+
+

सार्वजनिक शौचालय : काठमाडौं महानगरको ‘कमाइ खाने भाँडो’

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्र जम्मा ५८ वटा सार्वजनिक शौचालय छन् । यसमा आधाआधी मात्रै सञ्चालनमा छन् । र, शौचालयलाई महानगरपालिकाले आम्दानीको स्रोतको रुपमा उपयोग गर्दै आएको छ । सार्वजनिक शौचालयबाट बहाल कर स्वरुप महानगरले वार्षिक करिब १ करोड रुपैयाँसम्म उठाउँदै आएको छ ।

अंगद सिंह अंगद सिंह
२०७९ जेठ २४ गते २१:२१
काठमाडौं प्रदर्शनी मार्गमा रहेको सार्वजनिक शौचालय ।

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साहको आह्वानमा साथ दिँदै निजी होटल, रेष्टुरेन्ट र निजी कार्यालयहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् ।

मेयर बालेनले नगर कार्यपालिकाको पहिलो बैठकबाटै होटल तथा रेष्टुरेन्टसँग सहकार्य गरेर निजी शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय गरेका थिए । यसको प्रभाव काठमाडौंमा मात्र नभई अन्यत्र पनि देखिन थालेको छ ।

महानगरको अभियानमा निजी क्षेत्रले हातेमालो गर्न खोज्दा काठमाडौंमा हाल सञ्चालन भइरहेका सार्वजनिक शौचालयहरुको अवस्था चाहिँ कस्तो छ त ?

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि रहेको सार्वजनिक शौचालयलाई हेरे पुग्छ । झट्ट हेर्दा जो कोही झुक्किन्छन्, यो किराना पसल हो कि शौचालय ।

गेट बाहिर किराना पसलका सरसमान राखिएको छ । ढोका अगाडि फ्रिज छ, जसमा पेय पदार्थ भरिएको छ । ¥याकमा श्रृङ्गारका सरसमान समेत छन् । किराना सरसमान छिचोलेर चिहाएर हेरे मात्रै शौचालय लेखेको सानो बोर्ड देखिन्छ ।

पाँच वटा संस्थाले सन् २०१६ डिसेम्बरमा बनाइदिएको यो शौचालय अपाङ्गमैत्री सार्वजनिक शौचालय हो । सार्वजनिक शौचालय भएको यो ठाउँ समाज कल्याण परिषदले उदयपुर गाईघाटका तीर्थबहादुर राईलाई ५ वर्षको ठेक्का लगाएको छ । परिषदले टेण्डरको न्यूनतम मूल्य एक लाख ६ हजार तोकेको थियो । राईले १ लाख १६ हजार १ सय ९९ रुपैयाँ कबोल गरेपछि ठेक्का पाए । तर शौचालय सञ्चालन गरेर मात्र भाडा तिर्न नपुगेको भन्दै उनले त्यसलाई पसलका रुपमा प्रयोग गर्न थाले ।

‘शौचालयको भाडा १ लाख १७ हजार तिर्नुपर्छ । मासिक कमाई ४०–४५ हजार हुन्छ,’ राई भन्छन्, ‘शौचालय बाहिर र वरपर पसल नराखे भाडा तिर्न पुग्दैन, मैले कसरी बाँच्नु ?’ शौचालयबाट मासिक भाडा तिर्न नसक्ने अवस्था आएपछि पसल राख्न परिषदसँग मौखिक सहमति लिएको उनको भनाइ छ ।

राईले आफू किराना पसल चलाएका छन् भने दायाँ बायाँ जुत्ता पसल राख्न भाडामा दिएका छन् । दुवैतिरका जुत्ता पसलबाट उनले मासिक ५० हजार रुपैयाँ भाडा लिने गरेका छन् । ‘महिना पुगेको एक दिन ढिला भए जम्मा रकमको २५ प्रतिशत जरिवाना तिराउँछ । लकडाउनमा ११ महिनासम्म पैसा तिर्न नसक्दा ऋण काढेर जरिवाना तिरेको छु । अढाइ लाख ऋण तिर्न बाँकी छ’, उनले सुनाए ।

महानगरको द्रव्य मोह

सार्वजनिक शौचालय सहरको सुन्दरता हो । सार्वजनिक शौचालयबाटै शहरको विकास, रहनसहन र परिवेश बुझ्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डले ‘सहरी क्षेत्रमा हरेक ३०० मिटरमा सार्वजनिक शौचालय हुनुपर्छ’ भन्छ ।

तर काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय त छैन नै, भएका पनि व्यवस्थित छैन । लामो समयदेखि सार्वजनिक शौचालय सुधारको वकालत गर्दै आएका प्रकाश अमात्य भन्छन्, ‘काठमाडौंमा सार्वजनिक शौचालय हुँदै नभएका होइन, भएका पनि व्यवस्थित रुपमा सञ्चालनमा नहुँदा समस्या भयावह देखिएको हो ।’

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्र जम्मा ५८ वटा सार्वजनिक शौचालय छन् । यसमा आधाआधी मात्रै सञ्चालनमा छन् । र, शौचालयहरु महानगरपालिकाको ‘कमाइ खाने भाडा’ का रुपमा प्रयोग हुँदै आएको छ ।

‘धेरैले महानगरपालिका भित्रका सार्वजनिक शौचालयलाई कमाइ खाने भाँडो बनाएका छन् । शौचालयको गुणस्तर निर्धारण नगरी अनुगमन र नियमन नगर्दासम्म शौचालयको सास्तीबाट पार पाइँदैन’, अमात्य भन्छन् ।

भोटाहिटीमा रहेको सार्वजनिक शौचालय ।

वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार पनि सार्वजनिक शौचालयबाट बहाल कर स्वरुप महानगरले वार्षिक करिब १ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको छ ।

महानगरको द्रव्य मोहका कारण सार्वजनिक शौचालयका लागि बनेका संरचनामा खाजा पसल, सेकुवा कर्नर, मःमः पसल, पान पसल, जुत्ता पसल तथा गुट्खा बेच्नेहरु छन् । उनीहरुलाई छिचोलेर मात्र शौच गर्न जानुपर्ने बाध्यता छ ।

महानगरपालिकाले नै गरेको अध्ययनले सार्वजनिक शौचालय प्रयोगमा महिलालाई बढी समस्या परेको देखाएको छ । कतिपय शौचालयमा चुकुलसमेत नहुँदा महिलाले प्रयोग नै नगर्ने देखिएको छ ।

शौचालयमा पानी नहुनु, जथाभावी दिशा पिसाब गर्नेदेखि धुमपान गर्दा पनि शौचालय फोहोर हुने गरेको छ । सार्वजनिक शौचालयहरुमा प्याड व्यवस्थापनका लागि डस्टविन नराख्दा जहाँ पायो त्यहीँ फाल्ने र जाम गराउने गरेको पाइएको छ ।

पुरुष शौचालयमा पान–गुट्खाजन्य सामग्री खाएर जथाभावी थुक्ने, धुमपान गर्ने, लागु पदार्थ सेवन गरी घण्टौं शौचालयभित्र बस्ने जस्ता समस्या देखिएको प्रतिवेदनले औल्याएको छ । शौचालयमा पानी नहुनु, चुकुल नहुनु, खाली बोतल ढुङ्गा प्यानमा राख्दा जाम हुनु र जथाभावी फोहोर गर्दा दुर्गन्ध आउने समस्या छ ।

बजेट छुटिन्छ, शौचालय बन्दैन

पछिल्लो पटक स्थानीय चुनावमा राजनीतिक दलहरुले सार्वजनिक शौचालय निर्माणलाई चुनावी एजेण्डा बनाएका छन् । तर चुनाव जितेपछि कार्यान्वयनमा भने कमजोर देखिएका छन् ।

२०७४ को स्थानीय चुनावमा नेकपा एमालेबाट महानगरको मेयरमा उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले भित्री सहरका हरेक ५०० मिटरमा र बाहिरी सहरमा आवश्यकता अनुसार सार्वजनिक शौचालयसमेत भएको पब्लिक सर्भिस सेन्टर बनाउने प्रतिवद्धता गरेका थिए ।

शाक्य मेयर चुनिए । हरेक आर्थिक वर्षमा बजेट पनि छुटिन्छ, तर सार्वजनिक शौचालय बनेन ।

जस्तो, महानगरपालिकाको वडा नम्बर १८ मा सार्वजनिक शौचालयका लागि आर्थिक वर्ष २०७८–०७९ मा मात्र एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तर वडाले अहिलेसम्म जग्गा समेत खोज्न सकेको छैन । महानगरको प्रशासनको ढिलासुस्तीका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको वडाध्यक्ष न्हुच्छेकाजी डंगोल बताउँछन् । ‘शौचालयको अभावले नयाँ बनाउन बजेट विनियोजन गरेपनि निर्माणका लागि अहिलेसम्म कुनै पहल भएको छैन’, वडा नम्बर १८ का वडाध्यक्ष डंगोलले अनलाइनखबरसँग भने, ‘शौचालय बनेर प्रयोगमा आइसक्नुपर्ने हो तर टेण्डर नै आह्वान भएको छैन ।’

वडा नम्बर १३ मा सार्वजनिक शौचालयका लागि आर्थिक वर्ष २०७८–०७९ मा ६० लाख बजेट विनियोजन गरिएको थियो । तर अहिलेसम्म शौचालय निर्माण हुन सकेको छैन । अब टंकेश्वर मार्गको चोकमा रहेको पुरानो शौचालय भत्काएर नयाँ बनाउने निर्णयका लागि महानगरलाई पत्राचार गर्न लागिएको भन्दै वडाध्यक्ष ध्रवनारायण मानन्धर भन्छन्, ‘एक महिनाभित्र निर्माण थाल्छौं ।’

आर्थिक वर्ष ०२७८–०७९ मा सबै वडामा गरेर शौचालय बनाउन ५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । तर अहिलेसम्म शौचालय बन्नु त परको कुरा, जग्गासमेत नभेटिएकाले बजेट फ्रिज हुने अवस्था छ ।

महानगरको पूर्वाधार विभाग प्रमुख राम थापा पनि शौचालयका लागि छुट्याएको रकम खर्च हुन नसकेको स्वीकार गर्छन् । बढी भिडभाड हुने र व्यस्त चोकमा बाहेक अन्यत्र शौचालय निर्माण गरेर काम नलाग्ने भन्दै उनले भने, ‘भिडभाड हुने र व्यस्त चोकमा जग्गा नपाएर शौचालयको बजेट खर्च हुन सकेको छैन ।’

३१ प्रतिशतले गर्छन् खुला ठाउँमै शौच

सार्वजनिक शौचालय पर्याप्त नहुँदा राजधानीमै धेरैले खुला ठाउँमै शौच गर्ने गरेको पनि पाइएको छ ।

काठमाडौं महानगरले २०७५ मा गरेको अध्ययनअनुसार ४१ प्रतिशत बटुवाले शौचालय प्रयोग गर्छन् । २३ प्रतिशतले छिट्टै घर पुग्न समय मिलाउने र ५ प्रतिशत सर्वसाधारण नजिकका नातेदार कहाँ जाने गरेका छन् भने ३१ प्रतिशतले सार्वजनिक शौचालयको अभावमा खुला दिशा पिसाब गर्ने गरेका छन् ।

लामो समयसम्म दिशापिसाब च्यापेर राख्दा पेट दुख्ने र पछि पत्थरीको समस्या समेत सिर्जना गर्ने देखाएको अध्ययनमा सहभागीहरुले बताएका छन् । यस्ता समस्याबाट पार पाउन केहीले खुला स्थानमै दिशा पिसाब गर्ने गरेको बताएका छन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?