+
+

सहरभरि फोहोरको डंगुर लाग्दा के गर्दैछन् उपत्यकाका अरु नगरहरु ?

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ २७ गते २०:०७
फाइल तस्वीर

२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह निर्वाचित भएदेखि नै मुख्य रुपमा फोहोर व्यवस्थापनको मुद्दामै रुमल्लिनुपरेको छ । साहभन्दा अघि नै सपथ लिएका ललितपुरका मेयर चिरिबाबु महर्जन हाइसन्चो छ । ललितपुरमा उठेको फोहोर पनि बन्चरेडाँडाँमै जाने हो, तर चिरीबाबुले फोहोर फाल्ने वातावरण बनाउन पहल लिनु नै परेन ।

ललितपुर महानगरपालिका मात्रै हैन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका अरु नगरपालिकाहरु पनि फोहोर व्यवस्थापनको समस्या सल्टाउन अग्रमोर्चामा आएका छैनन् । उनीहरु सबै काठमाडौं महानगरतिरै आशाको नजरले हेरिरहेका छन् । बरु उनीहरु आफैं ल्यान्डफिल साइट बनाउनेजस्ता मुद्दामा बहस थालेका छन् । धेरैले फोहोरबारे आन्तरिक छलफल गरेपनि काठमाडौं महानगरले निकाल्ने निकासकै आधारमा अघि बढ्ने अधिकांश नगरको योजना छ ।

काठमाडौंमा संकलन हुने फोहोरमा काठमाडौं महानगरपालिकाको हिस्सा अरुको भन्दा बढी छ, तर कुल फोहोरमा अरु महनगर र नगरपालिकाहरुको पनि आधाभन्दा बढी अंश छ । तर, उनीहरु फोहोर व्यवस्थापनमा उदाशीन छन्, जसले काठमाडौं महानगरपालिका एक्लैले फोहोर व्यवस्थापनबारेका मुद्दामा निर्णायक भूमिका खेल्नुपर्ने अवस्था आएको छ ।

स्रोतमै फोहोर छुट्याउन दबाव

तर, उनीहरुलाई सधैंभरि काठमाडौंको भर परेर बस्ने छुट भने हुने छैन । किनकी काठमाडौं महानगरपालिकाले असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने गरी नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका तथा त्यहाँका स्थानीयसँग प्रतिवद्धता व्यक्त गरेको छ । ललितपुर महानगरपालिकाले पनि स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउन सहमति जनाएको छ ।

यसले अब सिसडोलमा फोहोर पठाइरहेका उपत्याकभित्र अन्य नगरपालिकालाई पनि स्रोतमै फोहोर वर्गीकरण गर्न दबाव परेको छ । सिसडोलको साइटमा अब फोहोर नफालिने भएकाले भक्तपुर नगरपालिका बाहेक उपत्यकाका सबैजसो नगरपालिकाहरु बन्चरेडाँडाकै ल्यान्डफिल साइट प्रयोग गर्न बाध्य छन् ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार १०० टन फोहोर सिसडोलमा पुग्ने गरेको छ ।

काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो । ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

साउनबाट यी सबै नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै बन्चरेडाँडा नलगे अहिलेको समस्या बल्झिने निश्चित छ । बन्चरेडाँडा ल्यान्फिल साइट पीडित संघर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानामा लिखत रुपमा भएका सबै प्रतिवद्धता हुबहु कार्यान्वयन हुनुपर्ने बताउँछन् ।

‘काठमाडौं महानगरपालिका मात्रै हैन, सबै नगरपालिका र सहरी विकास मन्त्रालयले सहमति अनुसार काम गर्नपर्छ,’ उनी भन्छन्, ‘सहमति जस्ताको तस्तै कार्यान्वयन भएन भने जनताले फेरि विद्रोह गर्छन् ।’

सबै आन्तरिक छलफलमा

भक्तपुरको मध्यपुर थिमि नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठका अनुसार मध्यपुर थिमि नगरपालिकाले सडक, टोलबाट फोहोर उठाइरहेको थियो । तर, फोहोरको गाडी बन्चरेडाँडा ल्यान्डफिल साइटमा जान नपाएपछि व्यवस्थापन गर्न कठिन बन्यो ।

यसअघि पनि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै सिसडोल पठाउने गरेको दाबी गर्दै उनले ल्यान्डफिल साइटको व्यवस्थापनको समस्याले आफूहरुलाई थप सचेत गराइएको बताए ।

‘फोहोर नउठ्दा केही स्थानीयहरुले नगरपालिकासँग आक्रोश व्यक्त गरिरहेका छन् । अब मध्यपुर थिमि आफैं कसरी फोहोर व्यवस्थापन गर्न सक्छ भनेर अध्ययन गर्न कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘असार ५ गते कार्यदलले प्रतिवेदन बुझाउँछ, त्यसपछि के गर्ने भन्ने तय हुन्छ ।’

काठमाडौंको कीर्तिपुर नगरपालिका नगरपालिका प्रमुख राजकुमार नकर्मी एक हप्तामा कीर्तिपुर नगरपालिकाले फोहोरको व्यवस्थापनको नयाँ योजना ल्याउने दाबी गर्छन् ।

‘हामी अबको एक हप्तामा कीर्तिपुरको फोहोर व्यवस्थापन कसरी गर्छौं भनेर देखाउँछौं ,’ उनले भने, ‘कुहिने र नकुहिने फोहोर छुट्याएर आफ्नै ल्यान्डफिल साइटमा डम्पिङ गर्ने योजना छ ।’ उनी नतिजा आएपछि सबैलाई यसबारे जानकारी दिने बताउँछन् ।

टोखा नगरपालिका पनि काठमाडौं महानगरले कहिले विवाद मिलाउँछ भनेर कुरिरहेको छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङ स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने काठमाडौंको निर्णयका कारण आफूहरु अन्यौलमा परेको बताउँछन् । ‘हामी असार १०गते बस्ने नगरसभाको वैठकबाट केही निर्णय गर्छौं,’ उपाध्यक्ष तामाङले भने ।

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित फोहोर व्यवस्थापनमा नयाँ चुनौतीहरु देखा परेको बताउँछन् । अहिलेसम्म सीमित क्षेत्रबाट मात्रै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने गरिएको भन्दै उनले अब सबै स्थानमा सोही विधि पछ्याइने बताए ।

‘हाम्रो आफ्नै ल्यान्डफिल साइट छ, दिगो रुपमा समाधान हुने खालको भने छैन । अहिले त्यहीँ फोहोर फालिरहेका छौं,’ उनी भन्छन्, ‘हामी भर्खरै निर्वाचित भएर आएका हौं, अब नयाँ योजना बनाएर काम गर्छौं ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका पनि काठमाडौं महानगरजस्तै फोहोरको सकस भोगिरहेको छ । सूर्य विनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमल्सिना अब नगरभरि नै कुहिने र नकुहिने फोहोर छुट्याउन सुरु गर्ने बताउँछिन् ।

‘हामी नगरपालिकाभित्र नै आफ्नो फोहोर व्यवस्थापन गर्न खोजिरहेका छौं । योजनाहरु बन्दैछन्, निरन्तर छलफलमा छौं,’ तिमल्सिनाले भनिन् ।

चन्द्रागिरी नगरपालिकामा फोेहोर नउठ्दा पर्यटकीय क्षेत्रहरु समेत प्रभावित छन् । स्थानीयहरुले जंगलमा फोहोर फाल्न थालेपछि नगरपालिका तनावमा छ । ‘अहिलेसम्म निजी कम्पनीमामार्फत फोहोर संकलन भइरहेको छ । अहिले कुहिने र नकुहिने फोहोर छुटयाएका छैनौं’ मेयर घनश्याम गिरिले भने । सिसडोल र बञ्चरेडाँडामा अवरोध हुँदा आफूहरु प्रभावित भएको भन्दै उनले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर काम गर्ने बताए ।

कागेश्वरी मनेहारा नगरपालिकाकी उपमेयर शान्ता थापा फोहोर व्यवस्थापनको पुरानो शैलीले समस्या भएको बताउँछिन् । ‘फोहोर व्यवस्थापनको नयाँ शैली अपनाउनेबारे छलफलमै छौं,’ उनले भनिन्,‘कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै प्रशोधन गर्ने कि भनेर छलफल भएको छ ।’ कागेश्वरी मनहरा आफ्नै ल्यान्डफिल साइट बनाउनेबारे पनि छलफल भइरहेको बताउँछ ।

काठमाडौको बुढानिलकण्ठ नगरपालिकाले त फोहोरबारे छलफल गर्न भ्याएकै छैन । उपमेयर अनिता लामाका अनुसार बुढानिलकण्ठ नगरपालिकाको फोहोर निजी कम्पनीले उठाइरहेको छ । ल्यान्डफिल साइटमा समस्या पर्दा केही खाली ठाउँहरुमा फोहोर जम्मा गर्ने गरेको छ ।
‘योजना बनाएर कसरी फोहोर व्यवस्थापन उचित ढंगले गर्नेबारे छलफल चलाउँछौं,’ उनी भन्छिन् ।

 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?