+
+

१६ घण्टे उपवास हानिकारक पनि हुनसक्छ : पोषणविद्

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ जेठ ३१ गते १७:१०

३१ जेठ, काठमाडौं । उपवासको याम सुरु हुँदैछ । विशेषगरी साउन महिनामा उपवास बस्ने प्रचलन छ । उपवास धार्मिक आस्थासँग जोडिए पनि यो एक विज्ञान हो । खासगरी स्वास्थ्य एवं पाचन क्रियाका लागि उपवास अत्यन्तै प्रभावकारी विधि मानिन्छ ।

उपवासका विभिन्न विधि प्रचलित छन् । पछिल्लो समय विभिन्न रोगबाट मुक्त हुन वा मोटोपन नियन्त्रण गर्न समेत उपवास अर्थात् फास्टिङ गर्ने प्रचलन बढेको छ । जस्तो कि, १६ घण्टे उपवास ।

यो उपवासमा साँझ खाना खाएपछि १६ घण्टासम्म खाना नखाई बस्नुपर्ने हुन्छ । शारीरिक स्वास्थ्यको हिसाबले यस्तो उपवास कति उपयोगी होलान् ? यसले दीर्घकालीन असर पो गर्छ कि ? यिनै विषयमा केन्द्रित रहेर पोषणविद् अनुश्री आचार्यसँग गरिएको कुराकानी :

१६ घण्टे फास्टिङ भनेको के हो ? यो कुन अवस्थामा गरिन्छ ?

इन्टर्मिटेन्ट फास्टिङलाई १६ घण्टे फस्टिङ भनिन्छ । यसमा केही अवधि खाने र केही अवधि नखाने गरिन्छ । सामान्यतया तौल घटाउन यो फास्टिङ गरिन्छ ।

यसको कुनै निर्धारित समय छ ? जस्तो कि साँझ यो समयदेखि खाना छाड्ने र बिहान यो समयमा खाना सुरु गर्ने भन्ने ?

यसको लागि रातिको समय उपयुक्त हुन्छ । किनकि यो फास्टिङ नगर्दा पनि राति छिटो खाना खाएर बिहानको ब्रेकफास्ट नखाई एकैपटक खाना खाँदा १४ घण्टा जतिको ग्याप त हुन्छ नै । त्यसैले दिउँसोको समय भन्दा रातिको समय नै यसको लागि उपयुक्त हुन्छ ।

१६ घण्टे फास्टिङबाट हुने लाभ के के हुन् ?

१६ घण्टे फास्टिङबाट तौल नियन्त्रण, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण हुन्छ । साथै मधुमेह र थाइराइड नियन्त्रणका लागि पनि यो लाभदायी हुनसक्छ ।

जो कोहीले यस्तो फास्टिङ गर्न सक्छन् ?

इन्टर्मिटेन्ट फास्टिङ सबैको लागि उपयुक्त हुँदैन । कसैको लागि यो फास्टिङ उपयोगी भयो भन्दैमा सबैको लागि यो उपयोगी नहुन सक्छ । कसैको शरीरमा यो हानिकारक हुनसक्छ भने कसैका लागि लाभदायक पनि । त्यसैले डाक्टर तथा पोषणविद्को सल्लाहबिना यो फास्टिङ गर्नुहुँदैन ।

औषधि सेवन गरिरहेका वा रोगको उपचार गराइरहेकाहरूका लागि यो लागू हुन्छ र ?

औषधि सेवन गरिरहेका व्यक्ति र कुनै गम्भीर रोगको उपचार गराइरहेकाहरुका लागि यो फास्टिङ नगर्ने सल्लाह नै दिइन्छ । तर मधुमेह तथा प्रेसर लगायतका रोगको औषधि सेवन गरिरहेकाहरूले भने डाक्टर तथा पोषणविद्को सल्लाह लिएर यो फास्टिङ गर्न सक्छन् ।

यस्तो फास्टिङ गरिरहँदा के कस्ता खाना खाने वा छाड्ने भन्ने होला नि ? यसको कुनै डाइट चार्ट होला नि ?

यस्तो फास्टिङ गरिरहँदा के कस्तो खाना खाने वा छाड्ने भन्ने कुरा मानिसको शारीरिक अवस्थामा निर्भर हुन्छ । यसमा छुट्टै डाइट प्लान हुँदैन । सामान्य अवस्थामा जस्तै यसमा सन्तुलित आहार नै सेवन गर्नुपर्छ । हरियो सागपात, फलफूल र प्रोटिनयुक्त खानामा अलि बढी केन्द्रित हुनुपर्छ । जंक फुड, प्याकेट फुड र गुलिया पेय पदार्थ भने नखानु राम्रो हुन्छ ।

१६ घण्टे फास्टिङको साइड इफेक्ट पनि छ कि ?

१६ घण्टे फास्टिङ गर्दा केही व्यक्तिलाई सास गन्हाउने, निद्रा नलाग्ने, डिहाइड्रेसन हुने, थकित हुने जस्ता साइड इफेक्ट पनि हुनसक्छ । विशेषज्ञको सल्लाहबिना यो फास्टिङ गर्दा फास्टिङ गर्ने बेला तौल नियन्त्रण हुने । तर फास्टिङ छोडेपछि भने फेरि तौल बढ्न पनि सक्छ ।

फास्टिङ अर्थात् उपवासको खास प्रक्रिया हुन्छ । जस्तो, फास्टिङ सुरु गर्नुअघि हल्का खाना मात्र खाने, फास्टिङ सकिएपछि पनि सुपाच्य खानाबाट सुरु गर्ने भन्ने हुन्छ । १६ घण्टे फास्टिङमा पनि यस्तै प्रक्रिया हुन्छ ?

फास्टिङ सुरु गर्नु भन्दा अघि हल्का सुपाच्य खानेकुरा खानुपर्छ । सकिएपछि पनि एकैपटक धेरै खाना नखाने, बिस्तारै हल्का र सुपाच्य खाना खाने प्रक्रिया यसमा पनि लागू हुन्छ ।

उपवास सुरु गर्नुअघि र सकिएपछि एकैपटक धेरै खाना खाँदा पाचन प्रक्रियामा पनि असर गर्नसक्छ । दिनभरि भोकै बस्दा एकदमै भोक लागेको छ भनेर धेरै खाना खानु हुँदैन । यस्तो गर्दा शरीरलाई चाहिने जति खाना एनर्जी परिणत हुन्छ र बाँकी खाना बोसो बनेर शरीरमा बस्छ । त्यसैले फास्टिङ गर्नुअघि र पछि हल्का र सुपाच्य खाना खानुपर्छ ।

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?