१ असार, काठमाडौं । नेपाल ओलम्पियन संघले नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने सबै ओलम्पियनलाई एकैस्थानमा भेला गरी पुनर्मिलन कार्यक्रम गर्ने भएको छ ।
आसन्न ओलम्पिक दिवसको अवसरमा असार ५ गते नेपालमा रहेका सबै ओलम्पियनबीच परिचयात्मक र अनुभव आदान प्रदानको कार्यक्रम हुनेछ ।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि औपचारिक रुपमा प्रतिस्पर्धामा सहभागिता जनाएको थियो । सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता पाएपछि ओलम्पिक सहभागिताको सुरुवात भएको हो ।
‘६० वर्षको बीचमा नेपालको प्रतिनिधित्व गरेका धेरै ओलम्पियनबीच नै परिचय छैन । पहिलो पुस्ताका खेलाडीहरुले अन्तिम पुस्तालाई चिन्ने कुरा पनि भएन,’ आयोजक नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट भन्छन्, ‘आफ्नै पहिचानका लागि हामीले यो कार्यक्रम राखेका हौं ।’
नेपालमा अहिलेसम्म ८८ जनाले ग्रिष्मकालीन र ४ जनाले युथ ओलम्पिक खेलेका छन् । ग्रिष्मकालीन ओलम्पिक खेलेकामध्ये १० जनाको निधन भइसकेको छ भने २४ जना विदेश पलायन भएका छन् । बाँकी ५४ जना ओलम्पियनबीच पुनर्मिलन हुन लागेको हो ।
‘हामीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सन् २०२१ को टोकियो ओलम्पिकसम्म खेलेका खेलाडीहरुको पुनर्मिलन कार्यक्रम गर्न लागेका हौं । यसरी इतिहासकै सबै ओलम्पियन एकैपल्ट भेल ागर्ने कार्यक्रम नेपालमै पहिलोपल्ट र अन्तर्राष्ट्रिय रुपमा पनि नमूना हुनेछ भन्ने विश्वास छ,’ विष्टले थपे ।
उनले नेपालमा ओलम्पियन बन्ने वित्तिकै बैकुण्ठ मानन्धर, संगीना बैद्य, दीपक विष्टलगायत सीमित व्यक्तिको नाम पहिचान हुने गरेको भन्दै सबैको भूमिका र योगदान उत्तिकै भएकाले पहिचानमा पनि ध्यान दिन लागिएको बताए ।
‘ओलम्पियन भन्ने वित्तिकै सीमित व्यक्तिहरुलाई मात्र चिन्ने गरिन्छ । तर ६० वर्षको इतिहासमा ओलम्पिक खेलेका सबै खेलाडीहरु तत्कालीन समयका सर्वोत्कृष्ट खेलाडी थिए । र, उनीहरु सबैको समान योगदान छ,’ सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोबाट नेपालको प्रतिनिधित्व गरेका विष्टले भने ।

कार्यक्रमबाट ओलम्पियनबीच राम्रो परिचय र सहकार्यको वातावरण बन्ने विश्वास ओलम्पियन संघले लिएको छ । प्रदेशस्तरमा ओलम्पियनको पहिचान र सहयोगका लागि सम्बन्धित खेलकुद संस्थाहरुसँग समन्वयको काम पनि ओलम्पियन संघले गर्ने विष्टले बताए ।
‘आफ्नो समयका उत्कृष्ट खेलाडीहरु अहिले ‘भूमिगत’ अवकास जीवन विताइरहेका छन् । उनीहरुलाई आफ्नो समयको अनुभव स्मरण गर्ने अवसरका रुपमा पनि यो कार्यक्रमले सहयोग गर्नेछ,’ उनले थपे, ‘हामीले सातै प्रदेशको प्रदेश खेलकुदका नेतृत्वलाई बोलाएका छौं । यो कार्यक्रमपछि गुमनाम रहेका र आफ्नो निजी जीवनमा कठिनाइ सामना गरेका ओलम्पियनलाई पहिचान गरी खेलकुदसँग सम्बन्धित संस्थाहरुबाट सहयोग र हेरचाहको वातावरण बनाउनेछ ।’
नेपाल ओलम्पियन संघको गठन एक दशकअघि भए पनि यो संस्था गुमनामजस्तो थियो । गत असोजमा निर्वाचनमार्फत विष्ट नेतृत्वमा आएपछि संघ सक्रिय भएको छ । यसअघि संघले खेलाडी अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको थियो भने ओलम्पियनहरुका लागि योगा तथा मेडिटेसन कार्यशाला आयोजना गरेको थियो ।
भिडियो र तस्वीर : शंकर गिरी/अनलाइनखबर ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4