+
+
पुस्तक समीक्षा :

समकालीन समयको स्वर : एक्लो महारथी

डा. अशोक थापा डा. अशोक थापा
२०७९ जेठ ९ गते १४:३३

‘खासमा मान्छेलाई भित्रदेखि बुझ्ने हो भने उसका कविता पढ्नू’ के साँच्चै कविताले मान्छेलाई बुझ्न सहज बनाउँछ ? यसको जवाफ सजिलो छैन र उत्तिकै गम्भीर पनि तर साँच्चै महेश कार्की ‘क्षितिज’लाई भित्रदेखि नै बुझ्नु छ भने उनको कवितासङ्ग्रह ‘एक्लो महारथी’ पढे पुग्छ । प्रस्तुत सङ्ग्रह छापिएको एक साल बिते पनि यसको चर्चा भने जारी छ । यसको अर्थ हो क्षितिजलाई बुझ्ने क्रम जारी छ ।

नेपाली साहित्यमा एकोहोरिएर लागेका क्षितिजलाई सिर्जनात्मक हुटहुटीले सताएको किशोरवयदेखि नै हो । आज पनि उनी साहित्यिक भावनालाई हृदयमा बोकेर उत्तिकै कुद्‌छन् र हिंडिरहन्छन् । कवितामा क्षितिज र क्षितिजको काव्यकर्मलाई गहिरिएर हेर्दा के संकेत फेला पर्छ भने प्रस्तुत कवितासङ्ग्रहले महेशको साहित्यिक क्षितिजलाई पनि तन्काएर व्यापक बनाइरहेको छ ।

विश्वविद्यालयका पण्डितहरू आक्कलझुक्कल भन्छन्- कविता अनुभव र अनुभूतिको प्रकटीकरण हो । उनीहरू विमर्श गर्छन् जीवनको मार्गमा भेटिने खुसी, निराशा, भत्कोस् र चित्तदुखाइको लिप्यन्तरण कवितामा हुनेगर्छ । पीडालाई फूलको मालाझैं सजाएर बुन्न सक्ने त्यस्तो काल्पनिक क्षमता अन्य व्यक्ति भन्दा कविमा हुने कुरा पनि कविताका लक्षणग्रन्थका विज्ञहरू विवेचना गरिरहन्छन् । यो विशेष क्षमताले नै तिनीहरू खासमा कवि कहलिन्छन् । यस्तै कल्पना र वास्तविकताको बाँसुरीमा सुन्दर स्वर उरालिएको कवितासङ्ग्रह हो क्षितिजको ‘एक्लो महारथी ।’

क्षितिजका यस सँगालोभित्रका कवितामा छुट्टाछुट्टै कथानक बोकेका ५२ थान कविताहरू छन् जहाँ प्रणय, मानवीयता र जीवनका विविध उहापोह तथा सामाजिक दृष्टिकोण पोखिएका छन् । आजको समाजमा ज्वलन्त रूपमा देखिएका सामाजिक, आर्थिक, राजनीतिक र कतैकतै पर्यावरणीय चिन्तालाई खिपेर कविता सिर्जना गरेका छन् क्षितिजले । शान्त शैलीमा अति शिष्‍ट भएर अन्तर्मनका धरमरहाट, तीतो सत्य, पूरै गरिबीले ढाकेको स्वर, असहायका पीडाजस्ता संवेदनशील विषय यस सँगालोमा उठान गरिएका मुख्य विषय हुन् ।

आम मान्छेका जिन्दगीको, वर्तमान वैश्विक जगतको, पसिनाको गीत गाउने मजदुरको कुरा भन्न भ्याएका छन् क्षितिजले । कतैबाट सुराक लगाउँदा पनि पत्तो लाग्दैन कविको आस्था के हो ? राजनीति के हो ? खासमा कुनै वाद र राजनीतिक सीमाना भत्काएका छन् क्षितिजले ।

थुप्रै विषयमध्ये सामाजिक समस्याको स्वर उराल्नमा क्षितिजका कविताहरू खप्पिस देखिएका छन् । समाजमा आज पनि गरिबीका रेखामुनिका मान्छेहरूका कथा बग्रेल्ती छन् जसलाई लेखेर साध्य नै छैन । गरिबीको दारुण चित्र, भोकले सिकाएको अमिलो पाठ अनि त्यसमा दपेटिएर बाँच्न अभिशप्‍त मान्छेहरूको मुटुछेड कथा प्रचूर छन् टोलटोलमा । यिनै अभावको भत्कोस्‌मा छटपटिएका व्यक्तिहरूको भित्री मर्म लेखेका छन् क्षितिजले । सामाजिक अन्तरजालोमा समयसँगै नयाँनयाँ जटिलता भित्रिन्छन् । समाजमा प्रेम, विवाह र स्वतन्त्रताका नाममा विकृत मनोदशाका व्यवहार भित्रिन्छन् । आरम्भमा त्यसको आयाम नवीन लाग्छन् र समाजले त्यसलाई आफ्नो एउटा परिभाषा र बुझाइमा रूपान्तरण गर्छ । हो त्यस्तै नूतन जटिलतालाई नयाँ तरिकाले परिभाषित गर्ने प्रयास गरेको छ एक्लो महारथीका कतिपय कविताहरूमा । सामाजिक सङ्कटका खाडलहरू पुरिनको सट्टा दिनदिनै झन् जटिल र विशाल बन्दैछन् । मान्छेहरूले आफू मिहिनेत कम गर्छन् तर अर्काको सफलतामा इर्श्याले जल्नेहरूको सङ्ख्या कम छैन । यसले आधुनिक मानवलाई थप दुःखी मात्र बनाएको छैन विक्षिप्ततामा पुर्‍याएको देखिन्छ । यस प्रकृतिको वर्तमान समाजको वास्तविक र ज्वलन्त चरित्रलाई ‘युद्ध’ जस्ता कवितामा यसरी व्याख्या गरेका छन् क्षितिजले-

पीडाको पल्लोफालमा पुगेको बेला

उनीहरूले सोधे, ‘के छ खबर ?’

मैले भनें, ‘खुसीको सीमा छैन

के चाहियो र मलाई !’

उनीहरू अँध्यारा देखिए

मैले बुझें-

मान्छे सबैभन्दा दुःखी बन्ने त

अरूको बारे राम्रो सुनेपछि रहेछ ।

आजको सामाजिक समस्याको सबैभन्दा पेचिलो मुद्दा स्त्री-पुरुषको बीचको अस्वस्थ सम्बन्ध पनि हो । दिनदिनै कुरा उठिरहन्छ पुरुषप्रधान समाजमा हरक्षण असुरक्षामा बाँच्नु परिरहेको छ महिलाहरूले । स्‍त्रीहरू परापूर्व कालदेखि आजपर्यन्त एउटै समस्यामा उत्तिकै जबर्जस्त पीडा बोकेर बाँचिरहेका छन् । यस्तै लैङ्गिक विभेदको सुन्दर बिम्बाङ्कन गरिएको सँगालो बन्न पुगेको छ ‘एक्लो ‘महारथी ।’

आज पनि महिलाहरूलाई विविध बहानामा गरिने शोषणको न्यारेटिभलाई कवितामा उठान गरिएको छ । घरघर, समाज, सामाजिक स्थल, कार्यालय जहाँ पनि असुरक्षित बनेर नारीहरूले बाँच्न अभिशप्‍त हुनु आजको समयको सबैभन्दा कुरूप चित्र हो । बालिकाहरू घरघरमै, आफन्तआफन्तकै बीचमा असुरक्षित बनेको समाचार पढिन्छ । महिलाहरूको सामाजिक जीवन उत्तिकै जटिल छ । यद्यपि मातृत्वको सवालमा पितृत्व एक छेउ पनि आइपुग्दैन । मातृत्व रसाएकाले यो संसार हराभरा हुन सम्भव भएको हो भन्ने अति संवेदनशील र भावुक विचार यस सँगालोमा सम्प्रेषण भएको छ ।

मान्छे सामाजिक प्राणी भएकाले स्वाभाविक रूपमा बहुजन हितायमा क्रियाशील हुनुपर्ने हो तर मान्छेका व्यवहार र क्रियाकलाप ठीक उल्टो बाटो हिंडिरहनु आजको समयको सबैभन्दा दुःखद् पक्ष हो । हाम्रोजस्तो बहुसांस्कृतिक, बहुधार्मिक समाजमा सहभावलाई जोगाउन नसक्दै समाज विखण्डनतिर जाँदैछ भन्ने भाव ‘मैले हेरेको नाटक’ जस्ता कवितामा बुलन्द रूपमा प्रस्तुत भएको देखिन्छ-

हामी कलामा वर्तमान जोगाइरहेका छौं

तर यथार्थमा

मान्छेले आफ्नो अभिशापयुक्त स्वरूप देखाएर

वर्तमान च्यातिरहेका छन्

यस्ता मान्छेहरूको हुँदैन अन्तिम सत्य

न हुन्छ टेक्ने जमिन, न हुन्छ समाउने हाँगो ।

समाज यही हो कसैलाई यहाँ अत्यन्त धनी हुने छुट छ । कोही टुहुरो र अनाथ बनेर जटिल जिन्दगी बाँच्न विवश छन् । पिंधका मान्छेका करुण आवाज सुनिनसक्नुको छ । उनीहरूको हृदय चिमोटिएको कहर हेरिनसक्नुको छ । खासमा सहरका नाङ्लेपसलको कहर बुझ्दैन सहरले । उसले बुझ्ने भनेको रवाफ हो । धन दौलत र छुट्टै महफिल हो ।

इतिहास त सबैको हुन्छ तर पछि पारिएकाहरूको इतिहास अभिलेखन भएको कुरा पढिएको छैन संसारमा । खासमा निमुखाहरूको इतिहास कहिल्यै लेखिंदैन किन ? खासमा शक्ति हुनेहरूको इतिहासभित्र सबल्टर्नहरूको स्वर पनि सँगसँगै मिसिएको हुन्छ कि हुँदैन ? ‘जराको इतिहास’ जस्ता कवितामा यस कुराको बलियो सवाल उठान गरिएको छ ।

हामीले दिने शिक्षामा विवेकको श्रेणी हुनुपर्छ कि प्रमाणपत्रमात्र ? चिन्तन-चैतन्यले भरिएको शिक्षा हुनुपर्छ र ढोंगले भरिएको ? साँच्ने बाँच्ने कला कहिले सिकाउने हो हामीले ? यस प्रश्नबाट आजित भएर कवि क्षितिज भन्छन्- ‘विवेकको पाठशालाबाट मात्र देश विकास, समृद्धि र सद्भावको विकास हुन्छ ।’ यो ‘पाठशाला’ कवितामा व्यक्त विचार हो । जीवन जटिलताले जेलिएको छ तै पनि अस्तित्वको लडाइँ लड्नुको विकल्प छैन, आत्मविश्वासलाई कहिलै झुक्न दिनु ठीक हुँदैन समाजमा, खम्बाझैं उभिएको आत्मविश्वासले मात्र समता ल्याउने हो समाजमा । समृद्धि ल्याउने हो बस्तीबस्तीमा । खासमा सही सद्भावको विकास गर्नुपर्छ भन्ने विचार सम्प्रेषण भएको छ यस कवितासङ्ग्रह ‘एक्लो महारथी’ मा ।

प्रस्तुत सँगालोमा उठान गरिएको अर्को पक्ष भनेको आर्थिक हो । पुँजीवादको चरमोत्कर्षका कारण आज मानवीय सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ । मानवीय सम्बन्धमा सङ्कट पैसा भएको छ भने सबैभन्दा धेरै यति बेला नै भएको छ । मान्छेहरू क्षणिक स्वार्थमा बाँचेर किन समाजिक संरचनाका तारहरू टुटाउँदैछन् ? व्यक्तिवाद र व्यक्तिस्वार्थलाई किन सर्वथा ठान्दै छ मान्छे ? बिल्कुल स्वार्थकेन्द्रित अभिष्टले समाजमा जटिलता सिर्जना गरेको परिस्थितिलाई ‘ऐना’ जस्ता कवितामा चर्चा गरिएको छ ।

आधुनिकता, उत्तरआधुनिकता र यसै साथ विकास भएको नागर सम्भताको विदीर्ण चित्र प्रस्तुत गरिएको छ थुप्रै कवितामा । काम गर्ने श्रमिकको सम्मानले मात्र समाज उन्नत बन्ने हो भन्दै कवि क्षितिजले ‘हलीको मागल’ सम्झन्छन् र त्यसमा आजको समकालीन स्वर मिसाउन चाहन्छन् । धनी मान्छेले भुईंमान्छेलाई हेर्ने दृष्टि, दरबारले झुपडीलाई बुझ्ने विचार, आफ्नै सुन्दरताको मापनको ऐनाबाट काला अनुहार भएका मान्छेहरूलाई देख्ने दृष्टिबाट विमुख भएर बागी ठगुनीहरूले चालेको कदमको साक्षी यो ‘एक्लो महारथी’ ।

धेरै कुरालाई सङ्केतमा उठाउने क्रममा राजनीतिक पाटोलाई पनि छोएको छ एक्लो महारथीले । समाज रूपान्तरणका लागि ज्यान हत्केलामा राखेर हिंडेका युवाहरूलाई राज्यले लगाइदिएको आतङ्ककारीको चिह्न सहिनसक्नुको छ । आजको युवा पुस्ताको राजनीतिप्रतिको वितृष्ण विकराल छ । वर्तमान राजनीतिक अकर्मन्यताको चित्रले यसलाई थप टेवा दिइरहेको छ । युद्धको घाउ कति गहिरो हुन्छ भन्ने भाव सम्प्रेषण गर्न काफी छ ‘फिराद पत्र’ जस्ता कविताहरू । ध्वन्यार्थमा सुसंस्कृत राजनीतिक संस्कारका लागि इमान्दार युवाको राजनीतिमा प्रवेश हुन जरूरी छ भन्न खोजिएको छ कविताहरूमा ।

आजको मुख्य चुनौती भनेको पर्यावरण दोहनको हो । पर्यावरणले एक हदसम्म सहन्छ तर अत्याचार भएपछि प्रकृति पनि क्रूर बन्छ र निकै बलवान पनि बन्छ जसले विपद्को सिर्जना गरिदिन पनि सक्छ । पर्यावरणलाई खेलाँची र हेलचक्र्याइँ भावनाबाट हेर्दा सहरी क्षेत्र विकराल बन्दैछन् र काठमाडौंजस्ता सहरहरू अस्वस्थ कर्मबाट ठडिंदै छन् । फलतः प्रकृतिको हुर्मत लिइएका छन् । अस्वस्थ तरिकाले, दुर्नियत राखेर आर्जन गरिएका सम्पत्ति क्षणिक मात्र हुन्छन् । भौतिक सुख र आर्थिक उपार्जनका लागि अमानवीय बन्दै गइरहेको छ मान्छे ‘ढुङ्गा’ जस्ता कवितामा यस कुराको उठान यसरी व्यक्त गरिएको छ ।

कुनै देउताले भन्न नसकेको कुरो

कसले कोरिदियो ढुङ्गाको निधारमा ?

मैले बुझें-

ढुङ्गा देउता होइन

शास्त्र हो

समसामयिक कविताहरू वर्तमान समाजको मानवीय अन्तरसम्बन्धको विशेष सुराक र व्याख्या गर्छन् । समाजका नयाँ रहस्यहरूको विपठन गर्न पनि पछि पर्दैनन् क्षितिज । बालक, पिछडिएका, ग्रामीण मन आदि पक्षहरूको भिन्नै कथानकलाई शिल्पले छोपेर प्रस्तुत गर्छन् ।

क्षितिजको कवितात्मक सामर्थ्य भनेको बिम्बहरूले छोपेर पनि वास्तविक यथार्थलाई प्रकट गर्न सक्नु हो । झट्ट हेर्दा गम्भीर पाठकको अपेक्षा गरिए पनि उनका कवितामा बोध्य प्रतीकहरू र खासमा आजको समाजको बुलन्द स्वर सम्प्रेषण गरिएको छ ।

समकालीन समयमा मान्छेहरू बढी महत्वाकाङ्क्षी बनेका छन् । यस प्रकृतिको स्वभावले समाजलाई त हानी पुर्‍याएको छ नै व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई पनि ध्वस्त परिरहेको छ । अन्ततः बुझ्न के आवश्यक छ भने मृत्यु अवश्यम्भावी छ । आज सद्दे देखिएको मान्छे एक दिन यस धरतीबाट बिदा हुनैपर्छ भन्ने दार्शनिक भाव पनि कवितामा प्रस्तुत भएको छ ।

गाउँले बिम्बमा कविता लेख्ने कविहरू धेरै छन् । गाउँलाई कविताको विषयवस्तु बनाउनु र त्यहाँका अति सूक्ष्म बिम्बहरूलाई टिपेर कवित्वले लेपन गर्ने काम चुनौतीपूर्ण मात्र होइन धेरै जटिल छ त्यो कठिनतम् कर्म गरेका छन् क्षितिजले ।

जुन डोरेटोमा समयले पाइला राख्छ । कविहरू पनि लगभग त्यही मार्ग पछ्‌याउँछन् । समय गति पनि हो । यात्रा पनि हो । यात्रा सहज हुँदा कविता वाणीमा मिठास आउँछ । प्रतिकूल समयमा कविताहरू पनि चर्का आवाज निकाल्न थालिहाल्छन् । क्षितिजका कवितामा प्रतिकूल समयबाट बिस्तारै सहजतातिर यात्रारत समयका छापहरू भेट्टाउन सकिन्छ ।

कवि क्षितिजका कवितामा आर्थिक हैसियत नीच भएका पात्रहरूको आवाज बोलिएको छ । सामाजिक संरचनामा अत्याचारको सिकार हुन पुगेका धुलोमा बाँचेका व्यक्तिहरूको पक्षमा बहस गरिएको छ । तिनीहरूको पक्षमा मात्र बोलिएको छैन उनीहरूलाई बोल्नका लागि उत्प्रेरणा समेत प्रदान गरिएको छ । समग्रमा समकालीन समयको स्वरलाई दुरुस्त उतार्ने प्रयास गरिएको छ । समयको डोरीमा सँगसँगै कविताको पदचापलाई हिंडाउन सक्नु क्षितिजको सबल पक्ष देखिएको छ । साथै उनले भविष्यमा टिकाउ हुने आधार पनि स्थापना गर्न सफल भएका छन् ।

क्षितिजले वर्तमान समयको प्रमुख समस्यालाई कविताको हरफमा पक्रन सफल भएका छन् । आम मान्छेका जिन्दगीको, वर्तमान वैश्विक जगतको, पसिनाको गीत गाउने मजदुरको कुरा भन्न भ्याएका छन् क्षितिजले । कतैबाट सुराक लगाउँदा पनि पत्तो लाग्दैन कविको आस्था के हो ? राजनीति के हो ? खासमा कुनै वाद र राजनीतिक सीमाना भत्काएका छन् क्षितिजले । कवि खासमा स्वतन्त्र व्यक्ति हो र स्वतन्त्रै रहनैपर्छ क्षितिजले मझधारमा रहेर निमुखा सबल्टर्नहरूको पक्षमा प्रगतिशील आवज बुलन्द गर्न भ्याएका छन् प्रतीकहरूको सहारा लिएर ।

कविताको भाषा सरल लेखेका छन् क्षितिजले । प्रस्तुत गर्न खोजिएको भाव सही तरिकाले सम्प्रेषण भएको छ । बोलचालका सहज भाव सम्प्रेष्य शब्दहरू चलाएका छन् । पुराणका, मिथकीय बिम्बहरू कहींकतै आए पनि भाव सम्प्राणीय बनेर आएका छन् । मुक्तलयका कवितामा बढी प्रतीकात्मक र ज्यादा व्याङ्ग्यात्मक शिल्पले कविता थप पठनीय बनेका छन् । कवितामा प्रयोग हुने मेटाफर, प्रकृतिको वैयक्तिकरण र विविध उपमाको प्रयोग गरेर कवितालाई सुन्दर बनाएका छन् ।

क्षितिज आज कहाँ छन् ? त्यो पाठकले भन्ने कुरा हो । समीक्षकले दावा गर्दा क्षितिज समकालीन नेपाली कविता क्षेत्रमा दशजना युवा कविको नाम लिने हो भने अग्रस्थानमै आइपुग्छन् यो उनको कवि जिन्दगी र नेपाली कविताको जीवन दुवैका लागि उज्यालो पाटो हो ।

क्षितिजले हाम्रा स्थानीय समस्यालाई मात्र कवितामा उठाएका छैनन् । समग्र मानवीय जगतको सार्विक समस्यालाई कविताका हरफ अटाउन सफल भएका छन् । आशा गर्न सकिन्छ उनले यो गतिलाई कायन राख्न सके भने उनी दीर्घकालसम्म टिकाउ कवि बन्नेछन् ।

फेसबुकमा आउने चुड्किला स्टाटसलाई कविता भन्ने भ्रममा बाँचेका पाठकका लागि ‘एक्लो महारथी’भित्रका मिथकीय बिम्बहरूलाई निचोर्न केही असहजता हुनसक्ला । कविताभित्र छुट्टै आख्यान अन्तर्भूत हुनु क्षितिजका कविताका शक्ति र आलोचनाका विषय दुवै हुनसक्छन् । मसिन्याएर गोडमेल गर्ने हो भने क्षितिजका कवितालाई अझै निचोरेर सूक्ष्म संरचनामा लान सकिने प्राविधिक पक्षहरू ठाउँठाउँमा देखिन्छन् । यो उनले आगामी लेखनीमा गर्ने नै छन् ।

भुईंमान्छेलाई सिंहदरबारले कसरी हेर्छ ? पुरुषसत्ताबाट निर्मित संविधानले महिलालाई कसरी हेरेको छ ? यस्तै प्रश्नहरूको गहन उत्तर बन्न सकेको छ एक्लो महारथी । आज हामीले जुन जीवन बाँचेका छौं हो त्यसैको दुरुस्त तस्वीर प्रस्तुत भएको छ यस सँगालोमा । सघन बन्दै गरेको सामाजिक जटिलता, परम्पराप्रति विद्रोह उन्मुख गुनासो, रोएको पर्यावरण प्रति सहानुभूति, गरिबी, अपेक्षाप्रतिको मोहभङ्ग, धर्मप्रतिको अविश्वास जस्ता समाजका सर्वव्यापी समकालीन स्वर उराल्न सक्षम छ एक्लो महारथी । कवि क्षितिजलाई शुभकामना ।

नाम : एक्लो महारथी

विधा : कविता

मूल्य : २५० रुपैयाँ

प्रकाशक : शिखा बुक्स पब्लिकेशन प्रालि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?