्धान्त नै मिसिएको छ । राजनीतिक नीति, सिद्धान्तलाई भुलेर स्वार्थ–सिद्धान्तमा समाहित हुँदा कुनै पनि राजनीतिक पार्टी पार्टीको रूपमा रहेको देखिंदैन ।

सीधा हेर्ने हो भने आजसम्मका सबै कम्युनिस्ट नयाँ प्रजातन्त्र (जनवाद) र कांग्रेस प्रजातान्त्रिक सिद्धान्तमा छ । यिनको विशेषता हेर्ने हो भने दुवैले प्रतिनिधिमूलक शासन प्रणाली नै स्वीकारेका छन् । फरक यत्ति हो कि कम्युनिस्ट पार्टीमा पार्टी सदस्य नै प्रतिनिधि हुन्छ भने कांग्रेसमा चुनावद्वारा प्रतिनिधि छानिन्छ । तर, छानिंदा फेरि पनि पार्टीकै सदस्य छानिन्छ । अन्ततः दुवैमा पार्टी सदस्य नै प्रतिनिधि हुन्छ ।

यसले दिने अरू अधिकारहरू मानवअधिकार, बहुदलीय प्रतिस्पर्धा, मतदानको अधिकार, कानुनको शासन, जनसहभागिता पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्ने गुलिया गोली मात्र सावित भएको छ ।

पार्टीभित्र र बाहिर देखिएको स्वार्थ–सिद्धान्तले प्रजातन्त्रका आधार स्तम्भहरू धुजाधुजा पारेर हावामा उडाएका छन् । यसको ज्वलन्त उदाहरण ओलीको सरकारले गरेको संसद विघटनदेखि चुनावमा आफ्ना आसेपासेलाई दिएको टिकट र पार्टी अनुशासनको छडीले जनताले पत्याएका भन्दा पनि पार्टीले पत्याएकाले स्थान पाउनु हो ।

राजनीतिलाई चिरफार गर्दा आजको राजनीतिक प्रणालीले कुनै सयममा काम गरेको देखिन्छ किनकि त्यस समयलाई त्यो विकल्प नै उत्तम थियो । तर, आजको बदलिएको परिस्थितिमा यो व्यवस्था कमजोर भएको छ । आजको बदलिंदो समयलाई समीक्षा गरेर अबको राजनीतिक सिद्धान्त र कार्यक्रम बनाउन सक्दा मात्र समाजमा स्वाभाविक निकास सम्भव हुन्छ ।

कुन–कुन वस्तुगत जगतमा फेरबदल आइरहेको छ अर्थात् आधार संरचनामा आएको बदलावहरूको वस्तुनिष्ठ समीक्षा अनिवार्य छ । आजको दुनियाँ विज्ञान प्रविधिमा आधारित भएको छ । वास्तवमा विज्ञान प्रविधिको वास्तविक स्वामित्व व्यक्तिको हुँदैन ।

अल्बर्ट आइन्स्टाइनको वैज्ञानिक खोज उनको निजी सम्पत्ति रहेन । यो विश्वको सम्पत्ति बन्यो । यसर्थ, यस्ता विशेषताको युग जहाँ निजी स्वामित्वको घेरा तोडिएको छ । विश्वका सबै विषयको बोध हुँदैछ ।

कुनै यस्तो समय थियो, जुनबेला युरोप र एसिया नै अज्ञेय थियो । युरोपलाई एसियाको र एसियालाई युरोपको ज्ञान थिएन । विस्तारै एक अर्काको सम्पर्क भयो तर त्यो निकै जटिल र कठिन थियो । आज विज्ञान प्रविधिले युरोप र एसिया मात्र होइन पृथ्वीभन्दा बाहिर अन्तरिक्षसम्मको ज्ञानलाई बोध गर्न सक्ने बनायो । यस्तो बदलिएको परिस्थितिलाई वस्तुनिष्ठ ढंगले पकड्नुपर्दछ ।

ज्ञानमा जेरुसेलमबाट पूर्व र पश्चिमको घेराको अन्त्य भएको छ । पश्चिमा ज्ञान ठूलो र पूर्वीया ज्ञान सानो भन्ने भ्रम अब बाँकी छैन । यी सबै विश्वव्यापी भएका छन् । इन्टरनेटको विकासले आज विश्वको ज्ञानलाई एउटा कम्प्युटरमा वा मोबाइलमा कैद गरिदिएको छ ।

मानिसको इच्छाशक्ति हुने हो भने शिक्षा प्राप्त गर्न कुनै महाप्रलयको विषय भएन । गुरुकुल र विद्यालय शिक्षा एउटै प्रणालीको हो । गुरुकुल शिक्षामा विद्यार्थी गुरुकोमा जाने र शिक्षा लिने थियो ।

विस्तारै विद्यालय शिक्षा आयो यहाँ पनि गुरु र विद्यार्थी एकै ठाउँमा जम्मा हुनुपर्ने र एकले अर्कोमा आश्रित हुनुपर्ने थियो । गुरुको शिक्षा नै सम्पूर्ण शिक्षाको रूपमा लिने प्रणालीको बल्ल अन्त्य भयो । अब गुरु र शिक्षार्थीबीचको ज्ञानको असमान घेरा मेटाएर नयाँ शिक्षाको सुरुवात गर्‍यो । यसले संसारमा नयाँ आयाम थपेको छ । बदलिएको चलहरूको अध्ययन विना समाजलाई वास्तविक रूपमा बुझ्न सकिंदैन ।

सूचना सञ्चारको विकासले आजको सम्पूर्ण युगलाई उल्टाएको छ । परम्परागत समयका सबै खालका सूचना सञ्चारका विशेषता समान थिए । सनई फुक्ने, ढोल बजाउने, हुलाक जस्ता सबै परम्परागत सूचना सञ्चारमा मानिसको सहभागिता अनिवार्य थियो तर घेरा तोड्ने नयाँ प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा रूपान्तरण गरेको छ ।

आजको बदलिंदो समयलाई समीक्षा गरेर अबको राजनीतिक सिद्धान्त र कार्यक्रम बनाउन सक्दा मात्र समाजमा स्वाभाविक निकास सम्भव हुन्छ ।

लामो समय लाग्ने, सूचना पुग्दा सूचनाको अर्थ नै समाप्त हुने, पुग्दै नपुग्ने जस्ता यावत् समस्यालाई समाप्त गरेर विकास भएको सूचना सञ्चारले सबै घेराहरूलाई समाप्त मात्र पारेन कि तत्काल आफ्नो सूचना र सञ्चारमा गतिशीलता, सहभागिता र प्रतिक्रिया देखाउन सक्ने भएको छ । हालको चुनावी परिणाममा देखिएको फरक विशेषताको एउटा आधार यही सूचना सञ्चार हो ।

यातायातको विकासमा युगले ठूलो फड्को मारेको छ । मानिसले हिंडेर आफ्नो यात्रा पूरा गर्नुपर्ने यातायातको समयबाट सुपर सोनिक गतिका साधनसम्म विकास भएको छ । एक जनादेखि करोडौं जनशक्ति बोक्न सक्ने साधनको विकास भएको छ ।

अत्यन्त छिटो गतिका र अत्यन्तै विश्वासिला र भरोसायुक्त साधन चालकविहीन कारसम्म विकास भएको छ । मानिसले चलाएको भन्दा दुई सय गुणा बढी सुरक्षित र विश्वासिला साधनको रूपमा यसले समाजमा स्थान लिंदै गइरहेको छ ।

मानव श्रमद्वारा उत्पादन, विनिमय, उपभोग हुँदै आएको सिंगो मानव समाजको इतिहास हो । आजभन्दा अघिका सम्पूर्ण युगमा मानिसलाई उत्पादन, विनिमय र उपभोगका प्रक्रियामा सहभागिता अनिवार्य थियो । पहिलो औद्योगिक क्रान्तिले मानव श्रमलाई सरल बनाएर विस्तारै मानव श्रम उत्पादन प्रक्रियाबाट अलग गरेको थियो । यो विस्तारै दोस्रो र तेस्रोसम्म आइपुग्दा शारीरिक श्रमको अन्त्य गर्दै मानसिक श्रमबाट पनि मानिसलाई अलग गराएको छ ।

आज जोड, घटाउ, गुणन, भाग गर्न नजानेर मानिसले मानसिक श्रम गर्नुपर्ने छैन । क्याल्कुलेटर, कम्प्युटर जस्ता साधनको प्रयोगले मानसिक श्रमको अन्त्य गरेको छ । कम्प्युटरले त यस्तो चमत्कार गरिदियो ठूला मानसिक श्रमलाई सकिदियो ।

डाटा मानिसको मेमोरीको विषय थियो तर अब त्यसको पनि अन्त्य भइदियो । यसले डाटालाई सुरक्षित, गुणस्तरीय, छिटो, प्रभावकारी र दीर्घकालीन बनाएर मानसिक श्रमलाई अन्त्य गरिदिएको छ ।

यस्तै चौथो औद्योगिक क्रान्तिले माया, प्रेम, घृणा, रचना, सृजना, भावना जस्ता सीपमूलक कामदारको कार्य सम्भव हुन थालेको छ । यसरी हेर्दा शारीरिक श्रम, मानसिक श्रम र सीपमूलक श्रम लगायत श्रमका सबै स्वरूप नै मानिसबाट खोसिंदै गएको समय हो यो ।

मानवीय बौद्धिकताको कार्यलाई कृत्रिम बौद्धिकताले विस्तारै विस्थापित गराइरहेको छ । गुगलले कृत्रिम बौद्धिकताको प्रयोग गरेर विश्वका करोडौं मानिसलाई एकदम छोटो समयमा आफूले चाहेको सबै कुरा खोज्न सक्ने कृत्रिम बौद्धिकताको प्रयोग गरेको छ । यामेजो र फेसबुक लगायतले यसै प्रविधिको प्रयोग थालेका छन् । यी विशेषतासहित समाज अगाडि बढेको छ ।

यस्ता अनगिन्ती पहलुहरूको विकासले समाजको परम्परागत मान्यतामा परिवर्तन ल्याएर नयाँ मान्यताको स्थापना गरेको वर्तमान परिस्थितिमा पुरानै शैलीको राजनीतिक व्यवस्थामा पनि स्वाभाविक संकट आएको छ ।

नयाँ धरातलमा नयाँ राजनीतिक व्यवस्थाको स्थापनाले मात्र अबको संकटलाई मोचन गर्न सक्दछ । बदलिएको धरातलले प्रतिनिधिमूलक लोकतन्त्रमाथि चुनौती दिएको छ । यो अवस्थामा नयाँ राजनीतिक व्यवस्थाको आधारस्तम्भमा परिवर्तन आएकाले त्यसै अनुरूपको व्यवस्था निर्माण गरिनुपर्दछ ।

यत्रतत्र सर्वत्र विज्ञान प्रविधिको आधारस्तम्भ निर्माण भएकोले यसले नयाँ स्वरूपको समाज व्यवस्था निर्माण गरिनुपर्दछ । वैज्ञानिक समाजवादको आधार विज्ञान प्रविधिको प्रचुर विकास भएको वर्तमान युगमा प्रत्यक्ष प्रजातन्त्रको राजनीतिक अभ्यास सम्भव भएको छ ।

विज्ञान प्रविधिको आधारमा समृद्ध अर्थतन्त्र, मानवीय आवश्यकताको परिपूर्ति, प्रत्यक्ष प्रजातन्त्र र वैज्ञानिक समाजवाद सम्भव भएकाले अहिलेको चुनौतीपूर्ण राजनीतिक व्यवस्थालाई निकास दिन सम्भव हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?