+

कुकुरले टोक्नासाथ रेबिज लाग्छ ?

२०७९ असार  ९ गते १४:२७ २०७९ असार ९ गते १४:२७
कुकुरले टोक्नासाथ रेबिज लाग्छ ?

काठमाडौं । रेबिज रोगको बारेमा हामीले धेरै सुनेका छौं । रेबिजको खोप सजिलै उपलब्ध हुने भएकाले पनि अन्य रोगजस्तो यसको विषयमा मानिसहरूले त्यति चासो दिएको पाइँदैन ।

तर यसको खोप उपलब्ध हुनु भन्दा पहिले रेबिजको कारण जति व्यक्तिको मृत्यु हुन्थ्यो त्यो संख्यामा भने कमी आएको छैन । यसको कारण भनेको रेबिजको बारेमा समाजमा धेरै भ्रम व्याप्त हुनु हो । रेबिज रोग कसरी लाग्छ ? यसको भरपर्दो उपचार के हो ? लगायतका विषयमा केन्द्रित रहेर सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी :

रेबिज रोग कसरी लाग्छ ?

रेबिज रोगको कुरा गर्दा कुकुर आफैं एउटा भिक्टिम हो । यो रोग कुकुरलाई पनि अन्य जनावरबाट सरेको हुन्छ र कुकुरद्वारा मानिसमा यो रोग सर्छ । कुकुरले टोक्दा त्यसको र्‍याल मार्फत यो रोग मानिसमा सर्छ । यो हाम्रो शरीरको मांसपेशी हुँदै साना साना नसाहरुमा फैलिन्छ र मुख्य नसामा पुग्छ ।

कुकुरमा कसरी रेबिजको भाइरस सर्छ ?

जंगलको छेउछाउ हुने कुकुरहरूलाई स्याल तथा फ्याउरोको सम्पर्कबाट यो रोग सर्छ । र, जंगल छेउछाउ भएको कुकुर सहरमा पुग्दा त्यो कुकुरको सम्पर्क र टोकाइबाट अन्य कुकुरहरूमा यो रोग सर्छ ।

डा. शेरबहादुर पुन

कुनै कुकुरमा रेबिज भाइरस छ भन्ने कसरी थाहा हुन्छ ?

सरुवा रोगबारे अध्ययन गरेको २० वर्षको मेरो अनुभव अनुसार भन्दा एक दशकयता रेबिजको लक्षण परिवर्तन भएको छ । पहिले रेबिज लागेको कुकुर बढी आक्रामक हुने, पुच्छर निहुरेको, र्‍याल निकाल्ने जस्ता लक्षण देखिन्थ्यो । तर पछिल्लो समय भने रेबिज लागेको कुकुरमा धेरै लक्षण परिवर्तन भएको पाइन्छ । रेबिज भाइरस भएको कुकुरमा खासै विशेष लक्षण देखिंदैन । कुकुरमा रेबिज भाइरस छ भने सामान्य रूपमा देखिने लक्षण भनेको हावा र पानीदेखि डराउने हुनसक्छ ।

कुकुरले टोकेको कति समयको अन्तरालमा मानिसमा लक्षण देखा पर्छ ?

सामान्यतया कुकुरले टोकेको एकदेखि तीन महिनामा लक्षण देखिन्छ भनिन्छ । तर कहिलेकाहीं तीन महिना होइन, वर्षौंपछि पनि देखिन सक्छ । मेरो अनुभव साट्ने हो भने चाहिं धेरै मानिसलाई कुकुरले टोकेको ६ देखि ८ महिनामा लक्षण देखिएको पाएको छु । कुकुरले हातको नसामा टोकेको छ, गहिरो घाउ बनाएको छ, टाउको भन्दा माथि टोकेको छ भने उनीहरूलाई भने केही दिनमा नै लक्षण देखा पर्छ ।

रेबिज संक्रमित कुकुरले लखेटेर मान्छेलाई टोक्छ वा अन्य अवस्थामा मात्र टोक्छ ?

रेबिज संक्रमित कुकुरले मान्छेलाई लखेटेर मात्र टोक्छ भन्ने छैन । अन्य सामान्य अवस्थामा पनि टोक्न सक्छ । आक्रामक भएर टोक्छ भन्ने पनि छैन खेल्दाखेल्दै जिस्किँदा जिस्किँदै टोक्दा पनि रेबिज संक्रमण हुन सक्छ ।

रेबिज संक्रमित कुकुरले टोक्नासाथ के गर्ने ? बचाउको कुनै उपाय छ ?

रेबिज संक्रमित कुकुरले टोक्नासाथ सिधै गएर पानीको धारा खोलेर फोर्सले बगिरहेको पानीमा कम्तीमा १५ मिनेट धोयो भने मात्र पनि लगभग ९० प्रतिशत रेबिज भाइरस बगेर जान्छ । यदि सम्भव छ भने साबुनपानीले पखाल्दा झन् प्रभावकारी हुन्छ । त्यसपछि जतिसक्दो चाँडो अस्पताल गएर खोप लगाउनुपर्छ ।

कुकुरले टोकेको कति अवधिमा सुई लगाउनुपर्छ ?

कुकुरले टोकेपछि सकेसम्म छिटो भ्याक्सिन लगाउनुपर्छ । रेबिज लागेको कुकुर १० दिनभित्र मर्छ भने त्यसपछि रेबिजको खोप लगाउनैपर्छ । त्यसैले समय भन्दा पनि कुकुरको अवस्था थाहा पाउनु महत्वपूर्ण हो । तर कुकुरले एक महिना अघि टोकेको थियो । टोक्ने बित्तिकै कुकुर गायब भयो भने उसले पनि रेबिजको खोप लगाउनुपर्छ । कुकुरको अवस्था थाहा छ भने रेबिजको खोप नलगाए पनि हुन्छ ।

रेबिजविरुद्धको खोप लगाइसकेपछि रेबिजको जोखिम हुँदैन ?

रेबिजविरुद्धको खोप लगाइसकेपछि रेबिजको जोखिम हुँदैन । त्यसैले कुकुरले रोक्ने बित्तिकै खोप लगाइयो भने रेबिजको जोखिमबाट बच्न सकिन्छ ।

सामान्य कुकुरले टोकेको अवस्थामा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, किन ?

सामान्य कुकुरले टोकेको अवस्थामा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, किनकि केही कुकुरहरूमा लक्षणहरू नदेखिएको पनि हुन सक्छ । १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भने पनि ठिकै छ । तर खोप लगाएपछि एकदमै सुरक्षित हुने भएकाले खोप लगाउनु नै उपयुक्त हुन्छ ।

मानौं, सामान्य कुकुरले टोकेको छ र खोप लगाइएको छैन । पछि उक्त कुकुर बहुलाएको अवस्थामा त्यस व्यक्तिलाई कुनै खतरा हुनसक्छ ?

सामान्य कुकुरले टोकेको छ र त्यो कुकुर १० दिनसम्म बहुलाएन भने उक्त व्यक्तिलाई कुनै खतरा हुँदैन । तर सामान्य कुकुरले टोकेको छ त्यो कुकुर १० दिनभित्रमा बहुलायो वा मर्‍यो र व्यक्तिले खोप लगाएको छैन भने त्यस व्यक्तिलाई रेबिज खतरा हुन्छ ।

रेबिजको कारण औसत बर्सेनि कति मान्छेको ज्यान जाने गरेको छ ? कति संक्रमित हुने गरेका छन् ?

झन्डै दुई दशकअघिको डाटा हेर्ने हो भने रेबिजको कारण औसत वार्षिक १२ देखि १४ जनाको मृत्यु हुन्थ्यो । तर अहिले भ्याक्सिन व्यापक मात्रामा उपलब्ध हुँदा पनि मृत्युदर घटेको छैन ।

यसको भरपर्दो उपचार के हो ?

रेबिजको संक्रमण मांसपेशी हुँदै नसामा फैलियो भने यसको कुनै उपचार छैन । त्यसैले खोप नै यो रोग लाग्नबाट बचाउने एक मात्र उपाय हो । कुकुरले हातको नसामा टोकेको छ, गहिरो घाउ बनाएको छ, घाँटी भन्दा माथि टोकेको छ भने तुरुन्त एमोनोग्लोबिन खोप पनि लगाउनुपर्छ ।

रेबिजको खोप कति डोज लगाउनुपर्छ ?

रेबिजको खोप कति डोज गलाउने भन्ने बारेमा पनि धेरै भ्रम छ । शून्य, तीन, सात र चौध गरेर दुई हप्तामा चार वटा डोज खोप लगाए पुग्छ । तर बाहिर धेरै ठाउँमा रेबिजको खोपको पाँचवटा डोज लगाएको पनि पाइएको छ ।

सरकारी अस्पतालमा निःशुल्क उपलब्ध छ । यो खोप निजी औषधि पसलमा पनि पाइन्छ । निजी औषधि पसलमा एउटा डोजको मूल्य ६७० रुपैयाँ पर्छ ।

रेबिजको उपचारको लागि राज्यले कति खर्च गरिरहेको छ ? यसको बचाउका लागि के कस्ता उपाय अपनाएका छन् ?

रेबिज उपचारको लागि एक मात्र उपाय भनेको खोप हो । यसको लागि राज्यले वार्षिक ७ देखि ८ करोड रुपैयाँ खर्च गरिरहेको छ । साथै, यसको बचाउका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

कुकुर डा. शेरबहादुर पुन
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?