+
+

हामी अभिभावकले सिक्नै पर्ने हो कि ?

दीपकराज जोशी दीपकराज जोशी
२०७९ असार २० गते १७:२०

विद्यार्थी कि अभिभावक कसलाई सिकाउने ? पढाउने कि सिकाउने भन्ने कुरामा पक्कै पनि हामी सिकाउने कुरामा नै जोड दिने गर्दछौं । बहुसंख्यक अभिभावक र शिक्षकको एउटै गुनासो छ– विद्यार्थी पढ्दैनन् । के नयाँ पिंढीले पढ्न मन नगरेको हो त ? कि समय, परिस्थिति, परिवेश फरक भएकाले पढ्ने–सिक्ने प्रक्रियामा फरक भएको हो ।

सबैजसो शिक्षाकर्मी तथा अभिभावकले आफ्ना विद्यार्थी/छोराछोरीले पढाइ/सिकाइमा मन लगाएको पक्कै पनि मन पर्दछ । तर किन विद्यार्थी पढ्न/सिक्न मन गर्दैनन् त ? वास्तवमा विद्यार्थीको पेशा भनेको पढ्ने नै हो भने किन आफ्नो काम गर्न नमानेको ? समस्या के हो र कसरी समाधान गर्न सकिन्छ ? राम्रो गर्ने र बनाउने प्रयास गर्नु नै मानवीय स्वभाव हो तर व्यवहारमा किन लागु हुँदैन त ?

शिक्षा जीवनको महत्वपूर्ण पाटो हो । वास्तविक रूपमा जीवन जिउन सिकाउने तथा मानव भएको महसुस गराउने महत्वपूर्ण तत्व नै शिक्षा हो । तर यति महत्वपूर्ण विषयलाई हामी अभिभावक, शिक्षाकर्मी तथा सरोकारवाला पक्षहरूले बहुआयामिक ढंगले केलाउन सकिरहेका छैनौं । तसर्थ विद्यार्थी भाइबहिनीले पढेनन्, सिकेनन् भन्नु भन्दा हामीले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।

हरेक बालबालिका अरूले ‘यसो गर’ भनेर भन्दा पनि अरूलाई देखेर भोगेर सिक्ने गर्दछन् । घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु हो भन्ने विषयलाई जबसम्म व्यवहारमा उतार्न सकिंदैन तबसम्म हामीहरूले गुनासो मात्र गर्ने हो किनकि समस्याको समाधानका लागि पहलकदमी लिएकै छैनौं भने कसरी समस्या समाधान हुन्छ ?

अबको आवश्यकता अभिभावक शिक्षाको हो । जबसम्म अभिभावकले वर्तमान समय, परिस्थितिलाई बुझ्न सक्दैनौं र आफूलाई रोलमोडल बनाउन सक्दैनौं; छोराछोरीको बारेमा विद्यालय, परिवारभित्र, छरछिमेकीमा कुरा काट्ने, गुनासो गर्ने अधिकार छैन ।

जिम्मेवारी कसले र कसरी लिने त ?

१. घरलाई सिक्ने थलो बनाऔं

प्रत्येक बालबालिकालाई असल बानी–व्यवहार, आचरण, संस्कृति रोप्ने थलो घर हो । प्रत्येक अभिभावकले घरमा गर्ने क्रियाकलाप बालबालिकाले नियालिरहेका हुन्छन् र त्यसैको अनुसरण गर्दछन् ।

हामी अभिभावक बालबालिकाले आफ्ना क्रियाकलाप, बानी, व्यवहार, आचरण बालबालिकाले बुझ्दैनन् भन्ने मानसिकतामा हुन्छौं तर दुई वर्षको बच्चाहरूमा समेत बुझ्न सक्ने क्षमता हुन्छ । हामीहरू बालबालिकालाई कस्तो बनाउन चाहन्छौं त्यही अनुसारको आचरण र व्यवहार हामीहरूले देखाउनुपर्दछ ।

हरेक बालबालिकाको लागि परिवार ज्ञान र सीप सिक्ने सबैभन्दा ठूलो स्रोत हो । यदि हामी झर्केर बोल्छौं, झगडा गर्छौं वा झुट बोल्छौं भने बालबालिकाले त्यही सिक्छन् । हामी किताब पढ्छौं भने बालबालिका पनि त्यही गर्छन् । हामीहरूका यस्ता थुप्रै व्यवहार र क्रियाकलाप नै बालबालिकाका सिक्ने स्रोत हुन् ।

कुनै पनि बालबालिका सुनाएर, भनेर सिक्न मन गर्दैनन् र उनीहरूको मस्तिष्कले पनि लिन सक्दैन । तर देखेर, गरेर छिटो सिक्छन् र पछिसम्म सम्झिन्छन् । तसर्थ भनेर, सुनाएर होइन कि देखाएर, गरेर, रोल मोडल बनेर बालबालिकालाई भने जस्तो बनाउन सकिन्छ ।

२. ठिक र बेठिक छुट्याउन सिकाऔं

भर्खर विद्यालय पठाएको बच्चाले विद्यालयमा शिक्षिकाले गलत पढाएमा पनि अरूले त्यसलाई सच्याउन खोज्दा पनि बच्चाहरूले म्यामले भनेको यही हो र सही हो भनी जिद्दी गर्ने गर्दछन् । यो बालबालिकाको शिक्षिकाप्रतिको विश्वास हो तर शिक्षिका, अभिभावक, साथीहरूले सानैदेखि जेसुकै भने पनि ठिक कुरा ठिक र बेठिक कुरा बेठिक नै हुन्छ भन्ने सिकाउनुपर्दछ ।

साना बालबालिकामा जे रोप्यो फल त्यही प्राप्त हुन्छ तसर्थ सानै उमेरदेखि बच्चाहरूलाई सही र गलत छुट्याउन सिकाउनुपर्दछ जसले समाजलाई सही दिशामा लैजान सक्ने नेतृत्वको विकास हुन्छ । गलत कुरालाई निरन्तरताका साथ गलत भन्न सक्ने आत्मविश्वास जगाउन सक्नुपर्दछ जसले गलत तत्वहरू समाजबाट किनारा लाग्ने गर्दछन् ।

३. अनुशासित जीवन जिउने बानी बसालौं

बाल्यकालमा बालबालिकाका हरेक क्रियाकलापलाई हामीहरूले हाँसेर सहर्ष रूपमा स्वीकार्ने गर्दछौं । जसले बालबालिकामा जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ भन्ने आडम्बरी मनोभावनाको विकास हुने गर्दछ र विस्तारै बालबालिका नियन्त्रण बाहिर हुने गर्दछन् । तसर्थ सही संस्कार र अनुशासित बानीव्यवहारको बीउ रोप्न सक्नु नै वास्तविक रूपमा जीवनको लागि चाहिने खुट्किलो हो ।

इलेक्ट्रोनिक्स डिभाइसेसहरूको प्रयोगमा नियन्त्रण तथा निगरानी नितान्त आवश्यक छ जसले अनावश्यक तनाव तथा समस्याबाट टाढै राख्न सजिलो बनाउने गर्दछ । अधिकांश अभिभावकको गुनासो हुने गर्दछ– मेरो बाबु–नानीले धेरै मोबाइल चलाउँछ, रिसाउँछ, झर्किन्छ । समस्याको मुख्य कारण अव्यवस्थित घरपरिवार तथा जीवनशैली हो ।

४. बच्चाको मनोभावना बुझ्ने

हरेक बालबालिकाका लागि उसको बुवाआमा सबैभन्दा नजिकको साथी, माया गर्ने र जीवनको गोरेटो देखाउने पथप्रदर्शक हुन् तसर्थ बुवाआमा तर्साउने, कुट्ने, पिट्ने, थर्काउने हुन थाले भने बच्चाहरूको भविष्य अप्ठ्यारोमा पर्ने निश्चित छ । किनकि बालबालिकाले मन मिल्ने, माया गर्ने, साथ दिने आफ्नै उमेर समूहसँग मित्रता गाँस्न थाल्दछन् र उनीहरूकै सरसल्लाहमा चल्ने गर्दछन् ।

आफ्नै उमेर समूहबाट कस्तो सल्लाह आउला, समस्याको समाधान होला हामी सजिलैसँग अनुमान लगाउन सक्दछौं । तसर्थ बालबालिकाको भावना बुझ्ने, समस्या बुझ्ने, पारिवारिक छलफल गर्ने वातावरण सिर्जना गर्न सकेमा मात्र उनीहरूले आफूलाई चौतर्फी रूपमा विकास गर्नुका साथै बुवाआमाको भावनालाई कदर गर्ने गर्दछन् । फलतः अपेक्षाकृत रूपमा बालबालिका असल तथा सफल बन्न सक्छन् ।

५. तुलना गर्ने नगरौं

कसैलाई पनि अरूसँग तुलना गरेर होच्याएको, हेपेको मन पर्दैन तसर्थ कलिला बालबालिकालाई उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याएर होच्यायौं भने यसको परिणाम पक्कै पनि राम्रो आउँदैन ।

हरेक बालबालिका जिनियस वा प्रतिभाका धनी हुन् । उनीहरूलाई गोडमेल गर्ने, हुर्काउने, बढाउने हरेक तरिकाले प्रयत्न निरन्तर रूपमा गर्नुपर्दछ । साना–साना राम्रा प्रयासहरूको लागि प्रशंसा गरौं । राम्रो गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउन सक्यो भने बच्चाको भविष्य उज्ज्वल हुनेमा कुनै शंका छैन ।

६. समयलाई चिनेर व्यवहार गरौं

हामीहरू हाम्रो पालाको कुरा गरेर बालबालिकाले यस्तो किन गरेनौ, हामीले यसो गरेका थियौं भन्नुको कुनै तुक छैन तर हामीहरूले गरेको संघर्ष र चुनौतीपूर्ण जीवनका पाटाहरू सुनाउने बानी गर्नुपर्दछ जसले गर्दा जीवनमा संघर्ष र चुनौतीको सामना पनि गर्नुपर्दछ भन्ने भावनाको विकास हुन्छ । साथसाथै उनीहरूलाई आफ्नो बुवाआमाप्रति गौरव होस्, सम्मान जागोस् ।

७. जीवन मूल्य शिक्षामा जोड दिऔं

शिक्षा निरपेक्ष र एकांगी विषय होइन तसर्थ शिक्षाका बहुआयामिक पक्षलाई घर तथा विद्यालयमा समेट्नु नितान्त आवश्यक छ । मानव मूल्य र मान्यता सहितको शिक्षाले मात्र वास्तविक रूपमा सुसंस्कृत सहितको असल मान्छे बनाउँदछ ।

तसर्थ शिक्षालाई जीवनका पाटोहरूसँग जोड्दै नयाँदिल्लीमा केजरीवालको सरकारले लागु गरेको जीवन मूल्य शिक्षा कार्यक्रम सफल भई शिक्षामा आमूल परिवर्तन आएको भन्ने कुरा त हामीले सुनेकै छौं ।

हाल नेपालमा पनि त्यही जीवन मूल्य शिक्षालाई नेपालीकरण गरी हाम्रो परिवेशमा ल्याएर केही विद्यालयले विज्ञको परामर्शमा संचालनमा ल्याइरहेका छन् । अबको मार्ग विद्यालय र घरपरिवारले मानव मानांक सहितको सापेक्षित शिक्षाको बाटोमा अघि बढ्नुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?