+

जसलाई महिनावारी मर्नुसरह कष्टकर हुन्छ

२०७९ जेठ  १२ गते १९:२६ २०७९ जेठ १२ गते १९:२६
जसलाई महिनावारी मर्नुसरह कष्टकर हुन्छ

काठमाडौं । सबैलाई थाहा छ, महिनावारी एक प्राकृतिक कुरा हो । सबैलाई लाग्छ, यो सामान्य कुरा हो । तर, हरेक महिलाको हकमा यस्तो हुँदैन । कतिपयको लागि त अत्यन्तै पीडादायी अवस्था हो ।

मासिक चक्रको अवधि सामान्यत: २८–३० दिनको हुन्छ । अतः हरेक महिनाजसो ती महिलाहरुले यस्तै पीडा र बेचैनीबाट गुज्रनुपर्छ । उनीहरु कार्यलयमा हुन सक्छन्, बाटोमा हुनसक्छन्, कारखानामा हुनसक्छन्, विद्यालयमा हुनसक्छन् । जहाँ पनि । त्यो पीडालाई आफैंभित्र लुकाएर बस्न बाध्य हुन्छन् । यतिबेला उनीहरु उदास हुनसक्छन्, बेचैन हुनसक्छन्, दुःखी हुनसक्छन् । तर, उनीहरुलाई बुझ्ने पो कसले ?

यहाँ त्यस्तै प्रतिनिधि कथा पेश गरिएको छ, जसले मासिक श्रावको अत्यन्तै कष्टकर अवस्था झेलिरहेका छन् ।

महिनावारीमा अत्यधिक रक्तश्रावले मलाई रक्तअल्पता भयो :  सरिता तिवारी

मेरो लागि महिनावारी एकदमै पीडादायक अवस्था हो । महीनावारीमा अत्यधिक रक्तश्राव हुन्छ । यसले गर्दा मलाई एनिमिया (रक्तअल्पता) नै भएछ । महीनावारीको बेला औषधि खानुपर्ने बाध्यता छ । औषधिको साइट इफेक्टले मेरो अनुहारमा चाया पोतो आएको छ ।

श्रीमानको काम प्राय: घर बाहिर हुन्छ । त्यसैले बालबच्चा, घर मैले नै सम्हाल्नुपर्छ । महिनावारी भएको बेला पनि घरको काम छाड्नु भएन । पीडा सहेरै सबै कामधन्दा गर्नुपर्ने हुन्छ । मेरो महिनावरी त नियमित छ । चार–पाँच दिनसम्म रक्तश्राव हुन्छ । तर, यो अवधि मेरो लागि निकै कष्टकर हुन्छ ।

किशोरवयमा पनि मलाई धेरै कठिन हुन्थ्यो । त्यसबेला म कक्षा सातमा पढ्दै थिएँ । घर-घरमा धारा थिएन । पिउने पानीका लागि धेरै तल जानुपर्थ्याे ।

त्यसदिन पनि म विद्यालयबाट फर्किएर पानी लिन जाँदै थिएँ । एक्कसी पसिना आयो । हिंड्न गाह्रो भयो । पछाडि कपडामा केही चिप्लो चिज टाँसिए जस्तै भयो । ट्वाइलेट गएर हेरें । रगत रहेछ ।

मलाई त्यसबेला महिनावारीबारे कसैले भनेका थिएनन् । आमाले, दिदीले । त्यसबेला यस्तो कुरा भन्ने चलन पनि त थिएन ।

महिनावारी भएको बेला त्यसलाई लुकाउनुपर्ने चलन थियो । मितिनी आमाको घरमा लुकें । यस्तो बेला खासै काम गर्नुपर्दैनथ्यो । धारामा पानी लिन जानु नपर्ने । विद्यालय पनि जान नपर्ने । एक किसिमले त रमाइलो नै लाग्यो । तर, एकदमै पेट दुख्ने भएकाले मलाई गाह्रो भयो । रिस उठ्ने, बेचैन हुने । वाकवाकी पनि लाग्ने ।

आफूलाई भएको पीडा सुनाउने, सुन्ने चलन पनि त थिएन । महिनावारी भएको बेला प्याड लगाउन नजान्दा स्कर्टमा रगत लाग्थ्यो । सुतेको ठाउँमा रगत तलपत हुन्थ्यो ।

(तिवारी लेखक हुन्)

महिनावारीको बेला दुखाइ कम गर्ने औषधि खानुपर्छ : सीता विक

मलाई त महिनावारी नभए नि हुन्थ्यो जस्तो लाग्छ । कति पीडा हुन्छ भनेर साध्य छैन । म रेडियो सगरमाथामा काम गर्छु । कार्यालयमा हुँदा महीनावारी भयो भने विदा नै लिएर घर फर्कनुपर्ने हुन्छ ।

महिनावारी भएको बेला असाध्यै टाउको दुख्छ, सामान्य कुरामा पनि रिस उठ्छ, झर्को लाग्छ । खान मन लाग्दैन । महिनावारीको दुखाई कम गर्न औषधि खानुपर्छ । त्यसैले महीनावारी हुनुअघि नै औषधि जोहो गर्छु । हट व्यागमा पानी तताएर सेक्छु । धेरै पीडा हुने भएकाले चिकित्सककहाँ पनि पुगें । चिकित्सककै सल्लाहमा मेक्सटोल भन्ने औषधि खाने गरेकी छु ।

मलाई १३ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएको थियो । छोरी महिनावारी भएको बेला लुकाउने चलन थियो । मलाई भैंसीको गोठमा लुकाइयो । घरको भाई, बुवालाई हेर्न नहुने । पाँच दिनसम्म अत्यन्तै दुःखले बिताएँ ।

(विक रेडियो पत्रकार हुन्)

पेन किलर खानुपर्ने गरी दुख्छ : अस्मिता सुनार

मलाई महिनावारी भएको बेला खप्नै नसक्ने गरी दुख्छ । ६-७ दिनसम्म लगातार रक्तश्राव हुन्छ । त्यसबेला शरीर एकदमै कमजोर महसुस हुन्छ ।

म रेस्लर खेलाडी हुँ । शरीरलाई बलियो, तागतिलो बनाउनुपर्ने हुन्छ । तर, महिनावारीको बेला भने म शिथिल हुन्छु । शरीर गल्छ । गेम खेल्नुपर्ने अवस्थामा महीनावारी भयो भने पेनकिलर खानुपर्छ । औषधि नखाई म खेल्न नै सक्दिनँ ।

मेरो पहिलो महिनावारी १५ वर्षको उमेरमा भएको थियो । त्यसबेला म कक्षा ९ मा पढ्थें । कपडा चिसो भयो । केही भिजेजस्तै लाग्यो । यसो हेर्दा त्यहाँ रगत थियो । मलाई महिनावारी भएको रहेछ । यस्तो अवस्थामा त्यसबेला घरमा बस्न दिदैनथ्यो । त्यसैले आफन्तको घरमा बस्नुपर्ने भयो ।

(सुनार रेस्लर हुन्)

महिनावारी भएको बेला दुई दिन विदा नै बस्नुपर्ने हुन्छ : ममता सुनार 

म पेशाले शिक्षिका हुँ । धेरैजसो समय विद्यालयमा हुन्छु । विद्यालयमा घण्टौं उभिएर पढाउनुपर्ने हुन्छ । यस्तोबेला मलाई सबैभन्दा गाह्रो लाग्ने भनेको महिनावारी हुँदा हो । मलाई त महीनावारी भएको बेला मर्नु सरह हुन्छ । एकदमै कष्टकर ।

महिनावारी भएको बेला विद्यालयमा बस्नै सक्दिनँ । त्यसैले दुई दिनको लागि विदा लिनुपर्छ ।

खुट्टा टेक्नै सक्दिनँ । ढाड असाध्यै दुख्छ । पेट र कम्मर करकरी खान्छ । वान्ता आउँछ, खानामा अरुचि हुन्छ । खालि झर्को मात्र लाग्छ । चार–पाँच दिनसम्म त मलाई कति गाह्रो हुन्छ ।

(सुनार शिक्षिका हुन्)

मासिक श्राव किन पीडादायी हुन्छ ?

त्रि वि शिक्षण अस्पातलमा कार्यरत स्त्री रोग विशेषज्ञ सुनिता ब्रजाचार्यका अनुसार महिनावारी पीडादायक धेरै कारणले हुने गर्दछ ।

पाठेघरमा मासुको डल्ला पलाउने, सिस्ट पलाउने, रगत राम्ररी बाहिर नबग्ने जस्ता समस्यामा महिनावारी कष्टकर हुन्छ । पाठेघरको अण्डाशयमा त्यस्तै भित्री भागमा जम्ने, पाठेघरको मुखमा समस्या भएर रगत बग्न सक्दैन जसले जुन रगत भित्रै बस्छ यसले  गर्दा पनि पीडा हुन्छ ।

पीडा सबै महिलालाई उस्तै हुँदैन । हरेक महिलाको पीडा प्रकार फरक हुन्छ । कुनै महिलाको पाठेघरको भित्री मुख जसबाट रक्तश्राव हुने गर्दछ, त्यो एकदमै कसिएको हुन्छ । यस्तो अवस्थामा पनि महिनावारी निकै कठिन हुन्छ ।

महिनावारी चक्रमा ८० देखि १ सय एम एल सम्मको रगत बग्नुलाई सामन्य मानिन्छ । दिनमा दुईदेखि तीन वटासम्म प्याड भिज्नु राम्रो हुन्छ । तर सात दिनभन्दा धेरै रगत बग्नु, छिटो छिटो महिनावारी चक्र हुन्छ भने चिकित्सकको परामर्शमा लिनुपर्छ ।

कसरी कम गराउने

–पाठेघरको राम्रोसँग जाँच गराउने

– कसरत गर्नुपर्छ  ।

–तातो तथा झोलिलो पदार्थ पिउने, आराम गरेर बस्ने, हडब्याकले सेक्ने, पोषिलो र तागतिलो खानुपर्छ ।

–तनाव नलिने ।

–संक्रमण हुने डर धेरै हुन्छ सरसफाई एकदम ध्यान दिने, दिनहुँ नुहाउने ।

–प्याडको रुपमा कपडा प्रयोग गर्नुपरे सफा नरम कपडाको प्रयोग गर्ने । पुरानो फोहोर कपडा भए घाममा राम्रोसँग सुकाएर लगाउने ।

मासिक श्राव
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय