+
+

बीआरआईलाई चुनौती दिँदै जी-सेभेनको बीथ्रीडब्ल्यु, ६०० अर्ब डलरको परियोजना घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते ११:१४

१४ असार, काठमाडौं । विश्वका ‘कुनै बेलाका शक्तिशाली र बलियो अर्थव्यवस्था भएका’ देशहरुको समूह जी–सेभेनले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिव (बीआरआई)लाई चुनौती दिँदै ६०० अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार परियोजना घोषणा गरेको छ ।

गत वर्ष बेलायतमा भएको जी–सेभेनको बैठकमा नै बीआरआईको विकल्पका रुपमा ठूलो पूर्वाधार योजना बनाउनु पर्ने विषयमा छलफल भएको थियो । जसअनुसार जी सेभेनको पछिल्लो बैठकले पार्टनरसिप फर ग्लोबल इन्फ्रास्ट्रक्सर एण्ड इनिसिएटिव (पीजीआईआई) नामको परियोजना सार्वजनिक गरेको हो । यसलाई ‘बिल्ट ब्याक बेटर वर्ल्ड’ अर्थात बीथ्रीडब्ल्यु पनि भनिने छ ।

चीनले बीआरआईको माध्यमबाट एशिया, युरोप र अफ्रिकालाई जोड्ने परिकल्पना गरेपछि त्यसको विकल्पका रुपमा जी–सेभेनले अर्को परियोजना सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बीथ्रीडब्ल्युबाट सबैलाई फाइदा पुग्ने बताएका छन् । अमेरिकाका साथै युरोपका शक्तिशाली देशहरुले बीआरआईको आलोचना गर्दै आएका छन् । बीआरआईको नाममा चीनले गरिब तथा विकासशील देशलाई ऋणमा डुबाउन खोजेको आरोप उनीहरुको छ ।

जी–सेभेनमा अमेरिकासहित, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत छन् । आफूलाई शक्तिशाली र बलियो अर्थव्यवस्था भएका मुलुक दाबी गर्ने देशहरुको समूह जी–सेभेन भनिए पनि चीन यसको सदस्य छैन ।

बीआरआईका परिकल्पनाकार चिनियाँ राष्ट्रपति सि जिनपिङले बीआरआई चीनको पहल भए पनि यसबाट विश्वले फाइदा लिन सक्ने बताउँदै आएका छन् । उनले बीआरआईका माध्यमबाट कुनै पनि गुट बनाउन वा भू–राजनीतिमा खेल्न नचाहेको स्पष्ट पारेका छन् ।

सन् २०१३ मा सुरु भएको बीआरआई परियोजना अहिले विश्वकै ठूलो परियोजना बनिसकेको छ । बीआरआईमार्फत चीनले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, अफ्रिका र मध्य पूर्वमा पूर्वाधार निर्माण्का लागि लगानी गरेको छ । उसले अब युरोपेली देशमा पनि लगानी गर्ने प्रक्रिया सुरु गरेको छ । युक्रेन, जर्जिया, कजाकिस्तान र अजरबैजानलाई चीनसँग जोड्ने गरी ५ हजार ४७५ किलोमिटर लामो रेलमार्ग बनाउने योजना छ ।

यस्तै चीन–बेलारुस पार्क, ग्रीसको पाइरिस बन्दरगाह परियोजना र ग्रिन इकोलोजिकल रोड इन्भेष्टमेन्ट फण्डसहितका परियोजना चीनले अघि सारेको छ । जसबाट युरोपका विकसित देशहरु फ्रान्स, जर्मनी, इटाली र वेलायतलाई युरोपका विकासशील देशको बजार चीनले कब्जा गर्ने हो कि भन्ने चिन्ता छ । त्यसैले जी–सेभेनले बीआरआईलाई चुनौती दिँदै बीथ्रीडब्ल्यु सार्वजनिक गरेको हो ।

युरोपका विकासशील देशको श्रम बजार र अन्य व्यापार व्यवसायमा अमेरिका र युरोपकै विकसित देशको बर्चस्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?