+
+

६ महिनामा भित्रिए २ लाख ३७ हजार बढी पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १७:४३
फाइल तस्वीर

१९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी घट्दै जानु र यात्रामाथिको प्रतिबन्धहरु फुकुवा हुँदै जाँदा पर्यटक आगमनमा उत्साहजनक सुधार देखिएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आए । यो सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत हो । सो वर्ष कोरोना महामारी थिएन । उक्त वर्ष जुनमा ६१ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए ।

जुलाई २०२० मा ७६ र जुलाई २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल आएका थिए । यी वर्ष कोरोना भाइरसको महामारीले यात्रामा प्रतिबन्ध लागेको थियो । यो तथ्यांक हवाईमार्गबाट आएका पर्यटकको हो । नेपालले स्थलमार्गबाट आउने भारतीय नागरिकलाई पर्यटकका रुपमा गणना गर्दैन ।

सन् २०२२ मा कुन महिनामा कति पर्यटक आए ?

  • जनवरी : १६,९७५
  • फेब्रुअरी : १९,७६६
  • मार्च : ४२,००६
  • अप्रिल : ५८,३८४
  • मे : ५३,६०८
  • जुन : ४६,९५७

आधा पर्यटक भारतीय

जुन महिनामा आएका कुल पर्यटकमध्ये आधा भारतीय छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुन महिनामा २३ हजार २४८ जना भारतीय पर्यटक आएका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो ।

दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट एक महिनामा ८ हजार ३५१ जना पर्यटक आएको देखिएको छ । बंगलादेशबाट २ हजार ५९ जना पर्यटक नेपाल आउँदा बेलायतबाट २ हजार २ जना पर्यटक आएका छन् ।

चीनले पर्यटकका रुपमा आफ्ना नागरिकलाई भ्रमण खुला नगर्दा यो मुलुकबाट एक महिनाको अवधिमा मात्र ४५१ जना भित्रिएको तथ्यांक छ ।

जुन २०२२ मा कुन देशबाट कति पर्यटक (टप फाइभ)

  • भारत : २३,२४८
  • अमेरिका : ८,३५१
  • बंगलादेश : २,०५९
  • बेलायत : २,००२
  • अष्ट्रेलिया : १,४८२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?